संसद् अब रोकिंदैन : सभामुख घिमिरे
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभामा आफूहरूको अवरोध जारी रहने सूचना सभामुख देवराज घिमिरेलाई दिएको छ । त्यसअगाडि रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारले सभामुखसँग भेटेका थिए ।
सभामुखको सरकारी निवास बालुवाटारमा भएको भेटमा नेताद्वय अर्याल र परियारले आफूहरूको माग सम्बोधन नभएकाले अवरोध जारी रहने सूचना दिएका हुन् । रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएको छ । यो प्रकरणमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने पनि उनीहरूको माग छ ।
जवाफमा सभामुख घिमिरेले विपक्षीले उठाएको विषय गम्भीर रहेको बताए । तर, अब संसदमा अवरोध जारी राख्ने वातावरण नभएको बताएका छन् । सभामुखको सचिवालयका अनुसार सभामुखले भनेका छन्, ‘दुई सातादेखि विपक्षीको अवरोधले संसद बन्धक भयो । बजेटबारे ब्यापक छलफल गर्नुपर्ने, समृद्ध बनाउने बेला संसद अबरूद्ध हुँदा जनतामा गलत सन्देश गएको छ ।
संसदको नेतृत्वका हिसाबले आफूले संवैधानिक सीमालाई पनि ख्याल गर्नुपर्ने सभामुखको आग्रह छ । उनका अनुसार राष्ट्रिय सभाले ५ गतेभित्र प्रतिनिधि सभाबाट विनियोजन विधेयक पठाउन भनेको छ । यस्तो अवस्थामा जुनसुकै हालतमा बजेट पारित गर्नैपर्ने दबाबमा प्रतिनिधिसभा छ ।
रास्वपा नेताहरूलाई सभामुखले भनेका छन्, ‘तपाईंहरूले आफ्नो आन्दोलनको स्वरुप बदलेर पनि संवैधानिक सीमा र बाध्यता बुझ्नुपर्छ । बरू सरकारसँग संवादका लागि आवश्यक सहजीकरण म गर्नेछु । गम्भीर भएर छलफल गरौं ।


