भरतपुरको मेयरमा एमाले उम्मेदवार सुवेदी बिजयी हुने पक्का
गठबन्धनले स्थानीय तहका उम्मेदवार तयार पार्ने ढाँचाअनुसार चितवनको भरतपुर महानगरपालिकामा माओवादीले मेयरको उम्मेदवार पाउने निश्चित भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माओवादीबाट छोरी रेणु दाहाललाई फेरि उम्मेदवार बनाउँदैछन् । तर यस पटक भने रेणु जित्ने आधार नेपाली कांग्रेसकै समर्थन नरहने स्पष्ट भएको छ ।
भरतपुरका २९ वडाका कांग्रेस सभापतिले संयुक्त रुपमा महानगरमा माओवादीलाई सहयोग गर्न नसकिने, वडाहरूमा केन्द्रको निर्देशनविपरित नै उम्मेदवारी दिने संयुक्त निर्णय रेणु दाहालका लागि चुनौति बनेको छ । त्यहाँमाथि चितवन कांग्रेसले पनि समर्थन नगर्ने बताइसकेको छ । कांग्रेसको समर्थन विना रेणुलाई जित्न कठिन हुने प्रक्षेपण स्वभाविक त हो नै अर्कोचाहिँ एमालेका उम्मेदवार बलियो हुनु पनि हो ।
अघिल्लो पटक गठबन्धन गर्दा पनि एमालेका उम्मेदवार देवी ज्ञवालीले कडा टक्कर मात्र दिएनन्। मत गणनामा विवाद भएपछि वाइसीएलका कार्यकर्ताले मतपत्र च्यातेका थिए। अदालतमा मुद्दा जितेर रेणु मेयरमा निर्वाचित भएकी थिइन् । ‘विकासको एजेन्डा लिएर रेणु फेरि मेयरमा उठ्न खोजेकी छन् । तर, भरतपुरवासीले उनलाई कति पत्याउँछन्? कांग्रेसको जनमत भएको ठाउँमा उनलाई मत नजाने निश्चित छ’, एक नेता भन्छन् ।
एमालेले सर्वसम्मत रुपमा यस पटक लोकप्रिय नेतालाई मेयरका लागि तयार पारेको छ। एमालेका प्रदेश सांसद समेत रहेका अनुभवी पार्टी नेता बिजय सुवेदीलाई मेयरको उम्मेदावर बनाइएको छ। रेणुलाई पराजय गर्न सक्ने उनीसँग पर्याप्त कारण रहेका छन् । सुवेदी एमाले चितवनको दुई कार्यकाल पार्टी प्रमुख भइसकेका हुन्। सुवेदी भरतपुर महानगरभित्र पर्ने चितवन क्षेत्र नं २ (ख) बाट बागमती प्रदेशसभामा छन् ।
सुवेदी भरतपुर महानगरपालिका–१२ का स्थायी बासिन्दा हुन् । भरतपुर अस्पताल विकास समितिको अध्यक्ष हुँदा गरेका सामाजिक काममा स्थानीय जनताले उनलाई पत्याउने गरेका छन् । ‘प्रदेश सभामा जित निकाल्नु भएको थियो । बहुमत जनताले उहाँका कामको प्रशंशा गर्छन्’, स्थानीय भन्छन्,‘एमालेको बलियो जनमत र गठबन्धनको विभाजित अवस्थाबीच सुवेदीको जित सहज हुने देखिन्छ ।’