प्रचण्डको छोरी-ज्वाइँ केन्द्रीय कमिटीबाट आउट
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०७८ फागुन २२ गतेकाे केन्द्रीय कमिटीको बैठकमा ९७ जना केन्द्रीय सदस्य मनोनित गर्ने भनेर सूची प्रस्तुत गरे । राष्ट्रिय सभागृहमा भेलामा भएका केन्द्रीय सदस्यहरुको बैठकमा प्रचण्डले ती ९७ जनाको सूचीमा दुईजनाको नाम देख्दा भने अबै आश्र्चर्यचकित भएका थिए । ती दुईजनामा अरु कोही नभएर प्रचण्डकै कान्छी छोरी ज्वाइँ थिए ।
प्रचण्डको सचिवालयमा काम गर्ने छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यको नाम केन्द्रीय सदस्यको रुपमा ९७ जनाभित्र अटाएर प्रचण्डले बैठकमा पेश गरे । व्यवसायसँगै राजनीतिमा रहेका ज्वाइँ आचार्यको हकमा एकहदसम्म केन्द्रीय सदस्यको भूमिकामा ल्याउँदा हुक( पञ्चायती गाउँ फर्के शैली)गरेर ल्याएको सम्म भन्न सकिन्थ्यो ।
राजा, महाराजा, जंगे शासनमा झै श्री ३ महाराजाकै प्रवृत्ति अपनाएर पारिवारिक नातासम्बन्धकै कारण डोजरले तानेर ल्याईयो भन्ने आराेप लागेसँगै छोरी गंगा दाहालको हकमा भने त्यति पनि भन्न सकिने राजनीतिक पृष्ठभूमि र अवस्था थिएन । राजनीतिमा खासै सक्रिय नभएकी प्रचण्डको सचिवालयमा बसेर आउनेजाने पाहुनाको समय व्यवस्थापन गर्ने जिम्मा बाहेक गंगाको हकमा कुनै पनि याेगदान थिएन ।
त्यस्तो व्यक्तिलाई प्रचण्डले परिवारको सदस्य भएकै कारण केन्द्रीय सदस्यमा प्रस्ताव गर्न मिल्थ्यो कि मिल्दैन थियो भन्ने माओवादीभित्र प्रश्न उठेको थियो । त्यही प्रश्नको कारण २०७८ फागुन २२ गते आइतवारको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले पेश गरेका ९७ जनाको सूची बैठकले अनुमोदन गरेन । ती ९७ जनामध्ये ५० जनाको नाममात्रै केन्द्रीय कमिटीले अनुमोदन गर्यो । ती ५० जनाभित्र प्रचण्डका छोरीज्वाइँको नाम परेन ।
संभवतः पहिलोपटक प्रचण्डले ल्याएको प्रस्तावका यतिधेरै नाम काटिए। प्रचण्डले आफ्नो परिवारका सदस्य भएकै कारण राजनीतिमा अनावश्यक लिफ्ट दिने क्रममा ब्रेक भने याे पटककाे केन्द्रीय कमिटीको बैठकबाट लागेको छ ।