गुण्डा नाइके पुष्पराज पक्राउ, ग्याङमा दाङका यी दुई युवा, भत्कियो अपराधको सत्ता
पूर्वमाओवादी केन्द्र निकटका कुख्यात गुण्डा नाइके पुष्पराज श्रेष्ठविरुद्ध महानगरीय प्रहरी अपराध महाशाखा टेकु काठमाडौंले थुनामा राखेर अनुसन्धान शुरु गरेको छ ।
श्रेष्ठविरुद्ध ज्यानमार्ने धम्की उद्योग, अपहरण र शरीर बन्धकको अभियोग लागेको छ । श्रेष्ठलाई थुनामा राखेर अनुसन्धान गरिएको एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए । श्रेष्ठविरुद्ध उजुरी परेपछि समूहका सबैलाई पक्राउ गरेर अनुसन्धान गरिएको सिंहले बताएका छन् ।
ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका ४ स्थायी घर भएका रामबहादुर कटुवालले श्रेष्ठको घर बनाएको पैसा माग्दा ज्यानमार्ने धक्की दिएका थिए । त्यसपछि कटुवालले श्रेष्ठविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।
काठमाडौंको धुम्बाराहीमा बस्दै आएका कटुवालले गुण्डा नाइके श्रेष्ठविरुद्ध उजुरी दिएपछि महानगरीय प्रहरी अपराध महाशाखा टेकुले भदौ २६ गते पक्राउ गरेको हो । प्रहरीले म्याद थप गरेर श्रेष्ठविरुद्ध अनुसन्धान शुरु गरेको एसएसपी सिंहले बताएका छन् ।
श्रेष्ठविरुद्ध कमलामाई नगरपालिका वडा नम्बर ६ घर भई मैतीदेवी बस्दै आएका ठेकेदार रमेशकुमार कुँवरले पनि आफूलाई अपहरण गरेको अभियोगमा मुद्धा दिएका छन् । काठमाडौंमा ठेक्कापट्टाको काम गर्दै आएका कुँवरलाई गुण्डा नाइके श्रेष्ठले २०७३ साल पुस ९ गते अपहरण गरेका थिए ।
श्रेष्ठले कुँवरलाई फोन गरेर चक्रपथको इन्द्रेणी फास्टफुण्ड अगाडि बोलाएर अपहरण गरेका थिए । चक्रपथबाट अपहरण गरेर श्रेष्ठले कुँवरलाई गणेशवस्तीस्थित शुक्रराज तामाङको डेरामा लगेका थिए ।
अपहरण गर्ने बेला श्रेष्ठले कुँवरलाई हत्कडी लगाएरर बन्धक बनाएको एसएसपी सिंहले बताए । कुँवरलाई पेस्तोल देखाएर श्रेष्ठले उनको साथमा रहेको नगद ५० हजार, सुनको औठी, हीरा जडित औठी, मोबाइल, प्राइम बैंकको चेक थान एक र कुलबहादुर थापाको नाममा ११ लाखको चेक काट्न लगाएर लुटेको प्रहरीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
श्रेष्ठको समूहबाट कुँवर गौशालाबाट भाग्न सफल भएका थिए । कुँवरले श्रेष्ठ र उनका साथीहरूविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।
ठेकेदार कुँवरको उजुरीका आधारमा प्रहरीले भोजपुर जिल्ला छिनामखु २ का नवीनकुमार राई, दाङ सैंघा ६ का कोमानन्द खड्का र दाङ बंगलाचुली ३ का सेरु केसी भन्ने आषिश परियार, रामेछाप गौश्वरा ४ का कुवीन थापा भन्ने कोलबहादुर थापा मगर र नुवाकोट गेर्खु ३ का शुक्रराज तामाङलाई पक्राउ गरेर अपहरण तथा शरीर बन्धक मुद्धामा अनुसन्धान गरिरहेको एसएसपी सिंहले बताएका छन् ।
सिन्धुली जिल्ला कमलमाई नगरपालिका वडा नम्बर ५ मरिन स्थायी घर भएका ३६ वर्षीय कुख्यात गुण्डा नाइके श्रेष्ठले सिन्धुलीमा आधा दर्जनभन्दा धेरै अपराधका सूची प्रहरी समक्ष रहेको छ ।
नारायणकुमार श्रेष्ठका छोरा श्रेष्ठ तत्कालीन माओवादी केन्द्रको सहायक संगठन वाइसियलका केन्द्रीय सदस्य समेत हुन् । श्रेष्ठ काठमाडौंको रातो पुलमा बसेर अपराधका घटना गर्दै आएको प्रहरीले उल्लेख गरेको छ । प्रहरीले गुण्डा नाइके पुष्पराजले फेरि अपराधको घटना गर्न नसक्ने गरेर मुद्दा लगाउने तयारी गरेको छ । पुष्पराजले राजनीतिक संरक्षणमा अपराधका घटना गर्दै आएका थिए ।रिपब्लिका दैनिकबाट