झलनाथले भने पश्चिमाले तराई टुक्राउन खोजे, अब हामी चुप बस्नु हुन्न्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले नेपालको कम्युनिष्ट आन्दोलनका लागि चुनौतीको शिखर सगरमाथाभन्दा अग्लो रहेको बताएका छन् ।
शनिबार सचिवालयको बैठक बहिस्कार गरेका खनालले आइतबार नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा भने, ‘टुप्पीमा बसेका एउटा नेताले भर्खरै एउटा बैठकमा के उद्गार गर्नुभयो भने नेकपा भनेको कुनै आइडोलोजिकल पार्टी होइन ।’
खनालले थपे, ‘उसो भए महन्थको पार्टी र नेकपामा के फरक भयो ? कम्युनिस्ट पार्टी भनेको आइडोलोजिकल, सैद्धान्तिक र दार्शनिक पार्टी पनि हो, राजनीतिक पार्टी मात्र होइन ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले यो सरकार डुब्यो भने नेकपा पनि डुब्ने चेतावनी दिए । उनले सरकारको काम राम्रो नभएकाले पुनर्निर्माण गरेर अगाडि बढ्नुपर्ने धारणा राखे ।
‘पश्चिमाले तराई टुक्राउन खोजे’
नेता खनालले चुनाव खर्चिलो बन्दै गएको भन्दै समाजवादी समाजवादी बाटोतर्फ लैजान सरकारलाई सुझाव दिए । साथै खनालले राष्ट्रियता कमजोर बन्दै गएको बताए । सरकारले समेत थाहा नपाउने गरी गुप्त सम्मेलनहरु भइरहेको खनालले बताए । पश्चिमा शक्तिले तराई टुक्राउन खोजिरहेको भन्दै खनालले त्यसतर्फ पनि सचेत रहनुपर्ने बताए ।
हिजो मात्रै हाम्रो बैठक रोगीका कारण सर्यो रे । एउटा रोगी आएछ । खनालले भने, ‘कहिलेकाँही ३ बजे भनेर बोलाइन्छ, ६ बजे सुरु हुन्छ । आज पनि यस्तै हो कि भनेर हामी हिँड्यौं । तहल्का मच्चियो ।’
झलनाथले भने यही ताल हो भने नेकपा समाप्त हुन्छ
नेकपा सचिवालय सदस्य झलनाथ खनालले नेतृत्वकै अनिच्छाका कारण केन्द्रीय कमिटि बैठक बस्न ढिलाई भएको बताउनुभएको छ । पाटी र सरकारको समिक्षा गर्नका लागि केन्द्रिय कमिटिको बैठक बोलाउन पटक पटक आह्वान गरेपनि नेतृत्वले सो बिषयमा अनिच्छा देखाएको नेता खनालको आरोप छ ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका खनालले तत्काल केन्द्रिय कमिटि र सचिवालय बैठक बसेर सरकार र पाटीको भुमिकाको समिक्षा गर्नुपर्ने बताउनुभयो । नेता खनालले केन्द्रीय कमिटीको बैठक नबस्दा आन्तरिक किचलो बढ्दै गएको बताउँदै नेतृत्वको मनपरीले पार्टी धरासायी बन्ने खतरा रहेको औल्याउनुभयो ।
यता, नेकपाको केन्द्रीय सदस्यको कार्यविभाजनमा समेत अन्यौलमा छाएको छ । मुख्य नेतृत्व जिम्मेवारी दिने बिषयमा सक्रिय नबन्दा समस्या आएको नेकपाका असन्तुष्ट नेताहरुको आरोप छ । पार्टी एकताको करिब ७ महिना पुग्नै लाग्दा समेत केन्द्रीय सदस्य जिम्मेवारी विहिन बनेर बसेका छन् ।
प्रधानमन्त्रीको कार्यालयमा अब ‘एक्सन रुम’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय गौरवका आयोजनाको अनलाइन अनुगमन गर्नका लागि ‘एक्सन रुम’ बनाउने प्रक्रिया शुरु गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाको अनुगमन र प्रदेशमा मुख्यमन्त्रीसँग भिडियो संवाद गर्नका लागि विशेष कक्ष (एक्सन रुम) बनाउने प्रक्रिया शुरु गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका प्रवक्ता विनोदकुमार कुँवरले जानकारी दिए ।
उनले ‘एक्सन रुम’ निर्माण गर्नका लागि दुई वटा कम्पनीले प्रस्ताव आह्वान गरेका छन् । मंगलबारसम्म एक्सन रुमका लागि प्रस्ताव आह्वान गरिएको थियो । नेपालमा त्यस्ता रुम बनाउनका लागि दुई वटा मात्र कम्पनी रहेकाले ती दुवैले प्रस्ताव पेश गरेको छन् ।
अहिले प्रस्तावको प्राविधिक पक्षबारे अध्ययन भइरहेको प्रवक्ता कुँवरले जानकारी गराए । कक्ष निर्माणका लागि कम्पनीको छनोट गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव यमलाल भुसालको संयोजकत्वमा समिति गठन गरिएको छ ।
उक्त समितिले कक्ष निर्माणका लागि कम्पनीको प्रस्ताव हेरेर स्वीकृत गरेपछि निर्माण प्रक्रिया शुरु हुने उनले जानकारी गराए । उनका अनुसार एक हप्ताभित्र ती दुईमध्ये एक कम्पनीलाई छनोट गरिसक्ने र छनोट गरिएको चार हप्ताभित्र उक्त रुम बनाइसकिने छ ।
प्रधानमन्त्री कार्यालयको दोस्रो तलामा उक्त कक्ष बनाइने तयारी रहेको छ । प्रधानमन्त्री कार्यालयको एक्सन रुमको साथै आयोजना स्थान र प्रदेश मुख्यमन्त्रीको कार्यालयमा समेत उक्त यन्त्र जडान गरिने छ ।
कक्षमा जडान गरिएका यन्त्रमार्फत प्रधानमन्त्री ओलीले सिधै राष्ट्रिय गौरवका ११ आयोजनाको अनलाइन अनुगमन गर्नेछन् । ‘एक्सन रुमबाट प्रधानमन्त्रीले सिधै आयोजनाको काम के भइरहेको छ भनेर अनुगमन गर्न सक्नु हुनेछ’, उनले भने, ‘आयोजनाको प्रगति हेरेर प्रधानमन्त्रीले निर्देशन दिनु हुनेछ ।’
यसैगरी प्रदेश सरकारसँग समन्वय गर्नका लागि प्रधानमन्त्री ओलीले उक्त एक्सन रुमबाट नै प्रदेश मुख्यमन्त्रीसँग भिडियो संवाद गर्ने जनाइएको छ ।
‘प्रधानमन्त्रीले प्रदेश मुख्यमन्त्रीसँग निरन्तर मुलुकको विकासका लागि संवाद गर्नुपर्ने हुन्छ’, उनले भने, ‘प्रधानमन्त्रीलाई भेट्न सधैँ प्रदेश मुख्यमन्त्री काठमाडौँ आउन नपरोस् भन्नका लागि एक्सन रुमबाटै नै सिधै प्रधानमन्त्रीले मुख्यमन्त्रीसँग भिडियो संवाद गर्नु हुनेछ ।’