एक उपसचिवको काठमाडाैँमा २२ वटा घर
अर्जुन पाण्डे
सरकारी सेवा सुरु गरेको २२ बर्षमा काठमाडौंमा २२ वटा घर र ८७ स्थानमा जग्गा जोड्न सफल एक सरकारी कर्मचारीको कथाले अहिले सन्जालका समाचार भरिएका छन् । हाल उनको श्रोत नखुलेको अकुत सम्पत्ति देखेर अख्तियारले मुद्धा दायर गरेपछि यो समाचार बाहिर आयो । २०५५ साल वैशाख २७ गतेदेखि शाखा अधिकृतबाट सेवा प्रवेश गरेका दार्चुला शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वर स्थायी घर भएका उपसचिव हेमराज विष्टको यत्रो सम्पत्ति कसरी जम्मा भयो होला ?
यो समाचार गज्जब छ । किन ? किनकी नेपालमा सरकारी सेवामा लागेर यति छिटो यत्रो प्रगति गर्न सकिएको यो नै उच्च उदाहरण हुनुपर्छ । हुनत केही समय अघि पनि यस्तै कथा बाहिरिएको थियो पूर्व अख्तियार आयुक्त महोदयको जसले आफ्नो घर, बैठक सुनका सोफाले सजाएका थिए । तर यहाँ सोच्नेहरुका निम्ति भने धेरै प्रश्नहरु उठेका छन् ।
जस्तैः यस्तो कार्य जीवनको सफलता हो कि विफलता ? त्यस्तै, यो अनुकरणीय हो कि सर्बथा त्याज्य हो ? यि मनुवाले बाइसौं बर्षमा मात्र यत्रो सम्पत्ति जोडेका होलान् कि अघिल्ला बर्षहरुदेखि नै यस्तो गरेका हुन् ? स्पष्ट अनुमान गर्न सकिन्छ उनले एकै दिनमा वा एकै बर्षमा यो प्रगति गरेका होइनन् ।
केहि बर्षदेखि नै उनी यो महायज्ञमा धोति फेरेर लागेका थिए र विस्तारै जोड्दै गएका हुन् । अर्को कुरा, यो कदाचित सफलता होइन यो विफलता पनि होइन यो अपराध हो । संसारमा यस्तो अपराध गर्नेलाई पछाडी फर्कन लगाएर लहरै गोलीले हानेर खाल्टोमा ढालेका भिडियो फाइल र उदाहरण खोज्न टाढा जानै पर्दैन, छिमेक मै छ ।
तर हाम्रो समाज, सरकार, न्यायालय यस्ता कर्मलाई अपराध मान्दैन मानिहाल्यो भने पन हल्का लाठीचार्ज गरेर्झै गर्छ । बरु उसैको वरिपरि भुनभुन गर्छ । बस, फेरी प्रश्न गरौंः त्यसो भए आज बाइस बर्ष आइपुग्दासम्म ती कर्मचारिका उद्योग किन कसैले देखेनन् ? थाहा पाएनन् त ? कि थाहा नपाए झैं गरेका हुन् ? किनकी यो देशमा यो अवधिमा बेथिति, कुरीति, अनियमितता, भ्रष्टाचार आदिकाविरुद्ध झण्डा, डण्डा लिएर लड्नेदेखि बन्दुक बम लिएर लड्नेहरु सरकारमा थिए र छन् ।
यहाँ कुनै बेला लुकेर तास खेल्ने बेरोजगार, उरन्ठेउला केटाहरुलाई समातेर चौतारामा ल्याएर सबैका सामु तास कोचाइएका कथाहरु छन् । दुई हजार घुस खानेलाई कालो मोसो दलिएका फोटाहरु अझै सन्जालमा ताजै छन् । तर यतिका बर्षसम्म एउटा कर्मचारीले यत्तीका उधुम मच्चाउन्जेल तिनले किन सुइँकोसम्म पाएनन् ? थाहा नपाएका होइनन् । थाहा नपाएको स्वांग गरेका हुन् सबैले । किनकी उनले त्यो महायज्ञको प्रसाद सबैलाई अविरल बाँडे र बाड्दै रहे । मुल भाग चाहिँ आफैँले बुत्याए ।
कुनै पनि सुकर्म होसे वा कुकर्म, त्यसको आयु हुन्छ, घडा भरिन्छ । आज त्यो भरियो । भएको त्यत्ति हो । नेपाल जस्तो देशमा यस्तो कर्मलाई बहिर बाहिर कुकर्म मानिए पनि सुकर्म मानेर पाइला पच्छ्याउनेको कमी छैन । एक पछि अर्को देखिएकै छ, सुनिएकै छ । हल्का लाठीचार्जमा पर्नेहरु एकछिन टाउको सुमुसुम्याए झैं गरे पनि फेरी सुनका सोफामा बस्न आएकै छन् ।
तसर्थ अब नेपाली समाज र समाजका सदस्यहरुले सामाजिक मूल्य, मान्यता र विश्वासलाई पूनर्मूल्यांकन गर्ने दिन आइसकेको छ । यदि यसो नगर्ने हो भने बेथितिको अन्त कहाँ पुगेर हुने हो यकिन गर्न गाह्रो छ । तर विडम्बना, यहाँ जो समाज बदल्ने कुरा गर्छ, कम्तिमा उ आफु चाहिँ बदलिन तैयार छैन । केवल अरुलाई बदल्न चाहन्छ । अब त्यस्ता मानिसको समाजमा खाँचो छ जो अरुलाइ नबदलोस् बरु आफै बदलिएर अरुलालाई देखाओस् । यत्ति भए पुग्छ ।
लेखक पाण्डे पर्यटन व्यवसायी हुन ।