निर्मलाका बाबुआमासँग किन भेटेनन् प्रधानमन्त्री ओलीले , यस्तो छ कारण
कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तका बाबुआमा र आफन्तहरूसँग भेट्न अस्वीकार गरेको खुलासा भएको छ ।
हत्यारालाई कारबाहीको माग गर्दै बाबु यज्ञराज पन्त र दुर्गादेवी पन्तसँगै काठमाडौं आएकी महिला अधिकारकर्मी लक्ष्मी मल्लका अनुसार प्रधानमन्त्री ओलीले भेट्न नमानेको बताएकी हुन् ।
‘प्रधानमन्त्रीसँग भेटेर निर्मला पन्तका दोषीहरूलाई कारबाहीका लागि माग गर्ने भनेका थियौँ’, मल्लले भनिन्, ‘काठमाडौं आएको एक हप्ता भइसक्यो प्रधानमन्त्रीज्यूले भेट्न समय दिनु भएको छैन ।’
मल्लले दोषीहरू शक्तिशाली भएकै कारण प्रहरीले प्रमाण नष्ट गरेको बताइन् । ‘प्रहरीले शुरुदेखि नै शंकास्पद गतिविधि गरेको छ’, अधिकारकर्मी मल्लले भनिन्, ‘पछिल्लो समय आइजीपीले निर्मला पन्तका हत्यारालाई खोज्न देखाएको सक्रियताबाट आश जागेको छ ।’
निर्मलाका बाबुआमाले गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायतसँग भेटेर निर्मला दोषीलाई कारबाही गर्न दवाव दिएका छन् ।
दोषीलाई कारबाहीका लागि दवाव दिन शनिबार काठमाडौंसहित देशभरि स्वस्फुर्त प्रदर्शनहरू समेत भएका छन् ।
जलविद्युत् आयोजनाको सुरुङ प्रवेश मार्गमा पहिरो, २ को मृत्यु ९ घाइते
निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ प्रवेश मार्गमा पहिरोका कारण शनिबार राति दुई जनाको मृत्यु भएको छ ।
सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार मृत्यु हुनेमा रुकुम जिल्ला भूमे गाउँपालिका– ९ का ५० वर्षीय भीम रोकाको स्थानीय मेडिकलमा उपचारका क्रममा र मकवानपुर जिल्ला हेटौँडा नगरपालिका–११ मकवानपुरका २२ वर्षीय रमेश कप्तौलाको घटनास्थलमै मृत्यु भएको हो ।
उनीहरु टिमुरेस्थित भन्सार कार्यालयको मोटर पार्किङ गर्ने स्थलको भोटेकोशी पारिपट्टिको गोसाइँकुण्ड गाउँपालिका–१ स्थित आयोजनाको सुरुङ प्रवेश गर्ने क्रममा माथिबाट झरेको पहिरोबाट मृत्यु भएको हो ।
सुरुङ निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी सीडब्लू्ईमार्फत रात्रिकालीन काम गर्न सुरुङभित्र जाने क्रममा टिपरमाथि ढुङ्गा खस्दा उनीहरुको मृत्यु भएको हो ।
सोही दुर्घटनामा गम्भीर घाइते रुकुम जिल्ला भूमि गाउँपालिका–२ का २५ वर्षीय जगदीश रोका, रुकुम जिल्लाकै काक्रेका २२ वर्षीय टेकमान बुढा र ४२ वर्षीय चिनियाँ नागरिक रहेका छन् ।
उनीहरुलाई शनिबार राति नै थप उपचारार्थ काठमाडौं पठाइको थियो । धुञ्चे अस्पतालमा भर्ना भएका अर्का प्रकाश भट्ट भने थप उपचारार्थ आइतबार बिहानै काठमाडौं पठाइएको रसुवा जिल्ला अस्पताल धुञ्चेले जनाएको छ ।
सामान्य घाइते भएका अन्यको ठेकेदार कम्पनी चिनियाँ सी।डब्लू।ईको टिमुरेस्थित मेडिकल क्याम्पमा उपचार भइरहेको जलविद्युत् आयोजनाले जानकारी दिएको छ ।