श्रीमती माइत जान दिएको भन्दै युवकले गरे बुवा र ठूलाबाको हत्या
कैलालीको लम्कीचुहा नगरपालिका–४ बलियाका १ युवकले आफ्नी पत्नीलाई माइत किन जान दिएको भन्दै बुवा र ठूलाबाको हत्या गरेका छन् ।
बलियाका २१ वर्षीय जहरसिंह चौधरीले ५५ वर्षीय बुवा चंख चौधरी र ६० वर्षीय ठूलो बुवा पल्टु चौधरीलाई काठको चिर्पटले प्रहार गरेर हत्या गरेका छन् ।
उनकै प्रहारबाट उनको आमा पनि घाइते बनेकी छिन् । उनको उपचार स्थानीय लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरि ओलीले जानकारी दिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार जहरीलालले आफ्नी पत्नीलाई बिना जानकारी माइत किन जान दिएको भन्दै बुवा, ठूला बुवा र आमालाई ढोका थुनेर कुटपिट गरेको जनाइएको छ । तर अझै घटनाबारे सत्यतथ्य खुल्न बाँकी रहेको जनाइएको छ । जहरीलाल प्रहरीको नियन्त्रण छन् ।
बलात्कारको आरोपमा दुई जनालाई सजाय
सप्तरीमा २५ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालतले दुई जनालाई साढे तीन वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलाशले सप्तरीको विष्णुपुर गाउँपालिका– ५ का ३५ वर्षीय जिवछ राम र वडा नं ३ का ३० वर्षीय इसराइल मियाँलाई साढे तीन वर्ष कैद सजायको फैसला गरेको अदालतले जनाएको छ ।
गाउँकै एक विवाह समारोहबाट घर फर्किरहेकी महिलालाई गत फागुन २५ गते राति नियन्त्रणमा लिई गहुँ खेतमा लगेर बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले फागुन २७ गते उजुरी दर्ता गरेको थियो ।
घटनापछि फरार आरोपितलाई नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा भारत विहारको अन्ध्रामण्ठ थाना महथौर ग्राम पञ्चायतबाट गत चैत ४ गते पक्राउ गरी सप्तरी ल्याएको थियो । दुवै आरोपित राजविराज कारागारमा चैत २९ गतेदेखि थुनामा थिए ।
आरोपितमाथि दायर भएको बलात्कारको मुद्दा पुष्टि हुन नसकेपछि सो मुद्दा जबर्जस्ती करणी उद्योगमा परिणत भएको अदालतले जनाएको छ ।
जिल्ला अदालतका स्रेस्तेदार दीलकुमार बर्देवाका अनुसार सामूहिकरुपमा बलात्कार प्रयास गरेको आरोपमा उनीहरुलाई साढे तीन वर्ष कैदको सजाय गरिएको हो ।
पाल्पामा एक लाख एघार हजारले स्वास्थ्य बीमा गराए
पाल्पा जिल्लामा अहिले स्वास्थ्य बीमा गर्नेको उत्साह बढ्दो छ । सामाजिक सुरक्षा विकास समितिले २०७३ देखि शुरुआत गरेको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म जिल्लामा एक लाख एघार हजार २५० जना नागरिक आबद्ध छन् ।
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीका अनुसार ५१ हजार ८७० पुरुष र ५९ हजार ३८० महिलाले स्वास्थ्य बीमा गराएका छन् । गएको असार मसान्तसम्म दुई हजार ५०० नागरिकले स्वास्थ्य बीमा गराएका थिए भने साउनबाट यही मङ्सिर १ गते सम्म २८ हजार ८५० जना नयाँ थपिएका छन् ।
जिल्लामा पाँच हजार ५४२ घरपरिवारले स्वास्थ्य बीमामा नाम दर्ता गराएका छन् । “जिल्लामा नयाँ नाम दर्ता गराउनेको आकर्षण ह्वात्तै बढेको छ, भने नवीकरण गर्ने कार्यमा भने आकर्षण कम रहेको छ”, ज्ञवालीले भन्नुभयो ।
आर्थिकरूपमा विपन्न र गरीब समुदायका बिरामी तथा रोगीको गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमबाट यहाँका नागरिकले औषधि उपचारमा ठूलो राहत पुगेको महसुस गरेका छन् ।
रामपुर अस्पतालमा पनि अहिले स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि उपचार गर्न आउने बिरामीको भीड छ । यहाँ दैनिक २५० हाराहारीमा बिरामी औषधि उपचारका लागि आउने गरेको अस्पतालका मेसु डाक्टर बिनेश झा बताउनुहुन्छ ।
तनहुँ घिरिङ बस्ने हुमबहादुर कुमाललाई मुटु रोगले सतायो । कुमाललाई मुटु रोगको उपचार गर्न आर्थिक अवस्था नाजुक हुँदा परिवारमा निकै चिन्ता छायो । रामपुर अस्पतालमा स्वास्थ्य परीक्षण गराउन पुग्नुभएका कुमाललाई अस्पतालका डाक्टरले भरतपुर बाहिर पठाएपछि उहाँ निकै चिन्तित हुनुभयो ।
“भरतपुर अस्पतालमा उपचार गर्नसक्ने परिवारको आर्थिक क्षमता थिएन, बीमा गरेको हुँदा अस्तालले निःशुल्क उपचार गरिदियो” उहाँले भन्नुभयो । उपचारमा शुरुमा अस्पतालले एक लाख ५० हजार रकम लाग्ने भन्दा उहाँ आत्तिनुभयो । तर बीमा गरेका कारण पूरै औषधि उपचार निःशुल्क भएपछि कुमालले औषधि उपचारमा समस्या झेल्नुपरेन । अहिले कुमाल मज्जाले हिँड्डुल गर्नुहुन्छ । उहाँको मुटुरोगको समस्या पनि ठिक हँुदै गएको छ ।
स्वाथ्य बीमा गरेपछि औषधि उपचारमा निकै सहुलियत पुगेको रामपुर नगरपालिका–५ का लीलादेवी खनाल बताउनुहुन्छ । “हामीजस्ता गरीब नागरिकलाई बीमा गरेपछि औषधि उपचार कसरी गर्ने होला भन्ने समस्या हट्दै गएको छ” खनालले भन्नुभयो ।
स्वास्थ्य बीमा कार्यक्रम गरीब दःुखी, विपन्न नागरिकको लागि वरदान सावित नै भएको बीमाकर्ता बालकृष्ण खनाल बताउनुहुन्छ । सरकारले स्वास्थ्य बीमा कार्यक्रम जस्तै गरीब, विपन्न नागरिकलाई लाभ मिल्ने खालका अन्य कार्यक्रम ल्याउन उहाँ अनुरोध गर्नुहुन्छ ।
स्वास्थ्य बीमा गरेका व्यक्तिले जिल्ला अस्पताल पाल्पा, रामपुर अस्पतालसँगै प्राथमिक स्वास्थ्यहरू केन्द्र ताहँु र खस्यौली, युनाइटेड मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेजबाट स्वास्थ्य सेवा लिइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक दुई हजार ५०० तिर्नुपर्ने र पाँच भन्दा बढी परिवारका सदस्य भएको हकमाप्रति सदस्य ४२५ का दरले शुल्क बुझाइ बीमा गरेपछि एक वर्षका लागि बीमा गरेका परिवारका सदस्यले वार्षिकरूपमा ५० हजार रुपैयाँसम्म उपचार खर्च निःशुल्क हुने नीति रहेको छ ।
स्वास्थ्य बीमा गरेपछि बहिरङ्ग, प्रसूति, एक्सरे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाइ, अल्ट्रासाउण्ड, इण्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखा सेवालगायत ३२ किसिमको सेवा प्रवाह गरिने बताइएको छ । स्वास्थ्य बीमाका लागि बीमाकर्ताले घर घरमा पुगेर सेवा प्रदान थालेपछि नागरिकलाई स्वास्थ्य बीमा गराउन सहज भएको छ ।


