झापाको चियाबगानमा १२ दिनदेखि पूर्वराजारानीको बास
राजसंस्था पुनर्स्थापनाका लागि गत जेठ १५ गतेदेखि काठमाडौंमा राजावादी गठबन्धनले आन्दोलन गरिरहेको छ । दिनहुँ धर्ना–जुलुसहरू भइराखेका छन् । तर सरकार र गणतन्त्रवादी दलहरूले कुनै टेरपुच्छर लगाएका छैनन् ।
काठमाडौंमा राजावादी आन्दोलन चलिरहँदा पूर्वराजारानी भने काठमाडौंमा छैनन । उनीहरू आन्दोलन छल्दै झापामा सुस्ताइरहेका छन् । आन्दोलन सुरु हुनुभन्दा ४ दिन अघिबाट उनीहरू झापा आएका हुन् । पूर्वराजारानीसँग भतिजी शिताष्मा पनि छिन् । झापाको दमकस्थित हिमालय महालक्ष्मी चिया बगानमा उनीहरूको बास छ । उनीहरू दुई साताका लागि दमक आएको श्रोतले बतायो । हिमालय महालक्ष्मी चिया बगान पूर्व राजा ज्ञानेन्द्रको आफ्नै चिया बगान हो । पूर्व–पश्चिम सडक खण्डसँगै दमक बजारको पश्चिमी क्षेत्रमा पर्ने चिया बगानमा उनी बेला–बेला आएर बस्ने गरेका छन् ।
खासगरी जाडोको समयमा र चिया टिप्ने समयमा उनी नियमित रूपमा यहाँ बस्ने गर्छन् । अहिले पनि चिया टिप्ने समय हो ।


