यस्तो बन्दैछ धरहरा, १० रेक्टर स्केलको भुकम्पले पनि हल्लाउन सक्दैन, २ बर्षभित्रै सम्पन्न हुने
४३ महिना अघि ढलेको धरहरा उठाउने तयारी थालिएको छ । लामो समयसम्मको विवाद र राजनैतिक खिचातानिका कारण बेबारिसे बनेको धरहरालाई आगामी २ बर्षभित्रै सम्पन्न गर्ने गरी तिब्र रुपमा काम पनि शुरु गरिएको छ । तर सरकारले निर्माण क्षेत्रको ‘साइट क्लियरेन्स’ नगर्दा निर्माण कम्पनीलाई काम गर्न असजिलो परेको छ ।
भुकम्प गएको ४३ महिनापछि धरहरा पुनर्निर्माणले गति पाएको हो । साढे ३ बर्षसम्मको अन्योलता र राजनैतिक खिचातनीका कारण धरहरण पुनर्निर्माणले गति पाएको थिएन् । कहिले जग्गा समस्या त कहिले कुन मोडलमा बनाउने भन्ने विवादका कारण लामो समय धरहरा पुनर्निमाणले कार्य रोकिन पुगेको थियो ।
ढिलागरी धरहरा पुनर्निर्माण शुरु भएपनि समस्या भने यथावत् छ । जीआईटीसी रमन ज्वाइन्ट भेन्चरले एक साता अघिदेखि पुनर्निर्माण शुरु गरेपनि स्थानीय र सरकारको स्वामित्वमा रहेको दुई निकायको भवन खाली नहुँदा निर्माणमा केही समस्या देखिएको हो ।
निर्माण कम्पनीले स्थानीयसँग छलफल प्रारम्भ गरी समस्या समाधानको बाटो निकालेको जनाएको छ । तर स्थानीयले परम्परादेखि चल्दै आएको जात्रामा हिँड्ने स्थान खाली गर्न माग गर्दै आएका छन् । निर्माण कम्पनीका निर्देशक रमन महतोले सरकारले काम गर्न इजाजत दिए पनि समस्या यथावत् रहेको जानकारी दिए ।
‘टक्सार विभाग र हुलाक सेवा विभाग भवन स्थानान्तरण नगरेसम्म काम गर्न समस्या परेको छ ।’ उनि भन्छन्, ‘सरकारको सहयोग आवश्यकता परेको छ । साइट खुला नभएका कारण तिब्र रुपमा काम गर्न असजिलो हुन थालेको छ ।’ उनका अनुसार निर्माणमा प्रयोग हुने हेभी मेशीनहरु निर्माणस्थलमा लैजान सकिएको छैन् । जसका कारण निर्माण ढिला भएको छ ।
टक्सार विभाग र हुलाक सेवा विभागको भवन बाधक
कुल ४२ रोपनी क्षेत्रफलमा निर्माण गर्नुपर्ने धरहराको २८ रोपनी जग्गामा दुई निकाय रहेकाले ती निकायको भवन खाली नभएसम्म निर्माण गर्न समस्या छ । २२ तले धरहराको अन्डरग्राउन्ड निर्माण गर्न अनिवार्य रुपमा दुई भवन हटाउनै पर्छ । दुवै निकायले १४–१४ रोपनी क्षेत्रफल ओगटेको छ । तर सरकारले ती दुई निकायलाई कहाँ स्थानान्तरण गर्ने भन्ने विषयमा निर्णय गर्न सकेको छैन ।
तर पुनर्निर्माण प्राधिकरणले सो कम्पनीलाई काम गर्ने अधिकार दिए लगत्तै पुनर्निर्माणको शुरु भएको हो । धरहराको बीच सुन्धारा र खिचापोखरीमा वितरण गर्ने मुख्य पोल बीच भागमा रहेकाले काम गर्न समस्या परेको छ । प्राधिकरणका सम्पदा संरक्षण विभाग प्रमुख पूर्व सहसचिव राजुमान मानन्धरले आधुनिक धरहरा पुनर्निर्माणको काम शुरु भइसकेको जानकारी दिए ।
२ बर्षभित्रै सम्पन्न गर्ने लक्ष्य
समस्या समाधान गर्ने विषयमा सम्बन्धित निकायले संयोजन गर्नुपर्ने अवस्थामा ठोस काम हुन नसकेको निर्माण कम्पनीको भनाइ छ । अहिले निर्माण सामग्री व्यवस्थापन गर्न टुँडिखेलको दक्षिणी क्षेत्र उपलब्ध गराइसकेको छ । टक्सार र हुलाक विभाग कार्यालय स्थानान्तरण गर्ने विषयमा सरकारले निर्णय गर्नुपर्ने प्राधिकरणको तर्क छ । ‘दुई वर्षमा सम्पन्न गर्ने गरी ३ अर्ब ४८ करोड रुपैयाँको लागतमा निर्माण कम्पनीलाई जिम्मा दिइएको छ ।’ पूर्व सहसचिव मानन्धरले भने, ‘स्थानीय र अन्य कारणबाट कुनै अवरोध नभएमा दुई वर्षमै सम्पन्न गर्ने हाम्रो लक्ष्य छ ।
आधुनिक निर्माण सामग्री र नयाँ प्रविधि प्रयोग गरी निर्माण गर्न लागेको आधुनिक धरहरा २२ तले हुनेछ । धरहराको लम्बाई गजुरसहित ७९ मिटर अग्लो हुनेछ । तर २२ तले भए पनि नयाँ धरहराको उचाइ भूकम्पले ढल्नुअघिको जत्रै हुनेछ । २०७२ वैशाख १२ गतेको भूकम्पले ढलाएर बाँकी रहेको धरहराको हालको ठुटो टेम्पर ग्लासले छोपेर प्रदर्शनीको लागि राखिनेछ ।
‘मेरो धरहरा, म बनाउँछु’ अभियानबाट २४ करोड संकलन
भूकम्पबाट भत्किएको ऐतिहासिक धरहरा आम नागरिकहरूको सहयोगबाट पुनर्निर्माण गर्ने भन्दै सरकारले शुरु ‘मेरो धरहराः म बनाउँछु’ अभियानबाट २४ करोड रकम संकलन भइसकेको छ । पहिलोपटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा यो अभियान उनैले शुरु गरेका हुन् ।
२०७२ वैशाख १२ को भूकम्पले ढलेर बाँकी रहेको धरहराको छेउमा उभिएर प्रधानमन्त्री ओलीले ‘ऐतिहासिक धरोहर पुनर्निर्माण संकल्प’ अन्तर्गत ‘मेरो धरहरा, म बनाउँछु’ अभियान थालेका थिए । उनले धरहरा निर्माण अभियानमा सहयोग गर्न मुलुकभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीलाई आह्वान समेत गरेका थिए । सोही अनुरुप उक्त अभियानबाट २४ करोड रकम संकलन भएको प्राधिकरणका पूर्व सहसचिव मानन्धरको भनाई छ ।


