नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) को अध्यक्षमा पुन: विनोद पाण्डे



हाम्रो इकोनोमि

 

 

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) को अध्यक्षमा विनोद पाण्डे दोहोरिएका छन् । काठमाडौंमा बिहीबार सम्पन्न छैटौँ राष्ट्रिय महाधिवेशनबाट पाण्डे अध्यक्षमा पुन: निर्वाचित भएका हुन् । नेपोनको उपाध्यक्षमा क्याप्टेन लालकाजी गुरुङ, महासचिवमा मदन केसी र उपमहासचिवमा तीर्थराज घिमिरे निर्वाचित भएका छन् । त्यस्तै सचिव (संगठन विभाग)मा केदारप्रसाद देवकोटा, सचिव (विदेश विभाग)मा नारायणबहादुर श्रेष्ठ, सचिव (प्रचार विभाग)मा ध्रुवराज कार्की र सचिव (अर्थ)मा चन्द्रकुमार महतरा निर्वाचित भएको नेपोनले जनाएको छ । महिला उपाध्यक्ष भने रिक्त छ । महाधिवेशनबाट ६ वटा आयोगले पनि नेतृत्व पाएको छ । लेखा आयोग अध्यक्षमा मनोहरि कार्की, अनुशासन आयोगमा मिठाराम केसी, भेटरन कमिटी आयोगमा पुष्पराम केसी, सुरक्षा तथा स्वयंसेवक आयोगमा उद्धव रावल, निर्वाचन आयोगमा सुधीर थापा र सल्लाकार आयोगमा रवीन्द्र कार्की निर्वाचित भएका छन् ।

महाधिवेशनबाट पदाधिकारीसहित ९९ सदस्यीय कमिटी गठन भएको छ । नवनिर्वाचित अध्यक्ष पाण्डेले नेपोनले राष्ट्रका सुरक्षा समस्याहरु पहिचान गर्ने तथा समस्या न्यूनीकरणमा मद्दत गर्ने भूतपूर्वहरुको अभूतपूर्व क्षमतालाई सुरक्षा र विकासमा जोड्न पहल गर्ने प्रतिबद्धता जनाए । ‘राष्ट्रको सार्वभौमिकता र स्वाधीनतालाई अक्षुण्ण राख्दै सामाजिक मूल्य र मान्यतालाई दिगो बनाउनेलगायतका महत्वपूर्ण विषयमा हाम्रो संस्थाको महत्वपूर्ण भूमिका रहनेछ,’ उनले भने । पूर्वसुरक्षाकर्मीहरुको अनुशासन, ज्ञान, अनुभव, सीप, क्षमता र दृढ अठोट सुरक्षा र विकासका लागि महत्वपूर्ण साधन हुने उनले बताए । अध्यक्ष पाण्डे अवकाशप्राप्त सहायक रथी हुन् । २०७८ चैत १६ मा सम्पन्न पाँचौँ महाधिवेशनबाट उनी पहिलो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका थिए ।

कार्यक्रममा नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालले नेपोन भूतपूर्व सैनिक तथा प्रहरीको साझा चौतारी भएको बताए । त्यस्तै नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं रक्षामन्त्री मानवीर राईले नेपोनले विपतको समयमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले जीवनको ऊर्जाशील समय देशको सुरक्षामा खटेर बिताउनु सराहनीय भएको बताए । पार्टी पोलिट्ब्युरो सदस्य एवं संगठनका इन्चार्ज खेममान खड्काले २०४७ सालमा स्थापित भएको संस्था अहिलेको अवस्थामा आइपुग्नुले भूतपूर्व सुरक्षाकर्मीहरुको मतैक्यलाई उजागर गरेको धारणा राखे ।

कार्यक्रममा पोलिट्ब्युरो सदस्य एवं संगठनका पूर्व इन्चार्ज आनन्दप्रसाद पोखरेल, पार्टी केन्द्रीय सदस्य एवं संगठनका पूर्वइन्चार्ज यज्ञराज सुनुवार, पार्टी केन्द्रीय सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका नेता रचना खड्कालगायतको उपस्थिति थियो । त्यसअघि महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री ओलीले विविधतायुक्त मुलुकमा सामाजिक सद्भावसहितको राष्ट्रिय एकता आवश्यक भएको र एमालेले त्यस कामको अगुवाइ गरिरहेकाले भूतपूर्व सैनिक तथा प्रहरी संगठनले देश र पार्टीप्रतिको बफादारितालाई अझ बलियो बनाउनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...