एमसीसीमाथि छलफलमा कुन दलको के छ तयारी ?



 

 

प्रतिनिधिसभाको बैठक आज बस्दैछ।  दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुनेछ। संसद् सचिवालयका अनुसार आजको सम्भावित कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेस हुने उल्लेख छ। सो प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने छन्।

फागुन ८ गते आइतबार एमसिसी सदनमा टेबल भएको थियो । अर्थमन्त्रीले टेबल गर्ने कार्यसूचीमा राखिएको भए पनि त्यतिबेला उनी अनुपस्थित भएकाले सञ्चार मन्त्रीले प्रस्तुत गरेका थिए। प्रतिनिधिसभाको बैठक अघि, बिहान ११ बजे बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा  एमसीसीलाई कसरी अगाडि बढाउने भन्नेबारे छलफल हुनेछ।

दलहरूबीच एमसीसीका बारेमा साझा धारण बनाउने प्रयास भइरहेको छ। तर सत्तारुढ दलबीच नै यसबारे मत बाझिएको छ। सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस जसरी पनि एमसीसी पास गर्ने रणनीतिमा छ भने सत्तासाझेदार माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) एमसीसीको विपक्षमा छ।

नेपाली कांग्रेसको ह्वीप 

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आजको प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको छ।  कांग्रेस सचेतक पुष्पा भुसालले आफ्ना सबै सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी गरिएको जानकारी दिइन्।

एमसिसीको पक्षमा उभिने लोसपाको निर्णय

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने भएको छ। बुधबार काठमाडौंमा बसेको लोसपा संसदीय दलको बैठकले संसद्‌मा टेबल भएको एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको लोसपा सांसद चन्दा चौधरीले सेतोपाटीलाई जानकारी दिइन्।

‘एमसिसी सरकारले गरेको सम्झौता हो। यसबाट पछाडि हट्दा देशको विश्वसनीयतामाथि प्रश्न उठ्छ’, सांसद चौधरीले भनिन्,‘पहिला नै सम्झौता नगरेको भए एउटा कुरा हुन्थ्यो। सम्झौता गरिसकेपछि त्यसलाई असफल पार्नु हुँदैन भन्ने लोसपाको स्पष्ट धारणा छ।’

उनले लोसपाले एमसिसीको पक्षमा बहस गर्ने र त्यसलाई पारित गर्न सघाउने बताइन्। बिहिबारको बैठकमा सबै सांसदहरूलाई उपस्थित हुन लोसपाले निर्देशनसमेत दिएको छ। प्रतिनिधि सभामा लोसपाका १३ सांसद छन्।

 

नेकपा एमालेको अडान 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीले कारवाही गरेका आफ्ना १४ जना सांसदलाई पदमुक्त नगरेसम्म एमसीसीको प्रक्रियामै भाग नलिने बताएको छ ।  एमालेका महासचिव शंकर पोखरेलले संसदको अवरोध कायमै राख्ने बताउँदै आफ्नो माग पूरा नभएसम्म संसदीय प्रक्रियामै भाग नलिने बताए।

उनले सरकारले एमसिसी पारित गर्न एमालेसँग सहयोग मागेको भए पनि संसदका गतिविधिमा भाग लिन एमालेले राखेका मागहरू सम्बोधन गर्नुपर्ने र माग सम्बोधन नहुँदासम्म एमालेले एमसिसीको विषयमा कुनै धारणा नदिने स्पष्ट पारे।

‘एमालेले कारवाही गरेका १४ जना सांसदहरूलाई सांसद पदबाट नहटाएसम्म एमालेले कुनै पनि धारणा दिँदैन, संसदमा छलफल अगाडि बढाउन पहिले हाम्रा माग सम्बोधन हुनुपर्‍यो, गैरसांसद राखेर संसद चलाउन सकिँदैन,’ पोखरेलले भने ।

उनले सत्तामा सहभागी एउटा पक्षले प्रस्ताव टेबुल गर्ने र अर्को पक्षले सरकारकाविरुद्ध सडकमा ढुंगामुढा गरेर रमिता देखाएको आरोपसमेत लगाएका छन्।

 

माओवादी र एकीकृत समाजवादी विपक्षमा

सत्ता घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने बताएका छन्। माओवादी केन्द्रको स्थायी समिति बैठकले एमसीसीको विपक्षमा उभिने निर्णय गरिसकेको छ।  यस्तै अर्को सत्ता घटक एकीकृत समाजवादी पार्टीले पनि एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। समाजवादीको सचिवालय बैठकले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ।

 

जसपाले भोलि निर्णय गर्ने

सत्ता साझेदार अर्को दल जनता समाजवादी पार्टीले भोलि एमसिसीबारे औपचारिक धारणा राख्ने भएको छ । पार्टीभित्र अध्यक्ष उपेन्द्र यादवले प्रचण्डलाई साथ दिएका छन् भने बाबुराम भट्टराई एमसिसी पास गर्नुपर्ने बताउँदै आएका छन् ।

पार्टी भित्रै विभाजित भएपछि भोलि एमसिसीबारे पार्टीको आधिकारिक धारणा बनाउन कार्याकारिणी समितिको बैठक डाकिएको छ । जसपाका प्रमुख सचेतक प्रमोद साहका अनुसार भोलि बस्ने कार्यकारिणी बैठकले निर्णय गरेपछि मात्र पार्टीको एमसिसीबारे आधिकारीक धारणा आउँछ, अहिलेसम्म ज-जसले जे बोलिरहनुभएको छ। ती सबै व्यक्तिगत धारणा मात्र हुन् ।

‘एमसिसीमा हामीले अहिलेसम्म निर्णय गरेका छैनौं। संसदमा ल्याउने र दर्ता गर्नेमा पनि हाम्रो भूमिका छैन । अरू पार्टी कसरी अगाडि बढ्छन् भन्ने मुख्य कुरा हो। यसको आधिकारिक धारणा हाम्रो कार्याकारीणी बैठकले गर्छ’, साहले भने ।

प्रतिक्रिया दिनुहोस
रुकुम पश्चिममा बस दुर्घटना, ९ जना घाइते

    काठमाडौंबाट राडीतर्फ आउँदै गरेको बस रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-११ रिठामा दुर्घटना

हामीसँग ३२ सीटको म्याजिक संख्या छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीसँग ३२ सीटको

एमाले इलामको अध्यक्षमा गणेश बराल निर्वाचित

     नेकपा एमाले इलामको ११ औं जिल्ला अधिवेशनले गणेश बराललाई अध्यक्षमा चयन

जनताको रोजाईको पार्टी एमाले : शंकर पोखरेल

    नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा एमाले जनताको रोजाइको पार्टी