सुदूरपश्चिममा बाढी-पहिरोले १४ जनाको मृत्यु, २८ बेपत्ता



हाम्रो इकोनोमि

 

 

आइतबारदेखिको अविरल वर्षाका कारण बाढी र पहिरोमा परि सुदूरपश्चिममा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ । लगातारको वर्षासँगै आएको बाढी–पहिरोमा परी डोटीमा ९ जना, बैतडीमा तीन जना र र डडेलधुरामा दुई जनाले ज्यान गुमाएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा डोटी शिखर नगरपालिका–११ की अन्दाजी ३६ वर्षीया मन्दरा बलायर, जोरायल गाउँपालिका–३ का अन्दाजी ६३ वर्षीय जोगी सार्की, सोही गाउँपालिका–४ का अन्दाजी ४२ का शेरबहादुर विक, १८ वर्षीय मोहन विक, १३ वर्षीया पवित्रा विक, १६ वर्षीय रविन विक छन् । डोटीकै सायल गाउँपालिका–६ मेल्लेखमा पहिरो गई १५ वर्षीय सागर कुन्जेडा र ११ वर्षका आशिष कुन्जेडाको पनि मृत्यु भएको छ ।

शिखर नगरपालिका वडा नं ११ की ३५ वर्षीया मन्दरा बलायरको उपचारका क्रममा मृत्यु भएको छ । पहिरोबाट खसेको ढुंगा टाउकोमा लागेर घाइते भएकी बलायरलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

बैतडीको शिवनाथ गाउँपालिका–६ मा घर माथिबाट खसेको पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की उनका २४ वर्षीया श्रीमान भानु पार्की तथा तीन वर्षीया छोरी सोम पार्की रहेको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दले जानकारी दिइन् ।डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ भात्काडाका विष्णु अवस्थी र ६५ वर्षीया नरपति शाहीको मृत्यु भएको छ ।

पहिरोमा २३ जना बेपत्ता

बझाङमा तीन दिनदेखि परेको अविरल वर्षासँगै गएको पहिरो परि २३ जना बेपत्ता छन् । थलारा गाउँपालिका–४ को डिख्लामा मंगलबार बिहान पहिरो जाँदा चार परिवारका २३ जना बेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनकारी दिएको छ ।

बेपत्ता हुनेमा उजली पार्की, हासु पार्की, आयुश पार्की, हिमा पार्की , सिमा पार्की, हर्क सार्की , धनगिरि सार्की, सिता सार्की, प्रभा सार्की, भूमिका सार्की, ईस्वरा देवी सार्की, सञ्जीव सार्की, शर्मिला सार्की, सुवास सार्की, विकास सार्की, मिकेस सार्की, मदन सार्की, कलु सार्की, एलिसा सार्की, कम्मा सार्की, सबिना सार्की, सरोज सार्की र सिम्जिबी सार्की रहेका छन् ।

बाढीमा पाँच जना बेपत्ता

बाढीमा परेर कैलालीमा चार जना र डोटीमा एक जना गरी पाँच जना बेपत्ता छन् । कैलालीका गणेश आउजी, खडकबहादुर घर्तीमगर, विक्रम घर्तीमगर, खडक रानामगर रहेका छन् भने डोटीमा बिरे रोकाया बेपत्ता भएका छन् । उनीहरूको खोजी कार्य भइरहेको छ ।

६२ जना उद्धारको पखाईमा

बैतडीको सिगास गाउँपालिकास्थित ढुंगाड बस्तीभित्र सेती नदीको बाढी पसेपछि ६० जना उद्दारको पर्खाइमा बसिरहेका छन् । सोमबार राति १० बजेदेखि नै उद्दारको पर्खाइमा बसेका उनीहरूले जतिसक्दो छिटो उद्धार गरिदिन आग्रह गरेका छन् ।

मंगलवार उनीहरूको उद्धार गर्ने तयारी भए पनि मौसम प्रतिकुल बन्दा सम्भव भएन । बुधवार बिहानै उनीहरूलाई उद्धार गर्न नेपाली सेनासँग समन्वय भइरहेको सुदूरपश्चिम प्रदेश सरकारकी प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।

‘पहिलो चरणमा हामी त्यहाँ हेलिकप्टर पठाएर उद्धार गर्ने विषयमा नेपाली सेनासँग समन्वय गरिरहेका छौं,’ उनले भनिन् ‘कैलालीमा पनि दुई जनाको उद्धार गर्नुपर्ने छ । ’ कैलालीको मोहन्याल गाउँपालिका–४, खिमडीका ५० वर्षीय लोकबहादुर बुढामगर र उनकी पत्नी ४७ वर्षीया विर्मादेवी बुढामगर फसेका छन् ।

प्रतिक्रिया दिनुहोस
इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...

तोलामा १२ हजार ५ सय रुपैयाँ घट्यो सुनको भाउ

    आइतबार एकैदिन सुनको भाउ तोलामा १२ हजार ५ सय रुपैयाँ घटेको...

लिपुलेकबाट व्यापार सुरु गर्दै भारत-चीन

    नेपालले आफ्नो नक्सामा समावेश गरेको लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीनले...