ओलीले भने- तपाईँ नआउनुस्, विद्याको जवाफ- म अघि बढिसकेँ



हाम्रो इकोनोमि

 

 

 

एमालेको सक्रिय राजनीमा फर्किएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सोही हैसियतमा सम्मानित भएर बस्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुझाव दिएका छन् ।

आइतबार अपरान्ह च्यासलमा भएको भेटवार्ता भेटवार्ताबारे विभिन्न चर्चा भइरहेका बेला दुवै पक्षका नेताहरूले एमालेमा विद्याको कमब्याक सहज नदेखिएको बताएका छन् । दुई नेताबीच भएको वार्ताबारे जानकारी राखेका नेताहरूका अनुसार अध्यक्ष ओली विद्याको बाटो बन्द गर्न दृढ देखिएका छन् । विद्याको सदस्यता विवाद र जिम्मेवारी मूल एजेण्डा मानिएको पौने २ घण्टाको वान टू वान वार्तामा भएको धेरै कुरा रहस्यको गर्भमै छ ।

तथापि ओलीले सदस्यता त्यागेर १० वर्ष बाहिर गएको व्यक्तिले स्रेस्तामा नाम चढाएर नवीकरण नहुने जवाफ दिएको बालुवाटार स्रोतको दाबी छ । यसअघि भण्डारीको सदस्यता र जिम्मेवारीबारे संस्थागत निर्णयअघि छलफल गर्ने ओलीले पोलिटब्युरो बैठकमा बताएका थिए । सोहीअनुसार हिजोको भेटघाट तय भएको हो । उक्त भेट पनि भण्डारीकै आग्रहमा चाँडो तय भएको हो ।

पोलिटब्युरो बैठकमा आफ्नो पक्षको आवाज कमजोर पारिएको बुझेपछि भण्डारीले नै ओलीसँग छलफलका लागि समय मागेको नेताहरूको भनाइ छ । भण्डारीको फोन ओलीले पहिले ‘मिस’ गरेका थिए । पछि ओलीले कलब्याक गर्दा भण्डारीले कुरा गरौं भनेपछि ओलीले ‘आउनुस् न कुरा गरौं’ भनेका थिए । भण्डारीले च्यासलमै आउँछु त्यतै भेटौं भनेपछि ओलीले हुन्छ भनेको बालुवाटार स्रोतको दाबी छ । भण्डारीले भेटबारे निकटस्थहरूलाई बताएअनुसार ओलीले उनलाई पूर्वराष्ट्रपतिकै हैसियतमा सम्मानसाथ बस्न सुझाएका छन् ।

एमालेले संस्थागत निर्णय गरेर पूर्वराष्ट्रपतिलाई राजनीतिमा फर्काउँदा व्यवस्थाप्रति नै पार्टीको निष्ठामाथि सार्वजनिक प्रश्न उठ्ने उनको तर्क थियो । जवाफमा भण्डारीले यो हिजोआजको विषय नभई राष्ट्रपति हुनुअघिदेखि पार्टी पोलिटिक्समा फर्किने ‘तपाईँसँग भएको सल्लाह’ अनुसार नै भन्दै आफूअघि बढिसकेको बताएको निकट नेताहरूको भनाइ छ ।

भंगालनिकटका एक नेताले  भने  यसबीचमा हामीबीच पटकपटक कुराकानी भएको छ । म अब पछाडि फर्कने अवस्था छैन । समझदारीअनुसार नै अघि बढौं भन्ने कुरा भनेको छु भनेर हामीलाई भन्नुभयो । भण्डारीले पार्टीका पछिल्ला बैठक र त्यस सन्दर्भमा आफ्नो अपमान गर्ने ढंगले जिम्मेवार नेताहरूबाट टिप्पणी आएकोमा असन्तुष्टि जनाएकी थिइन् ।

उनले आफ्नो सदस्यता नवीकरणको विषयलाई समेत विवादित बनाइएकोमा चित्त दुःखाएको निकट नेताले बताए । बालुवाटार स्रोतले भने सदस्यता नवीकरणको प्रक्रियामा आफूबाट पनि त्रुटी भएको भण्डारीले स्वीकार गरेको दाबी गरेको छ । भण्डारीले पार्टी सदस्यता पुनर्पाप्तिको निवेदन दिएर जानुपर्नेमा प्रक्रियागत त्रुटि भएको स्वीकार गरेको प्रधानमन्त्रीनिकट नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...