राप्रपाका अध्यक्ष कमल थापाले भने : ‘जुत्ता खान्छौ कि जान्छौ’
‘यदि तिमीहरू मेरो घरमा नभएर अन्यत्र हुन्थ्यौं भने जुत्तै–जुत्ताले भकुर्ने थिएँ । घरमा भएकाले यसपटकलाई बच्यौं । अब यहाँबाट तत्काल गईहाल !’
माथिको संवाद झट्ट सुनेपछि तपाईंले अनुमान गर्नुभयो होला– कुनै अशिक्षित, संस्कारहीन व्यक्तिले मुखको तीतो फाल्न कसैमाथि यस्तो अभद्र संवाद बोलिरहेको छ । तर, यो संवाद तपाईं–हामीले अनुमान गरेजस्तो अशिक्षित अनि अराजनीतिक व्यक्तिको मुखबाट फुत्केको फिटिक्कै होइन ।
मन्त्री त्यसमा पनि चानचुने होइन, परराष्ट्र र उपप्रधानमन्त्रीसमेत भइसकेका पूर्व माननीयले बोलेको संवाद हो, यो । बोल्ने व्यक्ति स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा जनताबाट अस्वीकृत राप्रपाका अध्यक्ष उनै कमल थापा हुन् ।
अघिल्लो निर्वाचनको हारबाट हतास थापा विस्तारै सम्हालिरहेका बेला उनीमाथि अर्को बज्र परेको छ यतिबेला । कुनै बेलाका सहकर्मीहरू नै मरेको कुकुरलाई उपियाँले छाडे जसरी उनलाई त्यागिरहेका छन् । साथ छाडेपछि अब उनीसँग छन्–मात्रै केही थान नेता । यो अनिकालबाट जोगिन उनले लो–प्रोफाइलका नेताहरूलाई धमाधम तानेर उनले रिक्तिएको राप्रपामा त्राण दिने अससफल प्रयास गरिरहेका छन् ।
यस्तो दुःख आउनुअगावै सम्बन्ध विच्छेदको सन्देश बोकेर निवास पुगेका दुई व्यक्तिलाई थापाले अभद्र व्यवहार गरेका हुन् । यस्तो अभद्र व्यवहारको सिकार हुने व्यक्ति हुन्, नेपालगञ्ज उपमहानगरका मेयरसमेत रहेका राप्रपा नेता धवलशमशेर राणा र प्रल्हाद शाह ।
राप्रपा स्रोतका अनुसार, विद्रोही समूहले पार्टी एकताको आह्वान गर्दै विज्ञप्ति जारी गरेपछि राणा र शाह थापालाई यसको औपचारिक जानकारी गराउन उनको निवास गएका थिए । सम्बन्ध विच्छेदसँगै दुई भाइसँग सच्चिएको अवस्थामा स्वीकार्न सकिने अर्को प्याकेज पनि थियो । यस्तो प्रस्ताव बोकेर गएका थापा र शाहले सुरुमा कमलको कमजोरीबाट कुराको पोयो फुकाएका थिए ।
थापाको निरंकुशता र अप्रजातान्त्रिक हर्कतले सँगै हिँड्न असजिलो भएको भन्दै उनीहरूले सच्चिन थापालाईसुझाएका थिए । तर, आलोचना सहन गर्ने क्षमता नै नभएका थापा आफ्नो कमजोरी रियलाइज गर्न छाडेर घरमा आएका पाहुनामाथि नै जाइलागेका थिए । राणा र शाहले आफ्ना निकटकाहरूसँग गरेको गुनासो अनुसार, आक्रोसित थापाले जुत्ताले हान्ने धम्की दिँदै घरबाट निस्किन निर्देशन दिएका थिए ।
थापाको यस्तो हर्कतपछि राणा र शाह अपमानित महसुस गर्दै त्यहाँबाट बाहिरिएको चर्चा राप्रपा नेताहरूको एकता छलफलमा अझै पनि हटकेक बन्ने गरेको छ ।