अमेरिकी आक्रमणबाट इरानको परमाणु केन्द्र ध्वस्त भएन



हाम्रो इकोनोमि

 

 

अमेरिकाको आक्रमणबाट इरानको परमाणु कार्यक्रम पूर्णरुपमा नष्ट नभएको समाचार सार्वजनिक भएको छ । अमेरिकाको रक्षा मन्त्रालयको मुख्यालय पेन्टागनको गोप्य रिपोर्टमा इरानको परमाणु कार्यक्रम पूर्णरुपमा नष्ट नभएको उल्लेख रहेको सीएनएनले जनाएको छ ।

इजरायल र इरानबीच युद्ध जारी रहेका बेला अमेरिकाले गत शनिबार इरानका फोर्दो, नताञ्ज र इस्फाहान परमाणु केन्द्रमा बंकर बस्टर बम प्रहार गरेको थियो । भूमिगत संरचना नष्ट गर्न प्रभावकारी मानिने जीबीयू–५७ नामक ‘बंकर–बस्टर’ बमले ६१ मिटर तलसम्म घुसेर विष्फोट हुने गर्दछ ।

अमेरिकाले आक्रमणपछि सार्वजनिक गरेको स्याटेलाइट तस्वीरहरूमा फोर्दो साइटमा दुई स्थान नजिक ६ वटा गहिरा खाडलहरु देखिन्छन्, तर भित्री भाग कति नष्ट भयो भन्ने खुलस्त छैन । यद्यपि अमेरिकी सेनाका शीर्ष अधिकारी जनरल ड्यान केनले आक्रमणबाट इरानका तीनवटै परमाणु केन्द्रमा गम्भीर क्षति पुगेको बताएका थिए ।

तर सीएनएनलाई पेन्टागनको रक्षा गुप्तचर एजेन्सी (डीआईए) स्रोतहरूले बताएअनुसार शनिबार भएका बम आक्रमणले इरानको युरेनियम भण्डार ध्वस्त पार्न सकेको छैन । ह्वाइट हाउसले भने यसको खण्डन गर्दै राष्ट्रपति ट्रम्पलाई ‘होच्याउने प्रयास’को संज्ञा दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त ‘फेक न्युज’ भनेका छन् ।

 

पेन्टागनको प्रतिवेदनमा के छ ?

पेन्टागनको प्रारम्भिक गुप्तचर प्रतिवेदनले ‘इरानको परमाणु कार्यक्रम पूर्णत: नष्ट’ भन्ने दाबी माथि प्रश्न उठाएको छ । इरानको सबैभन्दा ठूलो र सुरक्षित मानिने फोर्दो परमाणु केन्द्र जमिन मुनि ९० मिटर तल छ । तर त्यहाँसम्म बंकर बस्टर बमले क्षति नपुर्‍याएको र आक्रमण मुख्यत: सतहमा रहेका संरचनासम्म सीमित भएको रिपोर्टसँग सम्बन्धित स्रोतको दाबी छ ।

स्रोतहरूले अमेरिकी सञ्चारमाध्यमलाई बताएअनुसार आक्रमणले इरानको परमाणु योजना केही महिनामात्र पछाडि धकेलिएको छ । इरानले भग्नावशेष पन्छाएर छिट्टै मर्मत गर्न सक्ने बताइएको छ ।अमेरिकाले बंकर बस्टर बम आक्रमण गर्नुअघि नै इरानले संवर्धित युरेनियमको केही भाग अर्को स्थानमा सारिसकेको पनि रिपोर्टमा उल्लेख छ । इरानको सरकारी टेलिभिजनका एक अधिकारीले पनि ती केन्द्रहरू पहिले नै खाली गरिसकिएको हुँदा इरानलाई ठूलो क्षति नभएको बताएका थिए ।

सीएनएनले सात जना स्रोतले भनेको आधारमा इरानका परमाणु केन्द्र पूर्णरुपमा नष्ट नभएको समाचार छापेको छ । पहिल्यै सार्वजनिक नभएको यो मूल्यांकनको प्रारम्भिक रिपोर्ट पेन्टागनको गुप्तचर निकाय डिफेन्स इन्टेलिजेन्स एजेन्सी (डीआईए) ले तयार पारेको हो । यो प्रारम्भिक रिपोर्ट भएकाले अन्तिम रिपोर्टमा केही फेरबदल हुन सक्ने पनि समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...