निर्मला पन्त प्रकरण : आसपासका सयौँको डिएनए परीक्षणको तयारी



हाम्रो इकोनोमि

 

निर्मला पन्त बलात्कारपछि हत्याको अनुसन्धान परिणाम ९७ दिनसम्म पनि शून्यमै रहेपछि प्रहरीले कञ्चनपुरमा सयौँ व्यक्तिको डिएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ । घटनास्थल आसपास बस्ने व्यक्तिदेखि निर्मलाका आफन्तहरूको समेत डिएनए परीक्षण गर्न लागिएको हो ।

 

मंगलबार डिएनए परीक्षणका लागि थप चारजनाको रगत परीक्षण गर्न लागिएको छ । अनुसन्धानका क्रममा विभिन्न कोणबाट धेरै शंका देखिएका व्यक्तिहरूको डिएनए परीक्षण गर्न लागिएको कञ्चनपुरका एसपी कुवेर कडायतले बताए ।

 

निर्मला पन्त प्रकरणमा आधा दर्जन छानबिन समिति गठन भए । अनुसन्धानमा प्रहरीले गरेको कमजोरी पत्ता लगाउन ती समिति गठन भएका हुन् । तर, अभियुक्त पत्ता लगाउन भने अहिलेसम्म कुनै पनि विशेष समिति गठन भएको छैन ।

 

मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ को दफा १२ मा विशेष अनुसन्धान टोली गठन गर्न सक्ने प्रावधान छ । माथिल्ला अधिकारी तथा प्रहरी महानिरीक्षकले उक्त टोली गठन गर्न सक्ने र अनुसन्धान अधिकृतसरहको अधिकार रहने प्रावधान छ ।

 

अनुसन्धानमा सघाउन प्रहरी प्रधान कार्यालय तथा सिआइबीबाट थप प्रहरीहरू कञ्चनपुर पठाइएको छ । तर, विशेषज्ञसहितको विशेष अनुसन्धान टोली भने गठन गर्न सकिने व्यवस्थालाई वास्ता गरिएको छैन ।

 

१ भदौदेखि लागू भएको अपराध संहिताले अपराधको गम्भीरताका आधारमा विशेष टोली गठन गर्न सकिने व्यवस्था गरेको छ । प्रहरीबाहिरका विशेषज्ञसमेत राख्न सकिने प्रावधान कानुनमा छ । प्रहरी अनुसन्धानमा जनमानसबाट आशंका बढिरहेका वेला विज्ञ व्यक्तिलाई राखेर अनुसन्धान गर्न सकिने भए पनि प्रहरीले चासो दिएको छैन ।

 

 

अन्य विकल्प नभएपछि सबैको डिएनए परीक्षण : प्रहरी
प्रहरीसँग अन्य प्रमाण नभएपछि डिएनएलाई नै अनुसन्धानको आधार बनाएको हो । अन्य देशमा पनि यस्तो अभ्यास हुँदै आएको छ । ‘अनुसन्धानको अन्य बाटो छैन, स्थानीयबाट कुनै सूचना प्राप्त हुँदैन,’ एक अनुसन्धान अधिकारी भन्छन्, ‘यस्तो अवस्थामा शंका लागेको सबैको डिएनए परीक्षण गर्नेबाहेक हामीसँग अरू उपाय छैन ।’

 

सुरुमा चारजना र उनीहरू सबैको रिपोर्ट म्याच नभए क्रमशः सयौँ व्यक्तिहरूको डिएनए परीक्षण गर्ने तयारी छ । घटनाका वेला त्यहीँ आसपास भएका, खराब पृष्ठभूमि भएका र सोधपुछका क्रममा शंका लागेका व्यक्तिहरूमाथि डिएनए परीक्षण गर्न लागिएको अनुसन्धानमा आबद्ध एक अधिकारीले बताए ।

 

यसअघि चक्र बडू, दिलीपसिंह विष्ट, तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण तथा अर्का स्थानीय युवा आयुष विष्टको डिएनए परीक्षण भएको थियो । निर्मलाको शरीरमा भेटिएको पुरुषको ‘स्पर्म’का आधारमा डिएनए परीक्षण गरिएको थियो ।

 

तर, हरिप्रसाद मैनाली नेतृत्वको छानबिन समिति तथा राष्ट्रिय मानव अधिकार आयोगले छानबिनमा डिएनएनको नमुनामै शंका व्यक्त गरेका छन् ।

 

अनुसन्धानका लागि सातवटा छानबिन टोली बने पनि अभियुक्त पत्ता लागेका छैनन् । बरु घटनाको राम्रोसँग अनुसन्धान नगरेको तथा प्रमाण नष्ट गरेको आरोपमा एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई सेवाबाट हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...