सत्तागठबन्धनमा नयँँ लफडा सुरु, चुनावी तालमेल धरापमा



हाम्रो इकोनोमि

 

 

लामो छलफल र रस्साकस्सीपछि गत चैत १७ गते सत्तारुढ ५ दलीय गठबन्धनले आसन्न स्थानीय निर्वाचनमा तालमेल गर्ने सैद्धान्तिक निर्णय लियो । गठबन्धनका अन्य दल चुनावी तालमेलबारे सकरात्मक भएपनि प्रमुख घटक नेपाली कांग्रेसभित्र २ धार थियो ।

कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवामा निर्वाचनमा तालमेल नभए निर्वाचनमा गठबन्धन फुट्ने र निर्वाचनलगत्तै सत्ता गुम्ने ‘भय’मा थिए । त्यसैकारण उनी जसरी पनि तालमेल गरेर जानुपर्ने पक्षमा उभिएका थिए । चुनावी तालमेलका पक्षमा देउवा प्रष्ट उभिएपछि कांग्रेस केन्द्रीय समितिको बैठकले ‘स्थानीय अवस्था र आवश्यकता अनुसार तालमेल गर्ने’ गर्ने निर्णय गरेको थियो ।

कांग्रेसको निर्णयकै बलमा चैत १७ गते गठबन्धनले चुनावी तालमेल गर्ने र हालको शक्ति सन्तुलनबारे तल्ला समितिहरुबाट प्रतिवेदन माग्ने निर्णय गरेको हो । चुनावी तालमेलबारे सैद्धान्तिक सहमति भएपनि तालमेलको ‘मोडालिटी’ बारे टुंगो लाग्न सकेको छैन । चैत २२ गतेभित्र गठबन्धनमा रहेका दलहरुको स्थानीय संयन्त्रले केन्द्रमा प्रतिवेदन बुझाउनुपर्ने भनिए पनि कार्यान्वयन हुन सकेन । यहीकारण प्रदेश र जिल्लास्तरका गठबन्धन संयन्त्रहरुलाई प्रतिवेदन पठाउन चैत २६ गतेसम्मको नयाँ समयसीमा दिइएको छ । गठबन्धनको पछिल्लो बैठकमा स्थानीय तह बाँडफाँड र उम्मेदवारको मापदण्डबारे छलफल भएको थियो ।

सत्तारूढ गठबन्धनमा रहेका दलहरु तालमेलका पक्षमा त प्रष्ट छन् तर शक्ति बाँडफाँडबारे अझै अस्पष्ट छन् । सबै दलले बढीभन्दा बढी शक्ति हासिल गर्ने हिसाबले प्रस्तावहरु ल्याएका छन् । जसले गर्दा गठबन्धनमा तालमेलको मोडालिटीबारे ठोस सहमति हुन सकेको छैन । गठबन्धनको प्रदेश र जिल्लास्तरको संयन्त्रले टुंग्याउन नसक्ने विषयहरुको सम्बोधन केन्द्रीय संयन्त्रबाटै गर्नुपर्ने हुन्छ ।

यदि केन्द्रमा तालमेलको मोडालिटीमा सहमति भएन भने सहमति भइकसकेका स्थानमा पनि त्यसको असर पर्न सक्छ । दलहरूको आ–आफ्नै किसिमको दावी, शक्ति सन्तुलन र उच्च महत्वाकांक्षाका कारण तालमेललाई टुंगोमा पुर्‍याउनु सहज भने छैन । कांग्रेसभित्र सबै स्थानीय तहमा माथिबाटै तालमेलको निर्णय लाद्न नहुने पक्षमा अहिलेपनि ठूलो जनमत छ । सभापति देउवापनि अधिकांश विषय तल्लो तहबाटै टुंगो लागोस् भन्ने चाहन्छन् । बढीभन्दा बढी स्थानीय तहमा तलबाटै सहमति जुट्नसक्ने मापदण्ड बनाउन देउवा चाहन्छन् ।

तर माओवादी केन्द्र र नेकपा एस मापदण्ड बनाएर माथिबाटै सिट बाँडफाँड गर्ने मनसायमा छन् । जसले देउवालाई निकै दबाबमा पारेको छ । कांग्रेसभित्र केन्द्रबाट सिट बाँडफाँडसहितको तालमेल लाद्न नहुने दबाब बढी भएपनि माओवादी र समाजवादी त्यसलाई बेवास्ता गर्नुपर्नेमा छन् ।

अर्कोतिर कांग्रेसले गत निर्वाचनमा प्रमुख जसले जितेको छ उसैले लिने र एमालेसहित गठबन्धन बाहिरका दलले जितेको स्थानमा दोस्रो धेरै मत ल्याउने दललाई प्रमुख र तेस्रो हुनेलाई उपप्रमुख दिनुपर्ने प्रस्ताव गरेको छ । कांग्रेसको प्रस्तावमा सहमति भए ५ सयभन्दा बढी स्थानीय तहको नेतृत्वमा कांग्रेसको दावी रहनेछ । कांग्रेसको प्रस्तावमा माओवादी, समाजवादी र जसपा सहमत छैनन् ।

नेकपा एकीकृत समाजवादीको महत्वाकांक्षी प्रस्ताव पनि गठबन्धनमा प्रस्तुत भएको छ तर त्यसमा कांग्रेस–माओवादी सहमत छैनन् । समाजवादीले विगतमा एमालेले नेतृत्व जितेका स्थानीय तहमा आफूले नेतृत्व पाउनुपर्ने बताउँदै आएको छ । समाजवादीको प्रस्ताव उसको संगठन र तागतभन्दा धेरै ठूलो भएको कांग्रेसका नेताहरु बताउँछन् ।

नेकपा माओवादीले भने कांग्रेससँग मेल खाने खालको प्रस्ताव अघि सारेको छ । माओवादीले हाल स्थानीय तहको नेतृत्व जितेका दलले नै पाउने र एमालेले जितेका तहमा भाग लगाउने प्रस्ताव ल्याएको छ । यस्तो प्रस्ताव स्वीकार्दा एमाले विभाजनबाट बनेको नेकपा एकीकृत समाजवादीले सोचेभन्दा कम भाग पाउने देखिन्छ ।

त्यसैले माओवादीको प्रस्तावमा पनि गठबन्धनमा सहमति जुट्ने अवस्था छैन । अर्कोतिर जसपाले २०७४ को निर्वाचनको परिणाम मात्रै नभए अहिले राजनीतिक अवस्था अनुसार न्यायोचित भागबण्डा गर्नुपर्ने प्रस्ताव राखेको छ । गठबन्धनकै घटक राष्ट्रिय जनमोर्चाले आफ्नो प्रभाव क्षेत्र भनिएका बागलुङ, प्यूठान, अर्घाखाँची, दाङ लगायतका जिल्लमा सम्मानजक नेतृत्वको दावी गरेको छ ।

 

सबै तहमा संयन्त्र

गठबन्धन गर्न कस्सिए पनि शक्ति बाँडफाँटको झमेलाबाट मुक्ति पाउन नसकेका सत्तारुढ दलका शीर्ष नेताहरुको प्रस्ताव र धाराणा बाझिने क्रम जारी छ । अर्कोतिर तल्ला संयन्त्रहरुले समयमै रिपोर्ट नपठाउँदा मापदण्ड बनाउनेदेखि स्थानीय तह बाँडफाँट गर्नेसम्मको काम प्रभावित हुने देखिन्छ । अधिकांश जिल्लामा स्थानीय संयन्त्रहरु बनेका छन् भने केहीमा पुरानै राजनीतिक प्रतिशोधका कारण संयन्त्र समेत बन्न सकेको छ ।

स्थानीय संयन्त्रहरुबाट बढीभन्दा बढी स्थानीय तहको तालमेल सहमति टुंगिएन भने केन्द्रले देशैभरको विषयमा निर्णय लिनुपर्ने हुन्छ । त्यही तनाव रोक्न स्थानीय संयन्त्र सक्रिय गराउने गठबन्धनको प्रयत्न भने शीर्ष नेताहरुको अपेक्षाभन्दा सुस्त गतिमा अगाडि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
नागा बाबासहित साधुसन्तलाई गरियो बिदाइ

    महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई दान दक्षिणासहित...

बागमती प्रदेशमा एमालेले १८ सीट जित्ने कैलाश ढुंगेलको दावी

    नेकपा एमालेका बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले फागुन २१ को...

राम्रो काम सुरु गर्नासाथ सरकार भत्काइहाल्छन् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक कार्यकाल पूरा गर्नको लागि चार...

राष्ट्रिय स्वाधीनता खतरामा छ : वर्षमान पुन

    नेपाली कम्युनिस्ट पार्टी नेता वर्षमान पुनले यतिबेला राष्ट्रिय स्वाधीनता संकटमा रहेको...