एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाइयो, पदाधिकारी १५ मात्र हुने
नेकपा एमालेले पदाधिकारी संख्या १५ जनामा घटाउने भएको छ । बिहीबार मध्यरातमा सकिएको सचिवालयले बैठकमा १९ सदस्यीय पदाधिकारीलाई सुरूमा ११ जनामा सीमित गर्ने प्रस्ताव गरिएकोमा छलफलको क्रममा १५ जना पुर्याउनुपर्ने अनौपचारिक सहमति बनेको बताइएको छ । जसमा वरिष्ठ उपाध्यक्ष पद हटाएर अध्यक्ष, महासचिव र उपमहासचिव-१, उपाध्यक्ष-५ र सचिव- ७ जना प्रस्ताव गरिएको छ । यद्यपि यो अन्तिम नभएको स्रोतले बतायो ।
खाकासहित परिमार्जित विधान मस्यौदाको प्रस्ताव पोलिटब्युरोमा ल्याउन पार्टी उपाध्यक्ष एवं विधान संशोधन समितिका संयोजक विष्णुप्रसाद पौडेललाई जिम्मा दिइएको उपमहासचिव प्रदीप ज्ञवालीलेबताए । पोलिटब्युरो दिउँसो १ बजेदेखि बस्दैछ ।सचिवालयमा पौडेलले १९९ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव गरेकोमा पछि २५१ सदस्यीय बनाउने निर्णय भएको छ । केन्द्रीय कमिटीका एक तिहाइ सदस्य पोलिटब्युरोमा रहनेछन् । जसअनुसार हाल ९९ सदस्यीय पोलिटब्युरो अब ८३ सदस्यीय हुनेछ ।
उपमहासचिव सचिवालयको व्यवस्था हटाएर १५ सदस्यीय पदाधिकारीलाई नै स्थायी कमिटी मान्ने प्रस्ताव पारित गरिएको छ । यसै गरी चर्चामा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था पनि हटाइएको छ । सचिवालयबाट पारित संशोधन प्रस्ताव पोलिटब्युरो, केन्द्रीय कमिटी (साउन ५) हुँदै आगामी भदौ २०-२२ को गोदावरीमा हुने विधान महाधिवेशनमा अनुमोदन भएपछि औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ ।
सचिवालयले केन्द्रीय सदस्यहरू स्वतः राष्ट्रिय महाधिवेशनका प्रतिनिधि हुन पाउने गरी निर्णय गरेको छ । विधान महाधिवेशनको हकमा यसअघिका प्रतिनिधि मात्र सहभागी हुन पाउने विधानको व्यवस्थालाई यथावत् राखिएको छ । नयाँ थपिएका केन्द्रीय सदस्यहरू आयोजकको हैसियतमा मात्र सहभागी हुनेछन् ।


