सैनिक जवानले गरे श्रीमतीको हत्या



हाम्रो इकोनोमि

 

 

सुर्खेतको भेरीगंगामा मृत भेटिएकी प्रेमा वलीको हत्या भएको पुष्टि भएको छ । गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीय वली आइतबार भेरीगंगा नगरपालिका—१२, झिंगेनारा खोलाका मृत भेटिएकी थिइन् । हत्या गर्ने उनकै श्रीमान् २९ वर्षीय दर्शन खत्री रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए । प्रहरीका अनुसार उनले प्रेमाको हत्या आफैंले गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।

भेरीगंगाको झिगेनारा खोलामा पानीमा घोप्टो परेको अवस्थामा आइतबार बिहान उनको शव फेला परेको थियो । मृत भेटिएकी ओलीको बेलुका मात्रै घटनास्थलमा पुगेका आफन्तले शव पहिचान गरेका थिए , रत्न राजमार्गको छिन्चु–सुब्बाकुना सडकखण्डको छिन्चु बजारदेखि झन्डै एक किलोमिटरको दूरीमा उनको शव भेटिएको थियो । घटना शनिबार बेलुकाको भए पनि जङ्गलको बीचमा पर्ने खोलामा शव भएकाले कसैले देखेनन् ।

आइतबार बिहान १० बजेतिर जङ्गलमा थाकलको खजुरी (थाकल) टिप्न गएका स्थानीयहरूले खोल्सामा शव देखेपछि छिन्चु प्रहरीलाई खबर गरेका थिए । लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले अनुसन्धान थालेको डिएसपी बुढथापा बताउँछन् । उनका अनुसार अनुसन्धानका लागि प्रहरीको केनाइन शाखा नेपालगन्जबाट कुकुरसहितको टोलीसमेत ल्याइएको थियो । आइतबार बेलुका नै हत्या आशङ्कामा श्रीमान् दर्शन खत्रीलाई नियन्त्रणमा लिइएको डिएसपी बुढथापाले बताए । प्रारम्भिक अनुसन्धान पछि उनका श्रीमानले नै हत्या गरेको प्रहरीको आशङ्का थियो’, उनले भने, पछि केरकार गर्दा आफैंले हत्या गरेको बयान दिए । प्रहरीको टोली पक्राउ गर्न घरमै पुगेपछि निकै हतोत्साहित बनेका दर्शन सुरुमा इन्कारी बयान दिएको प्रहरी बताउँछ । विचलित हुने, आत्तिने, फरक–फरक जवाफ दिने गरेपछि उनलाई नियन्त्रणमा लिएको थियो ।

 

यस्तो छ घटनाको नालीबेली

गुर्भाकोट नगरपालिका–५, का दर्शन र वडानम्बर ६, मेहलकुनाकी प्रेमाबिच ७ वर्षअघि प्रेम विवाह भएको थियो । विवाहको दुई वर्षपछि छोरी जन्मिइन् । लगत्तै दर्शनले नेपाली सेनामा नाम निकाले । हाल उनी काभ्रेको वीरदल गणमा कार्यरत छन् । सेनामा कार्यरत दर्शनले अन्य महिलासँग हिमचिम बढाउन थाले । उक्त कुरा घरपरिवार हुँदै प्रेमाले माइतीसम्म पुर्‍याइन् ।

श्रीमान् अन्य महिलासँग सम्बन्ध बढाएको थाह पाएरै प्रेमाले उनीमाथि प्रश्न उठाउन थालिन् । त्यही विषयमा पाँच वर्षदेखि बुढाबुढीबीच बेलाबेला झैझगडा र कुटपिट हुने भइरहेको थियो । यो क्रम विगत पाँच वर्षदेखिकै चल्दै आएको थियो । प्रेमा छोरीसहित माइतीघर बस्दै आएकी थिइन् ।

दर्शन बिदा लिएर शनिबार साँझ मात्रै छिन्चु पुगेका थिए । उनलाई छिन्चु बजारसम्म लिन आउन पनि भने । श्रीमानले प्रेमालाई बोलाएको ह्वाट्सप च्याटमा पनि देखिएको प्रहरीको भनाइ छ । प्रेमाले छोरीलाई घरमा छोडेर श्रीमानले साथीसँग सामान पठाएको र लिन छिन्चु जान लागेको माइतीलाई जानकारी गराएकी थिइन् ।

माइतीघरमा रहेकी प्रेमा श्रीमानलाई लिन भनेर छिन्चु बजार पुगिन् । सुरुमा बुढाबुढीबीच राम्रै कुरा भए पनि बिस्तारै झगडा हुन थाल्यो । ‘झगडा गर्दै उनीहरू अगाडि जङ्गलतिर पुग्छन्’ दर्शनको भनाइ उद्धृत गर्दै डीएसपी बुढथापा भन्छन्, त्यहाँ पुगेपछि एक अर्कोको मोबाइल हेर्न थाल्छन् ।

श्रीमान् लिन गएकी प्रेमाले ज्यानै दिनुपर्ला भन्ने कल्पनासमेत गरेकी थिइनन् । तर, घटना नसोचेकै भयो । भेट भएको केही बेरमा खटपट भएका यस्ता कयौँ क्षण प्रेमाले पहिले पनि बेहोरेकी सकेकी थिइन् ।

झिंगेनारा जङ्गलमा शनिबार बेलुका ७ बजेसम्म उनीहरूबीच झगडा भइरह्यो । त्यसपछि दर्शनले रिसको आवेगमा आएर ढुङ्गाले प्रेमाको टाउकोमा प्रहार गरेको र त्यसपछि सलले गलामा कसेर हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् । ‘ढुङ्गाले टाउकोमा हानेपछि प्रेमा ढलिन् । त्यसपछि उनकै सलले घाँटीमा कस्छन्’, डिएसपी बुढथापा भन्छन्, ‘मृत्यु भएपछि पानीको खाल्डोमा फल्छन् ।

दुवै जनाले एक अर्कामाथि गर्ने शंकाले नै शनिबारको घटना हुन पुगेको प्रहरीको ठहर छ । प्रेमाले श्रीमानलाई अर्कै केटीसँग लाग्छ भनिरहने र श्रीमानले पनि प्रेमामाथि शंका गर्दा जङ्गल पुर्‍याएर हत्या जस्तो गम्भीर अपराध भएको देखिन्छ’ डिएसपी बुढथापा भन्छन् ।

दर्शन शनिबार राति ८ बजे घटनास्थलबाट गुर्भाकोट घर गएको प्रहरीले जनाएको छ । प्रेमाको हत्या आफू एक्लैले गरेको र आशङ्का नै मुख्य कारण भएको बयान उनले प्रहरी समक्ष दिएका छन् । प्रेमासँग विवाह भएको सुरुका केही वर्ष सम्बन्ध राम्रो भएको र बिस्तारै बढी शंका गर्दा पाँच वर्षदेखि सम्बन्धमा खटपट हुँदै आएको उनले बयान दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...