श्रीमति माईत जाँदा घरमा श्रीमानको हत्या
कैलालीको जोशीपुर गाउँपालिका-१ का एक व्यापारीको घरमै हत्या भएको छ। हरितालिका तीज मनाउन श्रीमती माइत गएको समयमा ३७ वर्षीय रामप्रसाद जैशीको बिहीबार राति हत्या भएको हो।जैशीकी श्रीमती दुई छोरासहित तीज मनाउन टीकापुर गएकी थिइन्।
जोशीपुर बजारमा किराना पसल चलाउँदै आएका जैशीको बिहीबार राति घरमै हत्या भएको इलाका प्रहरी कार्यालय भजनीले जानकारी दिएको छ।
इलाका प्रहरी कार्यालय भजनीका प्रमुख प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जैशी आफ्नै घरमा मृतअवस्थामा फेला परेको बताए। मृत्यु शंकास्पद भएकाले छानबिन सुरु गरेको प्रहरी निरीक्षक चन्दले बताए।
बिहीबार राति घरमा एक्लै बसेका जैशी शुक्रबार बिहान ९ बजेसम्म पसल खोल्न नआएपछि स्थानीय घरमै गएर हेर्दा जैशी मृत अवस्थामा फेला परेका थिए।
बिहान सबेरै खुल्ने पसल ९ बजेसम्म पनि नखुलेपछि घरमा गएर हेर्दा जैशी मृत्य अवस्थामा भेटिएको स्थानीय पदम बोहराले बताए।
जैशीको हत्या भएको भन्दै जोशीपुर बजारका व्यापारीले विरोधस्वरुप बजार बन्द गरेका छन्। व्यापारी जैशीको हत्या भएको भन्दै उनीहरुले हत्यारा पत्ता लगाउन माग गर्दै बजार बन्द गरेका हुन्।
‘एक व्यापारीको घरमै सुतेको अवस्थामा हत्या भएको छ,’जोशीपुर बजार व्यवस्थापन समितिका सचिव केशवराज जोशीले भने, ‘हत्यारा पक्राउ गर्न दबाब दिने उद्देश्यले हामीले शुक्रबार र शनिबार बजार बन्द गर्ने निर्णय गरेका छौं।’ घरमै सुतेका व्यापारीको हत्या भएपछि स्थानीय त्रसित बनेका छन्।
यो पनि पढ्नुस्
अपांग युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ
कञ्चनपुरकी बालिका निर्मला पन्तको घटना तातिरहेको बेला गोरखामा बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन्।
जिल्लाको सिरान्चोक गाउँपालिका ८ जौबारीस्थित ब्याखर्ककी बोल्न नसक्ने, राम्रोसँग हिँड्डुल गर्न नसक्ने अपांग २४ वर्षीया युवतीलाई गत २६ गते बलात्कार गरेको आरोपमा सोही ठाउँका २१ वर्षका सन्तबहादुर परियार पक्राउ परेका हुन्।
पीडितको परिवारले धारापानी प्रहरी चौकीमा उजुरी दिए पनि परियारलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गोरखा ल्याइएको प्रहरीको भनाइ छ।
उनीविरुद्ध जबरजस्ती करणीको उद्योगअन्तरगत अनुसन्धान भइरहेको डिएसपी महेन्द्र नेपालले जानकारी दिए।


