कतारमा कमाएको धन जेठी श्रीमतीले सकेर हिँडिन्, कान्छीले जग्गा बेचेर दलाललाई बुझाइन्



 

धनुषाको ढल्केबरका मन्सीकुमार महतो डेढवर्षको हुँदै आमा बितिन् । त्यसको अर्को वर्ष बुवा गुलाम महतोले पनि सधैंका लागि छाडे । उनीहरु पाँच दाजु–भाइ । दाजुहरु विवाह गर्दै छुट्टै बस्न थाले । मन्सीले पनि पढ्न पा एनन् । बिवाह गरे ।

 

दुई छोरी र एक छोरा जन्मिएपछि घरखर्च बढ्दै गयो । गाउँमा बनी गरेको पैसाले घर चलाउन मुस्किल हुन थाल्यो । त्यसपछि मन्सी रोजगारीका लागि कतार गएका थिए ।काठको काम जानेका थिए उनले । कतारमा पनि प्लाइबोर्डमा मेसिन चलाउने काम पर्‍यो। कमाई पनि राम्रै भयो ।

 

अढाई वर्ष कतार बसेर उनी २०७३ सालको वैसाखमा दुई महिनाको छुट्टिमा घर फर्किए । कतार बस्दाखेरि ७ लाख रुपैयाँ त उनले घरमा पठाएका थिए । फर्किने बेलामा एक लाख रुपैयाँ नगद र सामान लिएर आए ।

 

उनी आएकै भोलिपल्टबाट घर झगडा सुरु भयो । कारण थियो पैसाकै । उनले सोचेका थिए पहिले कमाएर पठाएको पैसा श्रीमतीले कतै लगानी गरेकी होलिन् । नभए पनि त्यो पैसा चोखै छ ।आएको भोलिपल्ट श्रीमतीलाई सोधे, ‘मैले पठाएको पैसा कहाँ के गरे की छौ ?’उनले सुको पैसा बचेको छैन भनेर जवाफ दिइन् ।

 

श्रीमतीको जवाफ सुनेर छक्क परे ! तर विश्वास गरेनन् ।बुझ्दै जाँदा छिमेकीले पनि भन्न थाले ‘तेरी बुढीको चाला ठिक छैन’ भनेर । कतिपय गाउँलेसँग त उल्टै ऋण पनि काढेकी रहिछिन् । दिउँसो यी कुरा सुनेपछि बेलुकी सोध्थे–त्यत्रो कमाएर पठाउँदा पनि कसरी लाग्यो ऋण ? मैले कमाएको पैसा कहाँ छ ?मन्सीले हरेक तीन महिनामा सरदर एक लाख रुपैयाँ श्रीमतीलाई पठाउँथे ।

 

कम्पनीमा उनका मिल्ने दुई जना साथी थिए । उनीहरु हरेक महिना पालै पालो घरमा पैसा पठाउँथे । महिनामा ४० हजारसम्म तलब थाप्थे मन्सी । बचेको सबै रकम घरमै पठाएका थिए ।

 

‘सात लाख रुपैयाँ पठाइसकेको छु त, त्यो सबै पैसा खाएरै सिध्याइस् ?’, मन्सीकुमारले सोधे ।जवाफ, ‘सकियो’।‘सात लाख रुपैयाँ दुई सालमा खाएर मान्छेले कही सिध्याउँछ ? केचाहिँ खाइस तैंले ?’ मन्सीले फेरि सोधे ।

 

‘जे जे खाए पनि सकियो भनेसी सकियो’ श्रीमतीले जवाफ दिइन् । घरमा त्यस्तो सामान जोडेको पनि केही थिएन । छोरीछोरीको लवाईखवाई पनि उस्तै थियो । गाउँलेहरुले सुनाउँथे मन्सीलाई, ‘कतिदिन घरमै आउँदिनथी, बालबच्चा छाडेर कहाँ जान्थी थाहा हुँदै नथ्यो ।’

 

मन्सीलाई त्यत्रो पैसा हिसाव न किताव भएपछि निद्रापनि लाग्दैनथ्यो । फेरि फकाएर सोधे, ‘कसैलाई दिएको छ भने भन । कसैले ठग्यो भने पनि भन। आखिर जे–जे भएपनि तिम्रो लाग्ने मै हुँ । माफिमिनाह दिनु परे मैले नै त दिने हो नि ।’आएको १५ दिनपछि श्रीमतीले भनिन्, ‘एउटा मान्छेलाई चलाउन दिएको छु एक लाख रुपैयाँ ।’

 

तर त्यो रकम कसलाई दिएको त्यो भन्न मानिनन् । मन्सीले धेरै फकाए र पनि यसो भनिन्, तपाईलाई किन चाहियो मान्छे ? साउन १५ गते दिन्छु भनेको छ ।उनले भने, ‘चि नौंन को रहेछ अहिले देखिनै लाग्नु पर्यो नि त, कागज नगरि दिएको रहेछ भोलि दिएन भने !’त्यसपछि पनि नभनेपछि मन्सीले श्रीमतीलाई गालि गरे ।

 

असार २८ गते श्रीमतीले घर छाडिन् । वैसाख एक गते नेपाल फर्किए मन्सीले एक महिना बिदा थपेका थिए । असार अन्तिममा उनलाई कतार पुग्नु थियो ।श्रीमतीले घर छाडेर गएपछि उनी कतार जान पाएनन् ।

 

श्रीमती खोज्न थाले ।आफन्त भएजति सबै ठाउँमा सोधे । कतैपनि पत्ता लागेन ससुरालीले उजुरी गर्छौं भन्न थालेका थिए । उनले मैले कुटेको छैन, म आफैं खो जिरहेको छु भन्दै ससुरालीलाई सम्झाएपछि उजुरी गरेनन् ।

 

तीन जना बालबच्चालाई पकाएर खुवाउने, नुहाई–धुवाई गरिदिने सबै काम मन्सीलालकै काँधमा आयो । यो देखेर गाउँले र आफन्तले उनलाई अर्को बिवाह गर भन्न थाले । श्रीमतीले घर छाडेको ५ महिनापछि २०७३ मंसिर २८ गते उनले अर्की भित्र्याए ।नेनु महतो मन्सीकी कान्छी श्रमतीको रुपमा भित्रिन् ।

 

उनको पनि यो दोश्रो बिवाह नै थियो । साथमा एउटी छोरी थिइन् । कतारमा ग्याँस प्लान्टमा दुर्घटनामा परेर श्रीमानको मृत्यु भएपछि उनी पनि एक्लै थिइन् ।दोश्रो विवाह गरेर आएकी नेनुले छोरी जेठाजुको साथमा छाडिन् । श्रीमानको ज्यान गएपछि उनले पाएको आर्थिक सहायता ५ लाख रुपैयाँ थियो । त्यो पनि जेठाजुलाई दिइन् ।

 

अनि, छोरी पढाउने र बिवाह गरिदिने जिम्मा पनि उनैलाई सुम्पिइन् ।मंसिरमा नेनुलाई भित्र्याएपछि घर व्यवहार उनले सम्हाल्न थालिन् । मन्सीले फेरि वैदेशिक रोजगारीमा जाने निधो गरे । चैतको अन्तिम साता गर्भवती नेनुलाई छाडेर मन्सी मलेसिया गए ।

 

मलेसिया जाँदा म्यानपावर कम्पनीलाई एक लाख १५ हजार रुपैयाँ बुझाएका थिए ।मलेसियामा फर्निचर कम्पनीमा काम गर्न थालेका उनको यस पटकको पर देश यात्राले भने भाका टिपेन । कहिले कुन ठाउँमा कुन काम, कहिले कुन ठाउँमा पुर्‍यएर कुन काम लगाउने टुंगो हुन छाड्यो ।

 

ग्लोरी कम्पनीमा भनेर गएका मन्सीलाई गोल्डेनटच कम्पनीमा काम लगायो ।एउटा काम बल्ल बल्ल सिक्यो फेरि अर्को काममा खटाउने गर्न थाल्यो । जति काम गरेपनि ‘फास्ट’ भन्न छाड्दैनथे । कम्पनीका सुपरभाइजरको मुखबाट फास्ट फास्ट भन्ने शब्द मात्रै निस्किन्थ्यो । जति काम गरेपनि जस दिँदैनथे । उनलाई यो कम्पनीमा अप्ठेरो परेको थियो ।

 

जसरी तसरी त्यो कम्पनीमा एक वर्ष कटाए । त्यसपछि उनले भने, ‘अब म घर जान्छु, मेरो भिसा नथप्नु ।’कम्पनीले सोध्यो, ‘किन जाने घर ?’‘म यसरी काम गर्न सक्दिन, घरि कहाँ के काम घरि के, यो ताला ठिक भएन’, मन्सीले भने ।

 

कम्पनीले अहिले नै घर जान नपाउने र जाने नै भए ५ हजार रिगिंट (करिव डेढलाख रुपैयाँ) रकम बुझाएर जा भन्यो ।म्यानपावर कम्पनीलाई फोन गरे, कुरा हुन सकेन । केही उपाय नलागेपछि उनी त्यो कम्पनी छाडेर अन्तै काम गर्न थाले । आफू गएको कम्पनी छाडिसकेपछि मन्सी अवैधानिक कामदार भइसकेका थिए ।

 

अब उनलाई प्रहरीले भेटटे पक्रेर जेल हाल्थ्यो ।तर यो जोखिम मोलेर उनी निलई भन्ने ठाउँमा काम गर्न थाले । त्यहाँ काम गरेको दुई महिना सात दिन भएको थियो । कम्पनीमा प्रहरीले छापा मार्‍यो।पहिले नै उनीहरुले छापा मारेर अवैधानिक कामदार पक्रदैछ भन्ने सुइको पाइसकेका थिए । हरेक महिनाको तलव सात तारिखमा आउने भएकाले यो महिनाको तलब थापेर घर फर्किने योजना थियो उनको ।

 

तर यो योजना पूरा नहुँदै उनीसहित कम्पनीका अवैधानिक कामदार पक्राउ परे ।उनीहरुलाई १५ दिनपछि अदालतमा उपस्थित गरायो । जरिवाना तिर्ने हो भने घर जान पाउँछौ भनेपछि मन्सीले एक हजार रिंगिट (करिव ३० हजार रुपैयाँ) बुझाए ।

 

जरिवाना तिरिसकेपछि गत अगस्ट २९ तारिख उनीहरुलाई कागजात बनाउने भनेर प्रहरीले लग्यो । त्यहाँ उनको तीन पुस्तेदेखि फोन नम्बर र ठेगाना सबै माग्यो । त्यसपछि प्रहरीले तेरो दूतावासको मान्छेसँग कुरा गर भनेर फोन लगाइदियो ।

 

प्रहरीले दलालसँग कुरा गराएको रहेछ उनलाई थाहा भएन । दलालले उनको नाम ठेगाना सोधेर घरको नम्बर माग्यो । मन्सीले पहिल्यै सुनेका थिए यसरी ठग्छन् भन्ने त्यही भएर उनले मोवाइल नम्बर दिएनन् । बहाना बनाए मेरो मोवाइल पक्राउ पर्दा उतै छुट्यो, मैले पढेको छैन, नम्बर थाहा छैन भने ।

 

बास्तविक ठेगाना प्रहरीले दलाललाई दिइसकेको रहेछ । दलालले उनको भतिजको नम्बर पत्ता लगाएछ । चार दिनपछि फेरि दलाले नै कुरा गरायो भतिजसँग । दलालले भन्यो, ‘लु तिम्रो भतिजसँग कुरा गर । पैसा हालि दिनु भन, अरु केही कुरा नगर ।’तर मन्सीले टेरेनन् । ‘एक रुपैयाँ पनि पैसा नहाल ।

 

सक्छस् भने यो क्याम्पमा मान्छे पठा’, मन्सीले यति भन्नासाथ दलालले फोन काटिदियो ।त्यसपछि दलाल उनीबाट सम्पर्कबिहिन भयो । उता घरमा दाइसँग कुरा गर्न थालेछ । ‘भाइ मर्न लागेको छ । अस्पतालमा छ, चार हजार रिंगिट लाग्छ त्यो पठाएनौ भने तिम्रो भाइ त्यहीँ मर्छ’, यसरी दलालले प्रपन्च रच्दै दाइलाई फोन गर्न थालेछ ।तर मन्सीले भनेकाले उनले जति गर्दा पनि पैसा पठाएनछन् ।

 

त्यसपछि मन्सीका भान्जालाई फोन गर्न थालेछ दलालले । भान्जासँग कुरा गर्दा दलालले मन्सी भनेर अरु कसैलाई बोल्न लगाएछ । ‘भान्जा म बिरामी छु, मर्न लागें । यो मान्छेलाई पैसा पठाइदिनु’, भनेर कुरा गर्न लगाएछ ।

 

लालको मान्छे बोले पनि मन्सीका भान्जाले पत्तो पाएन । मामा बिरामी भन्दै माइजु नेनु भएठाउँमा पुगे । यो सबै सुनेपछि नेनुले अतालिँदै पैसा पठाउन थालिन् । घर नजिकै भएको पाँच धुर जग्गा पनि बेचिन् । अनि, श्रीमान बचाउनका लागि भनेर दलाललाई पैसा पठाइन् ।

 

पटक पटक गरेर उनले २ लाख ४२ हजार रुपैयाँ पठाइसकिछिन् । त्यो रकम भने नेपालकै विभिन्न ठाउँमा पठाएको पाइएको छ ।यो रकम लिइसकेपछि पनि दलालले बहाना फेरे तर जाल बुन्न छाडेनन् यो परिवारमाथि । दाइलाई फोन गरेर भनेछन्, ‘तेरो भाइ मरिसक्यो, लास नेपाल झिकाउनका लागि दुई लाख पठा, होइन भने लास पनि देख्न पाउँदैनस् ।’

 

दलालले दिनरात आतेस खेलाउन थालेपछि मन्सीका दाजु जनकपुर गएर वैदेशिक रोजगारी सम्बन्धि जानकारी दिने सामिको सूचना केन्द्रमा गएर सोधेछन् । त्यहाँ उनले थाहा पाए यो सबै दलालको काम हो र ठग्नका लागि गरिरहेका छन् भनेर ।

 

सूचना केन्द्रले उनी बसेको ठाउँ पत्ता लगाएर आफ्ना प्रतिनिधि पठाएर नेपाल फर्काउन सहयोग गर्यो ।गत बिहिबार मन्सीकुमार नेपाल फर्किए । तर उनको मलेसियास्थित दूतावाससँग धेरै गुनासो छ ।‘दूनियाँका दूतावास अप्ठेरोमा परेकालाई भेट्न जान्छन्, सहयोग गर्छन् । तर हाम्रो दूतावास फर्केर गएन । एक पटक पनि गएन, जाँदै गएन । मरेको छ कि बाँचेको छ, हेर्न पनि जाँदैन’ मन्सीले आक्रोस पोखे ।

 

त्यसपछि उनको मनका प्रश्न पोख्न थाले, ‘तीनेरुलाई किन दिन्छ हाम्रो सरकारले तलब ? त्यसलाई बसेर खा भनेर त दिएको हैन नि । आज दूतावास त्यहाँ गएर हामीलाई प्रक्रिया भनिदिएको भए हाम्रो उठिबास लाग्दैनथ्यो ।

 

तर तीनीहरु पनि दलालसँग मिलेर गरि ब मारेर पैसा खाइरहेका छन् ।तीन महिना १५ दिन बस्दा एक दिन पनि नजानुको कारण के त ? दलालसँग नमिलेको भए जानु पर्ने हो नि । गरिबलाई लुटिरहेको छ ।

 

के सरकारले गरिबलाई लुट्न राखेको हो दूतावास ? मर्नेलाई अझै मारिरहेको छ । गरिबलाई सकेसम्म लुट । सकिएपछि बोटुको लिएर गरिबहरु सडकमा माग्छन् भनेर पठाएको हो ?’मन्सी आफ्नो ठगिएको रकमसँगै यी प्रश्‍नको उत्तर काठमाडौंमा भौतारिँदै खोजिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको उपाधि

टिकटक बनाउन खोज्दा लडेर शिक्षिका र विद्यार्थीको मृत्यु

    खोलामा टिकटक बनाउन खोज्दा तेह्रथुममा दुई जनाको मृत्यु भएको छ ।

जनकपुरले जित्यो एनपीएलको उपाधि

    जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को

एनपीएलको फाइनल हेर्न देउवा र प्रचण्ड सँगै

    नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल कांग्रेस सभापति शेरबहादुर देउवा र