निर्मला हत्या प्रकरण : दुई अभियुक्तले स्विकारे आरोप, के भने सोधपुछमा ?



हाम्रो इकोनोमि

 

निर्मला पन्तको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्तले अपराध स्वीकार गरेका छन् । सामूहिक बलात्कारपछि निर्मलाको हत्या गरेको उनीहरूले सोधपुछमा बताएका छन् । प्रदीप रावल र विशाल चौधरीले अपराध स्वीकार गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) स्रोतले बतायो ।

 

महेन्द्रनगर–१८ भगतपुरका उनीहरू दुवै साथी हुन् । दुवै लागुऔषध सेवन गर्थे । उनीहरूबारे संकलन भएका विभिन्न प्रमाणले निर्मलाको बलात्कार र हत्यामा संलग्नताको बलियो आधार देखाएको अधिकारीहरू बताउँछन् । तर, डिएनए रिपोर्ट नै निर्णायक हुने उनीहरूको भनाइ छ ।

 

के भने सोधपुछमा ?
पक्राउ परेका प्रदीपले निर्मलालाई आफूले पहिले नै चिनेको बताएका छन् । त्यो दिन बाटोमा आफूले निर्मलालाई साइकलको चेन बनाइरहेको अवस्थामा भेटेको र गफ गर्न भन्दै उनलाई कर गरेर खोलापारि लगेको बताएका छन् । साथी विशाल चौधरी पनि लागुऔषध सेवनका लागि आसपासमै रहेको र आफूले निर्मलालाई लिएर गएको देखेपछि पछि–पछि आएको उनको भनाइ छ ।

 

निर्मलासँग गफ गर्ने क्रममा आफू उत्तेजित भएपछि उखुबारीमा लगेर बलात्कार गरेको उनले बताएका छन् । पछि विशालले समेत बलात्कार गरेको उनले प्रहरीलाई बताएका छन् । बलात्कारका क्रममा निर्मलाले प्रतिकार गरेपछि हत्या गरेको दुवैको भनाइ छ ।

 

‘दुवैलाई छुट्टाछुट्टै सोध्दा करिब ८० प्रतिशत कुरा मिल्दोजुल्दो छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘मोबाइलको विश्लेषणमा पनि घटनाका वेला उनीहरू त्यही क्षेत्रमा हुनु र घटनापछि गाउँमा बस्न छाड्नुले उनीहरूको संलग्नताको आधार बलियो बनाएको हो ।’ दुवैजनाले लागुऔषधको नसामा बलात्कार गरेको बताएका छन् । तर, उनीहरूको भनाइलाई मात्र आधार नमानेर प्रहरी बलियो प्रमाण खोज्नतर्फ लागेको छ ।

 

प्रदीपले यसअघि पनि आफन्त नै बलात्कार गरेको र सो घटना घरभित्रै गुपचुप राखिएको अनुसन्धानमा खुलेको छ । उनकै एक आफन्तले प्रहरीसँग प्रदीपको विगतबारे बताएका छन् । उनी चोरीका घटनामा विगतमा पनि पक्राउ परेका व्यक्ति हुन् ।

 

दिनेशको प्रत्यक्ष  संलग्नता भेटिएन
पक्राउ परेका अर्का अभियुक्त दिनेश चौधरीको भने प्रत्यक्ष संलग्नता नदेखिएको प्रहरी अधिकारी बताउँछन् । विशाल र दिनेशलाई बिहीबार महेन्द्रनगरबाट काठमाडौं ल्याएर सोधपुछ अघि बढाइएको छ । उनीहरूलाई अभिभावकसहित काठमाडौं ल्याइएको हो ।

 

डिएनए रिपोर्ट आउन केही दिन लाग्ने
शंकास्पद प्रदीप, विशाल र दिनेशको डिएनए परीक्षण प्रक्रिया अघि बढिसकेको छ । रिपोर्ट आएपछि मात्र उनीहरूविरुद्ध थप प्रमाण संकलन गरिने प्रहरीले जनाएको छ । डिएनए रिपोर्ट आउन अझै २–३ दिन लाग्ने केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाले जनाएको छ ।

 

प्रहरीले उनीहरूसहित अन्य १६ जनाको समेत डिएनए परीक्षण प्रक्रिया अघि बढाएको छ । यसअघि नौजनाको परीक्षण गरिएकोमा नेगेटिभ आएको थियो । १० साउनमा निर्मलाको बलात्कारपछि हत्या भएकोमा प्रहरीले सुरुवाती चरणमा अनुसन्धानमा लापरबाही गरेको र प्रमाण नष्ट गरेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...