प्रचण्ड र माधवको साथमा रहेकाहरुले नयाँ ढङ्गले सोच्ने बेला भयो : महासचिव पोखरेल
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई अवसरवादीको संज्ञा दिएका छन् । माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेपछि महासचिव पोखरेलले सामाजिक संजालमार्फत यस्तो टिप्पणी गरेका हुन् ।
उनले लेखेका छन
नेकपा कालमा प्रचण्ड र माधव नेपालले अध्यक्ष कमरेड केपी शर्मा ओलीका विरुद्धमा जे–जे विषय उठाएर विग्रह सिर्जना गरी पार्टी विभाजनमा भूमिका खेखिए समयक्रममा ती सबै विषय छोडेर आफूलाई चरम अवसरवादी भएको प्रमाणित गरे ।
तर पनि प्रचण्ड र माधव नेपालको साथमा रहनेहरु अझै अध्यक्ष ओलीलाई नै समस्या मान्दैछन् । यी तथ्यहरुले अव त सत्यसँग लड्न सकिदैन र हुँदैन भन्ने चेतना उनीहरुमा समेत आउनु पर्ने हो ।
१. जनादेश खण्डित भएको अवस्थामा जनतामा जाने कुरालाई प्रतिगमन भन्ने प्रचण्ड र माधव नेपालले स्थानीय चुनाव अगावै वैशाखमा प्रतिनिधि सभाको चुनाव गर्ने प्रस्ताव राखे । तर उनीहरुको प्रस्ताव एमाले र नेपाली कांग्रेस दुबैले अस्वीकार गरे ।
२. ४० प्रतिशत संसदीय दलका सदस्य भए दल विभाजन गर्न पाउनेगरी ल्याएको अध्यादेशको विरोध गरे । नेपाली कांग्रेस समेतको विरोध भएपछि अध्यादेश फिर्ता गरियो । तर, पछि २० प्रतिशतले नै दल विभाजन गर्न पाउने गरी अध्यादेश जारी गरे । एमाले पार्टीको विभाजनसँगै उक्त अध्यादेश फिर्ता लिए ।
३. पार्टी एकताका लागि प्रम र पार्टी अध्यक्षमध्ये एक पद छोड्नु पर्ने मागसहित एक व्यक्ति एक पदको कुरा गरे । तर, पार्टी विभाजनपछि प्रचण्ड र माधव नेपाल दुबै आफैले अघि सारेको मान्यताविपरीत पार्टी र दलका नेता बन्न पुगे ।
४. नेकपा कालमा सभामुखमार्फत संसदमा एमसीसी टेबल गर्नमा रोक लगाए । तर नेपाली कांग्रेस दबाब दिने वित्तिकै सभामुखमार्फत संसदमा टेवल गर्न लगाए ।
५. एमसीसीमार्फत सहायता पाउनका लागि आफू सरकारमा रहँदा पत्राचार गरे । सरकारमै रहेका वेलामा सम्झौता समेत गरे । तर, एमसीसी राष्ट्रघाती सम्झौता हो भन्दै कार्यदल बनाउनेदेखि सडक आन्दोलन गर्नेसम्मको रमिता देखाए । तर, अहिले सत्ताबाट बाहिरिने त्रास बढेपछि एमसीसी पास गर्न तयार भए ।
६. नेकपा गठनपछि आफैले छोडेको र पार्टीले अस्वीकार गरेको आलोपालोको कुरा गरेर आफ्नै पार्टीको नेतृत्वको सरकार ढाल्ने अनुचित काममा लागे । तर, पछि सरकारमा आफ्नो नेतृत्वको दाबी छोडेर संसदमा आफ्नो हाराहारीमा रहेको नेकांको नेतृत्वको सरकारमा निःशर्त सहभागी भए ।
७. नेकपा कालमा सबै सूचकहरुले सरकारको काम राम्रो रहेको देखिदा देखिदै पनि सरकारले कुनै राम्रो काम गर्न नसकेको आरोप लगाएर नेतृत्वको विरोध गरे । तर अहिलेको गठवन्धन सरकारले अर्थतन्त्र नै तहसनहस बनाउदा पनि चुप लागेर सरकारको प्रतिरक्षा गरिरहेका छन् ।
८. माधव नेपालले सदैव आफूलाई विधि र पद्धतीको पक्षमा रहेको दाबी गरे । तर अन्तमा नेपालको संसदीय इतिहासमा सबैभन्दा धेरै विधि र पद्धति उल्लंघन गर्ने नेताका रुपमा आफूलाई प्रस्तुत गरे ।
९. अदालतमा सेटिङको आरोप केपी शर्मा ओलीमाथि लगाउने काम गरे । तर, अदालतमा चलिरहेको आन्दोलनका क्रममा परमादेशी सरकार नै सेटिङबाट निर्माण भएको पुष्टि हुन पुग्यो । अनि अदालतमा विचाराधिन मुद्दा र स्थानीय निर्वाचन सार्नका लागि प्रधान न्यायाधिस माथि महाभियोग लगाउने काम गरे । निर्वाचन रोक्ने उद्देश्यले मुद्दा दर्ता गर्न लगाए ।
१०. नेकपाको रक्षा आफ्नो नेतृत्वमा मात्र सम्भव हुने कुरा गरे । एकताको मर्म र भावनाविपरीत महाधिवेशनको सम्प्रभुतालाई समेत कुल्चदै केपी शर्मा ओलीलाई अध्यक्ष, दलको नेता र पार्टीको साधारण सदस्यबाट समेत हटाए । तर, अदालतमा नेकपाको नाममा विचाराधीन मुद्दामा ऋषि कट्टेलका पक्षमा फैसला भएपछि एकताको कुरा गर्न नै छोडे । यतिवेला माधव नेपाल र प्रचण्ड दुवै अलग–अलग पार्टीको मुखिया बन्न पुगेका छन् ।
११. हिजो नेकपा भएको समयमा केपी ओलीको नेतृत्वमा रहेर चुनावमा जानै नसकिने अवस्था छ भनेर भ्रम सृजना गरे । तर आज केपी ओलीको नेतृत्वको पार्टीलाई हराउन पाँच दलीय गठवन्धन अपरिहार्य रहेको बताउन थालेका छन् । चुनवामा जान खुट्टा कमाइ रहेका छन् ।
१२. नेकपा भङ्ग भएपछि नेकपा (एमाले)सँग कुनै प्रकारको सहकार्य गर्न सकिदैन भन्दै घृणाको राजनीति गरे । जब एमसीसी प्रकरणमा नेपाली कांग्रेसले सरकारबाट हटाउने कुरा गर्न थाल्यो तव नेकपा (एमाले)सँग वामपन्थी सहकार्यको प्रस्ताव राख्न पुगे ।
यी तथ्यहरूले विगतमा अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा लगाइएका सबै आरोपहरु कुण्ठाग्रस्त मानसिकताका उपज थिए । अनि उनीहरू दुवैबाट सञ्चालित अभियानहरु सत्ता स्वार्थबाट प्रेरित दक्षिणपन्थी अवसरवादमा आधारित अभियान थिए भन्ने पुष्टि हुँदै गएको छ । यस्तो अवस्थामा प्रचण्ड र माधव नेपालको साथमा रहेकाहरुले नयाँ ढङ्गले सोच्ने बेला भएन र ?