ईश्वर पोखरेलले नै बुझेनन् बढुवा भइयो कि घटुवा



हाम्रो इकोनोमि

 

रक्षामन्त्रीको जिम्मेवारी खोसेर ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय’ मा खटाइएका उपप्रधानमन्त्री ईश्वर पोखरेलको इमान–इज्जतमा बढोत्तरी भएको हो रु वा उनी किनारामा धकेलिएका हुन् रु बुधबारको मन्त्रिपरिषद हेरफेरपछि यो प्रश्न चर्चाको शिखरमा छ । मन्त्रिपरिषदको कार्यविभाजनसम्बन्धी राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्ति अनुसार ईश्वर पोखरेलको कार्यविभाजन भनेको ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय’ हो ।

पोखरेलको कार्यविभाजनमा ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय’ भनिए पनि उनले गर्ने काम र च्याम्बरको विायमा स्पष्ट छैन । तर, केचाहिँ स्पष्टै छ भने पोखरेलले सम्हाल्दै आएको शक्तिशाली रक्षा मन्त्रालयको जिम्मेवारी उनीबाट खोसेर प्रधानमन्त्रीले आफैं राखेका छन् । अब पोखरेलले रक्षामन्त्रीको कुर्सीमा बस्न मिल्दैन ।

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा पोखरेलको कार्यविभाजन ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय’ मात्र भनिए पनि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अर्कै वाक्यांश प्रयोग गर्दै ईश्वर पोखरेललाई बढुवा पाएजसरी बधाइ दिएका छन् ।

मुख्यमन्त्री पोखरेलले उपप्रधानमन्त्री पोखरेललाई बधाई दिँदै भनेका छन्, ‘उप्रधानमन्त्री तथा मन्त्रिपरिषदको समग्र कामको संयोजन गर्ने नयाँ जिम्मेवारी प्राप्त गर्नुभएकोमा कमरेड ईश्वर पोखरेललाई हार्दिक बधाई । तपाईको भूमिकाबाट सरकारको समग्र काम थप प्रभावकारी हुने विश्वाससहित शुभकामना ।’

मुख्यमन्त्री पोखरेलले उपप्रधानमन्त्री पोखरेलको भूमिकालाई ‘मन्त्रिपरिषदको समग्र कामको संयोजन गर्ने’ जिम्मेवारीका रुपमा व्याख्या गरेपछि नेकपाका कतिपय नेता–कार्यकर्ताले ईश्वर पोखरेललाई बधाई दिँदै ‘मन्त्रिपरिषदको समग्र कामको संयोजन गर्ने’ अहम जिम्मेवारी पाएको बताइरहेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्ने ईश्वर पोखरेलको जिम्मेवारीलाई कतिपयले छायाँ प्रधानमन्त्री वा भावी प्रधानमन्त्रीका रुपमा समेत चर्चा गरेका छन् ।

तर, हामीले के भुल्न हुँदैन भने ०६७ सालमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले मन्त्री घनश्याम भुसाललाई पनि ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्ने’ जिम्मेवारी दिएका थिए । अहिले ईश्वर पोरखेलले पाएको जिम्मेवारी ०४७ सालमा भुसालले पाएकै जिम्मेवारी हो । भुसालको त्यो जिम्मेवारीलाई ‘छायाँ प्रधानमन्त्री’ का रुपमा नभएर ‘जगेडा मन्त्री’ वा ‘विनाविभागीय’ मन्त्रीका रुपमा हेरिएको थियो ।

खनालको मन्त्रिपरिषदमा सुरुमा भुसाललाई विनाविभागीय मन्त्री बनाइएको थियो, पछि उनको जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्ने गरी तोकियो ।

क्याबिनेटमा त्यस्तै अर्को राजनीति नजिर पनि छ । ०७४ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ६४ सदस्यीय जम्बो मन्त्रिमण्डल बनाउँदा कृष्णबहादुर महरालाई विनाविभागीय उपप्रधानमन्त्री बनाएका थिए । त्यसबेला महरालाई छायाँ प्रधानमन्त्रीका रुपमा व्याख्या गरिएन ।

पोखरेल आफैं अलमलमा !

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गरेको मन्त्रिपरिषद हेरफेरमा उपप्रधानमन्त्री पोखरेलको रक्षामन्त्री पद खोसिएको प्रष्टै छ । र, कार्यविभाजनमा ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय’ लेखिएको छ । रक्षामन्त्रालय खोसेर दिइएको प्रधानमन्त्री कार्यालयको जिम्मेवारी सम्मान हो कि मानमर्दन ? यसको भेऊ स्वयं पोखरेलले नै पाएका रहेनछन् भन्ने प्रमाण बुधबार आधारातमा उनले गरेको ट्विटबाट स्पष्ट हुन्छ ।

बुधबार राति ११ बजेर  ८ मिनेट जाँदा उपप्रधानमन्त्री पोखरेलले एउटा ट्विट गरे, जसमा भनिएको छ, ‘विकसित परिस्थिति र घटना–प्रशंगका सम्वन्धमा मानिसहरूका बुझाइ, विश्लेषण र अभिव्यक्ति र टिप्पणी हेर्दै … बुझ्ने कोशिस गर्दै…।’

उपप्रधानमन्त्री पोखरेलको ट्विटमा शर्मिला ठकुरीको प्रश्न छ, ‘म रोउँ कि हासौं ? प्रधानमन्त्री केपी शर्मा ओलीले ईश्वर पोखरेलले निर्वाह गर्दै आएको रक्षा मन्त्रालयको भूमिका खोसेर जगेडामा थन्क्याएका छन् । तर, सबका सब मन्त्रिपरिषदको सम्पूर्ण कामको रेखदेख गर्ने जिम्मा पाएको भनेर धमाधम बधाई दिइरहेका छन् । मेरो बुझाइमा कमजोरी हो कि अरुको ?’

प्रधानमन्त्रीले रक्षा मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेको र, उपप्रधानमन्त्री पोखरेललाई चाहिँ ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय’ जिम्मा पाएको चर्चाबारे रोचक व्यंग्य गर्दै निरञ्जन खनालले ईश्वर पोखरेलको ट्विटमा रिप्लाई दिएका छन्, ‘उपप्रधानमन्त्रीले प्रधानमन्त्री र मन्त्रिपरिषदको कार्यालय हेर्ने, प्रधानमन्त्रीले चाँहि रक्षा मन्त्रालय हेर्ने । आश्चर्य ?’

रक्षा मन्त्रालयबाट निस्केर कहाँ बस्लान् पोखरेल ?

राजनीतिक मामिलाका जानकारहरुका अनुसार प्रधानमन्त्रीय प्रणालीमा ‘मन्त्रिपरिषदको समग्र कामको संयोजन गर्ने’ काम प्रधानमन्त्रीबाटै हुन्छ ।

यसबाहेक, उपप्रधानमन्त्री पद भनेको आफैंमा कुनै ठोस जिम्मेवारी होइन । त्यसैले उपप्रधानमन्त्रीले कुनै न कुनै मन्त्रालयलाई आफ्नो च्याम्बर बनाउँछ र प्रधानमन्त्री विदेश गएका बेलामा वा विदामा रहेका बेला बरिष्ठतम उपप्रधानमन्त्री कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी निर्वाह गर्छ ।

यसबाहेक उपप्रधानमन्त्रीको बेग्लै च्याम्बर हुँदैन ।

उपप्रधानमन्त्रीको बेग्लै च्याम्बर र जिम्मेवारी नहुने भएकैले ईश्वर पोखरेल रक्षामन्त्रीको कुर्सीमा बस्दै आएका थिए, अब उनले त्यो कुर्सीमा बस्न मिल्दैन । अब उनले बस्ने भनेको सूर्य थापा, विष्णु रिमालहरुसँगै हो । भलै उनको हैसियत र सुविधाचाहिँ उपप्रधानमन्त्री सरहको हुनेछ ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...