राजावादीहरूले आज माइतीघरमा प्रदर्शन गर्ने
राजावादी घटकहरूको मोर्चाले हिजोबाट सुरू गरेको संयुक्त जनआन्दोलनले आज पनि निरन्तरता पाउने भएको छ । आजको प्रदर्शन भने माइतीघर-बिजुलीबजारमा केन्द्रित गर्ने तयारी मोर्चाले गरेको छ ।राजसंस्था र हिन्दू राष्ट्र पुनस्स्थापना तथा संघीयता खारेजीको एजेन्डासहित संयुक्त जनआन्दोलन समितिको संयोजना र राप्रपाको अगुवाइमा अनिश्चितकालीन आन्दोलन सुरू भएको हो । माग पूरा नभएसम्म सडकबाट नहट्ने राजावादी घटकहरुले बताएका छन् । हिजो पहिलो दिनको आन्दोलन शान्तिपूर्ण रहेको थियो । आज माइतीघरको आन्दोलनलाई पनि शान्तिपूर्ण नै बनाइने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए । हिजोको आन्दोलन सफल र प्रभावकारी बनेकाले कार्यकर्ताहरूको मनोबल उच्च बनेको उनको भनाइ छ ।
श्रेष्ठले भने हामी एउटा जिम्मेवार राजनीतिक दल हौं । हिंसा भड्काउने हाम्रो योजना छैन । तर, यदि गणतन्त्रवादी दलहरूले हाम्रो शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता गरेको खण्डमा आन्दोलन चर्केर जान सक्छ । हिजोको आन्दोलने राजसंस्थावादीहरूको नैतिक जित भएको ठहर पनि श्रेष्ठले गरेका छन् । उनी भन्छन्, हिजो गणतन्त्रको उत्सव मनाउनका लागि सत्तारुढ प्रमुख दलले नै आग्रह गरेको थियो । तर, गणतन्त्रको उत्सव मनाउने भन्दा यसको विरोधमा उत्रिनेहरू कयौं गुणा बढी देखिए । यो हाम्रो नैतिक जित हो ।
पहिलो दिनको आन्दोलनबारे यस्तो छ संश्लेषण
– गणतन्त्र दिवसकै दिन राजसंस्था पुन:स्थापनाको आन्दोलन चर्काइयो नारा घन्काइयो, यो ऐतिहासिक उपलब्धी हो ।
– गणतन्त्र रक्षाका लागि भनेर गरिएको प्रदर्शन फितलो भयो, जनता परिवर्तनको पक्षमा छन् भन्ने सन्देश गएको छ ।
– गणतन्त्र रक्षात्मक बन्यो, परिवर्तनकारीहरू उत्साहित देखिए, जनताले सत्ता गठवन्धनभन्दा राजसंस्थावादीलाई उत्साहपूर्ण नजरले हेरे ।
–राजावादीहरूलाई रिंगरोडबाहिरै रोक्नु भनेर प्रधानमन्त्री आफैँले हुंकार गरेका थिए, रत्नपार्कमै भेला भएर गतिलो जवाफ दिइयो ।
–आफैँले आह्वान गरेको कार्यक्रममा भिड नदेखेपछि प्रधानमन्त्री ओली आफैँ उपस्थित हुन सकेनन्, जनता हाम्रो साथमा छन् भन्ने उनको परिकल्पनाले हावा खायो ।
– हिजोको उत्साहजनक उपस्थितिबाट परिवर्तन सम्भव छ भन्ने सन्देश गएको छ, राजावादीले नविन समझदारीमा पुर्याएरै छोड्छन् भन्नेमा जनमानस विश्वस्त बनेका छन् ।


