कृषि राज्यमन्त्रीको भ्रष्टाचार काण्डले संसदमा हंगामा



हाम्रो इकोनोमि

 

 

प्रदेश नम्बर २ का भुमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले भ्रष्टाचारबारे गरेको अडियो वार्तालाप र प्रेस वक्तव्य सदनमा प्रवेश पाएपछि प्रदेशसभाको बैठकले नयाँ मोड लिएको छ ।

बुधबार दिउँसो बसेको प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले उक्त विषयमा जवाफ मागेपछि केही समय बैठक नै अवरुद्ध भएको थियो ।

बैठकको सुरुमै नेकपा सांसद कुन्दन कुश्वाहाले हात उठाएर बोल्न समय मागेका थिए । सभामुख सरोज यादवले आफ्ना कुरा राख्न समय दिएपछि सांसद कुश्वाहाले कृषि राज्यमन्त्रीले पदीय मर्यादा भुलेर तल्लोस्तरको भाषा प्रयोग गरी प्रमुख प्रतिपक्षी दलका प्रदेश अध्यक्षमाथि आधारहीन आरोप लगाएकोमा आपत्ति जनाउदै मुख्यमन्त्रीको धारणा मागेका थिए ।

सांसद कुस्वाहाले भने ‘हाम्रो प्रदेशको कृषि मन्त्रालय र त्यस मातहतका कृषि ज्ञान केन्द्रमा चरम भ्रष्टाचार तथा आर्थिक अनियमितता भएको खबरहरु निरन्तर मिडियामा आएको थियो । राज्यमन्त्री योगेन्द्र यादवले एक पत्रकारसंगको अडियो वार्तालापमा फाईल सदर मन्त्रीले गरेकोले आफु यसमा नफस्ने बताएको छ । यसरी भ्रष्टाचार गरेको कुरा आफै स्वीकार्दा समेत मुख्यमन्त्रीले अहिलेसम्म एक्सन नलिनु आपत्तिजनक हो । सभामुख महोदय, यसमा मुख्यमन्त्रीको अधिकारिक धारणा नआउदा संसद चलन दिदैनौं ।’

लगत्तै नेकपा प्रदेश २ संसदीय दलका सचेतक सुन्दर विश्वकर्माले पनि विज्ञप्तिप्रति आपत्ति जनाए । ‘हामी प्रतिपक्षमा छौँ र त्यहीँ नाताले नेपाल कम्युनिष्ट पार्टीका प्रदेश अध्यक्षले छानबिन हुनुपर्ने कुरा राख्नुभएको थियो । त्यति भन्दैमा मन्त्रीजस्तो गरिमामय पदमा बसेर अराजक तरिकाले बोल्नै नहुने शब्दहरुको प्रयोग गरि राज्यमन्त्री योगेन्द्र यादवले जुन हिसाबले विज्ञप्ति निकालेको छ त्यसको हामी घोर भर्त्सना गर्दछौं’ सचेतक विश्वर्माले भने, ‘यस सम्मानित सदनमार्फत कृषि मन्त्रालय र मातहतका निकायमा भइरहेको भ्रष्टाचारको छानबिन गर्न तथा राज्यमन्त्रीलाई पदबाट बर्खास्त गर्न प्रदेश सरकारसंग जोडदार माग गर्दछौं ।’

त्यसपछि नेकपाका सांसदहरुले आ–आफ्नो ठाउँमा उठे । सचेतक विश्वकर्माले मुख्यमन्त्रीलाई जवाफ दिन सभामुखलाई अनुरोध गरिरहे, सांसदहरुले त्यसमा समर्थन जनाईरहे । पछि सभामुखले भोलि (शुक्रबार) मुख्यमन्त्रीले जवाफ दिने भनेपछि बैठक पुनः सुचारु भएको थियो ।

बैठकपछि संसदबाहिर संचारकर्मीहरुसंग कुरा गर्दै सचेतक विश्वकर्माले मुख्यमन्त्रीको जवाफका लागि भोलिसम्म कुर्ने बताए । उनले भने, ‘सभामुखले भनेका कारण हामीले एक दिन पर्खेर हेर्न भन्यौं तर हामीलाई स्पष्ट जवाफ चाहिन्छ । कृषि मन्त्रालय र मातहतका निकायमा भएको भ्रष्टाचार छानबिन गर्न माग गरेकै कारण निच स्तरको, अपशब्द प्रयोग गरी विज्ञप्ति निकाल्ने राज्यमन्त्रीलाई बर्खास्त मात्र होईन, कानुनी कारवाहीसमेत गरिनुपर्छ । यो हाम्रो स्पष्ट कुरा हो ।’

नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले गत शुक्रवार कोरोना भाइरसको नियन्त्रण एवं रोकथाममा ध्यान दिन आवश्यक भए पनि प्रदेश २ सरकारले कृषिको बजेट आफूखुशी भ्रष्टाचार गर्नेमा ध्यान केन्द्रीत गरेको आरोप लगाएका थिए ।

उनले यसका लागि यथेष्ट प्रमाण देखिएकोले छानबिन गर्न माग गरेका थिए । पछि कृषि राज्यमन्त्री योगेन्द्र यादवले अध्यक्ष साहलाई गाली गर्दै विज्ञप्ति लिकालेका थिए । कृषि मन्त्री शैलेन्द्र साहले भ्रष्टाचार गरेको र आफू चाहेर पनि नफस्ने दाबी गरिएको राज्यमन्त्री यादवको अडियो पनि लिक भएपछि यस विषयले सबैको ध्यान केन्द्रित गरेको छ ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...