जेठ १५ मा हामी सडकमा जानैपर्छ, एमालेमात्र हैन हरेक गणतन्त्रवादीले उत्सव मनाउनैपर्छ



हाम्रो इकोनोमि

 

कृपा भण्डारी,

जेठ १५ गते गणतन्त्र दिवस हो ।  त्यो भनेको २०६३ साल जेठ १५ गते सार्वभौम संसदले २५० वर्षदेखि देशको शासन गर्दै आएको राजतन्त्रलाई विधिवत विघटन गरेको दिन । तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ असोज १९ मा जननिर्वाचित संसद विघटन गरे । अनि सक्रिय शाही शासनको अभ्यास शुरु गरे । यो घटनाले २०४६ सालको संयुक्त जनआन्दोलनबाट हासिल भएका सम्पूर्ण उपलब्धि अपहरित वा विघटन गरेको थियो ।

नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट हासिल उपलब्धिलाई जसरी राजाले खोसेर सक्रिय शासकीय भूमिकामा प्रस्तुत भए, त्यसले बहुदलीय प्रतिस्पर्धामा आधारित प्रजातान्त्रिक राजनीतिक व्यवस्थालाई नै उनले विघटन गरेका थिए । उनी त्यस्तो शासन प्रणालीका निम्ति आतुर थिए, जसलाई नेपाली जनताको लामो बलिदानी संघर्षद्वारा २०४६ चैत २६ मा परास्त गरिएको थियो । तसर्थ जननिर्वाचित सरकारसँगै संसदको पनि विघटन गरिएको घटना जनताका निम्ति सह्य थिएन ।

संसदको पुनःस्थापनालाई मूल माग बनाएर देशमा चरणबद्ध आन्दोलन भए । राजा ज्ञानेन्द्रले आन्दोलनकारी जनताको शान्तिपूर्ण आग्रह वा मागलाई सुन्ने त टाढैको कुरा, उल्टै २०६१ माघ १९ मा घोषित रुपमा सम्पूर्ण शासनसत्ता आफूमा निहित गरे । मुलुकमा सञ्चार शून्यताको स्थिति सिर्जना गर्दै जनताका आधारभूत अधिकारमाथि हस्तक्षेप गरे । राजनीतिक दलका नेता, कार्यकर्ता र नागरिक अगुवाहरुको धरपकड व्यापक भयो ।

२०४६ सालको जनआन्दोलनपछि चैत २६ गते राजा र राजनीतिक दलबीच भएको दुईपक्षीय सम्झौताअनुरूप राजनीतिक दलमाथिको प्रतिबन्ध हटाइएको थियो । २०१९ सालको पञ्चायती संविधान खारेज भयो । अधिकार सम्पन्न संविधान सुझाव आयोग गठन गरी नयाँ संविधान जारी गर्ने सहमति भयो । सार्वभौमसत्ता जनतामा निहित हुने र बहुदलीय प्रतिस्पर्धामा आधारित निर्वाचन प्रणालीद्वारा प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक संसदीय व्यवस्था अंगीकार गर्ने प्रतिबद्धतामा सहमति भयो । प्रेस स्वतन्त्रता तथा मानव अधिकार सुनिश्चित गरियो ।

२०५८ जेठ १९ गते नारायणहिटी राजदरबारभित्रै भएको एक रक्तपातपूर्ण घटनामा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन र अधिराजकुमारी श्रुतिसहित राजपरिवारका प्रायःजसो सदस्य मारिए । तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र र उनका परिवारका सदस्य भने जीवित रहे ।

उक्त घटनापछि राजपरिवारका एकमात्र जीवित परिवारका मूली ज्ञानेन्द्र शाह महाराजाधिराज घोषित गरिए । उनै ज्ञानेन्द्र शाहले राजा भएको १५ महिनापछि २०५६ सालको आमनिर्वाचनबाट निर्वाचित सर्वभौम संसद विघटन गर्दै २०४६ सालका सम्पूर्ण उपलब्धि विसर्जित गरे ।

राजा ज्ञानेन्द्रले २०६१ माघमा शासनसत्ता नै हत्याएपछि विभिन्न राजनीति दल, नागरिक संस्था एवं जनता स्वःस्फूर्त सडकमा उत्रिए । राजनीतिक दलहरूले राजतन्त्रको अन्त्यसहितका सम्झौता गरे । यसरी २०६२ मा शुरू भएको दोस्रो जनआन्दोलन २०६३ वैशाखसम्म चल्यो । जनता नारायणहिटी राजदरबार कब्जा गर्ने र निरंकुश शासक ज्ञानेन्द्र शाहलाई लखेट्ने तहमा सडकमा उत्रिए । यसबाट अत्तालिएर उनले संसद पुनःस्थापनाको घोषणा गर्दै ‘जनताको नासो जनतालाई नै’ फिर्ता गरे । र, पुनःस्थापित संसदले जेठ १५ गते राजसंस्थाको विधिवत अन्त्य गर्दै ज्ञानेन्द्र शाह र उनको परिवारलाई सम्मानित नागरिकको दर्जा दिँदै नारायणहिटी दरबारबाट बाहिर पठाउने निर्णय गर्‍यो ।

त्यसैले जेठ १५ जनताले जितेको दिन हो । जितेका जनताले यो दिनलाई भव्य उत्सवका रुपमा मनाउनु उनीहरूको अधिकार हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पंक्तिलाई उक्त दिनलाई उल्लासमय रुपमा मनाउन र राजधानी काठमाडौंका सडक–सडकमा एमाले पंक्ति भरिभराउ हुनुपर्ने भन्नुभएको छ । उहाँ मुलुकको जननिर्वाचित प्रधानमन्त्री पनि हुनुहुन्छ । यद्यपि आफ्नो पार्टीको कार्यक्रममा बोल्दा उहाँले केवल पार्टी अध्यक्षका नाताले पार्टीपंक्तिलाई मात्र आग्रह गर्नुभएको छ ।

गणतान्त्रिक व्यवस्थाका निर्वाचित प्रधानमन्त्रीले केवल आफ्नो पार्टी पंक्तिलाई मात्र हैन, आमजनतालाई नै उक्त दिनलाई उत्सवका रुपमा मनाउन अपिल गर्नुपर्थ्यो । सायद गर्नु नै होला ।

गणतन्त्रकै मुखुण्डो भिरेका केही ‘डेढ अक्कली’हरु अहिले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको उपरोक्त अपिलउपर नानाथरी टिप्पणी गरिरहेका छन् । त्यसदिन हारेका तत्कालीन राजावादी सडकमा उत्रिने कार्यक्रम छ । उनीहरू जितेका जनतालाई जिस्क्याउन र हासिल भएका उपलब्धिलाई फेरि विघठित गरियोस् भन्ने मागका साथ सडकमा आउने हल्ला छ । यस्तो अवस्थामा जितेका जनताले जितको उत्सव मनाउनु हुँदैन भन्नु २०६२/०६३ का उपलब्धिमाथि लापरबाही गर्नु हो ।

मुलुकमा राजतन्त्रको विधिवत अन्त्य भएको दिनलाई एमाले एक्लैले मनाउनुपर्ने हैन । यो प्रत्येक राजनीतिक दलसहित दोस्रो जनआन्दोलनका हरेक सहभागीको स्वःस्फूर्त सहभागितामा सम्पन्न हुनुपर्ने एक ऐतिहासिक उत्सव हुनुपर्छ । जसरी प्रेस चौतारी नेपाल २०६२/०६३ को जनआन्दोलनमा सहभागी एक महत्त्वपूर्ण संस्था हो । त्यसरी नै उक्त जनआन्दोलनका अन्य सहभागी संस्थाले आआफ्नो पंक्तिलाई त्यसदिन सडक उत्रिएर उत्सव मनाउन आग्रह गर्नुपर्छ । व्यवस्थाविरोधीले प्रदर्शन गर्छन् भनेर जितेका जनताले जितको उत्साह र उत्सव नमनाउनु पश्चगामी कुरा हो ।

त्यसैले हामी सडकमा उत्रिनैपर्छ, हाम्रो गणतन्त्र र लोकतन्त्रको रक्षा पनि हामीले नै गर्नुपर्छ । सडकबाट जनतालाई गणतन्त्रका उपलब्धि सुनाउनुपर्छ । हिजो जनतामाथि शोषण र अत्याचार गरेर, मुलुकलाई टाट पल्टाएर, मुठ्ठीभरका वर्गलाई पोस्ने महाराजाधिराजहरुको शासन यो देशलाई अब चाहिएको छैन ।हामीले जनतालाई यिनै कुरा भन्नुपर्छ र जेठ १५ गते जनताले सुन्ने सुन्ने ठाउँमा उभिएर हामीले यो व्यवस्थाको पक्षमा ताली बजाउनुपर्छ ।

(लेखक प्रेस चौतारी नेपालकी केन्द्रीय उपाध्यक्ष हुन् ।)

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...