गुट सक्रिय बनाउदै, नेता-कार्यकर्ता जुधाउदै



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले पर्वतमा नेताहरुको प्रतिशोध र निषेधपूर्ण राजनीतिक लडाइँले कार्यकर्ताहरु विभाजितमात्रै होइन, भौतिक आक्रमणमै उत्रिने अवस्थामा पुगेका छन् । राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिना र पूर्वमन्त्री पदम गिरीको प्रतिशोधपूर्ण राजनीतिक लडाइँले एमाले पर्वतका कार्यकर्ता नै विभाजित भएका हुन् । गण्डकीमा फस्टाएको एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूह र स्थायी कमिटी सदस्य खगराज अधिकारी समूह बीचको लडाइँले पनि पर्वतको आन्तरिक विवादमा मलजल गरिरहेको छ ।

राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिना र पृथ्वीसुब्बा गुरुङ एउटा कित्तामा छन् भने पूर्वमन्त्री पदम गिरी र खगराज अधिकारी समूह अर्को कित्तामा रहेर गतिविधि गरिरहेका छन् । यही गुटगत लडाइँका बीच युवा संघ पर्वतको अधिवेशन गर्ने कि नगर्ने भन्ने विवादले उग्ररुप लिँदा बुधबार झडप भएको हो । झडपमा परी घाइते भएका एमाले गण्डकी प्रदेश सदस्य अर्जुन निर्जन पौडेल अस्पताल भर्ना भएका छन् ।

टाउकोमा चोट लागेर घाइते भएका पौडेललाई पर्वतमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पोखराको फेवासिटी अस्पताल ल्याइएको छ । घाइते पौडेलले संगठनलाई कब्जा गर्न उद्दत समूहले हतियारसहित आफूमाथि आक्रमण गरेको आरोप लगाएका छन् । यता एमाले जिल्ला अध्यक्ष गोविन्द पहाडी गिरी आफू पनि घाइते भएको भन्दै अस्पताल गएका छन् ।

 

अधिवेशनमा जोडिएको स्वार्थ

घटनाबारे एमाले पर्वतका सचिव र गण्डकी प्रदेशका अध्यक्षकले निकालेको विज्ञप्ति ।  जेठ ९ देखि ११ गतेसम्म पोखरामा राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय महाधिवेशन हुँदै छ ।  राष्ट्रिय सभाका पूर्वअध्यक्ष तिमिल्सिना तथा पृथ्वीसुब्बासँग निकट अर्जुन निर्जन पौडेलसहित युवा संघ जिल्ला अध्यक्ष विनोद थापा र सचिव प्रकाश थकालीलगायत अधिवेशन नगर्ने पक्षमा छन् ।

गिरी–अधिकारी समूह र सिंगो जिल्ला पार्टी कमिटी भने जसरी पनि अधिवेशन गरेर आफूहरुले भनेका व्यक्तिहरुलाई ल्याउन चाहन्थे । युवा संघ गण्डकी इञ्चार्जसमेत रहेका प्रदेश सभाका पूर्वसदस्य राजीव पहारी पनि अधिवेशन गराएर आफू निकटकालाई महाधिवेशन प्रतिनिधि बनाउन चाहन्थे ।

यही रस्साकस्सीबीच विवाद बढ्दा बुधबार एमाले पार्टी कार्यालयमा झडप भएको हो । झडपमा एमाले प्रदेश सदस्य पौडेलको टाउको फुटेपछि नेताहरुले वक्तव्यबाजी गर्दै घटनाको दोष एकअर्कामाथि लगाएका छन् ।

एमाले प्रदेश अध्यक्ष नवराज शर्माले विज्ञप्ति जारी गर्दै एमाले जिल्ला अध्यक्ष पहाडीलगायत नेतृत्वकै उपस्थितिमा भएको विवादलाई विधिसम्मत र शान्तिपूर्ण तवरबाट हल गर्नुको साटो भौतिक आक्रमणमा उत्रिएको भन्दै निन्दा गरेका छन् । उनले पौडेलको स्वास्थ्य लाभको कामना गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । समस्यालाई शान्तिपूर्ण र विधिसम्मत हल गर्न तथा अराजक गतिविधिलाई प्रोत्साहन नगर्न उनको माग छ ।

एमाले जिल्ला कमिटीले अर्को विज्ञप्ति जारी गर्दै जिल्ला अध्यक्ष गोविन्द पहाडी गिरीमाथि सांघातिक हमला भएको आरोप लगाउँदै निन्दा गरेको छ । एमाले जिल्ला सचिव सुवासचन्द्र पौडेलको नामबाट जारी विज्ञप्तिमा वैशाख २४ गते जिल्ला अधिवेशन गर्ने निर्णय भएको र तत्काललाई अधिवेशन आयोजक कमिटी गठन गर्ने तय भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...