सङ्घीयताको विरोध नगर्न दश करोडको प्रलोभन, चित्रबहादुरले भने सङ्घीयताले देश खान्छ
नेपालमा सङ्घीयता अफाप हुने, देशले सङ्घीयता धान्नै नसक्ने धारणा प्रस्तुत गर्दै आएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयताको विरोध नगर्नका लागि आफूलाई कुनैबेला दश करोडको प्रलोभन दिइएको खुलासा गरेका छन् ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टका बाबु नन्दलाल भट्टको ११ औँ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभामा आफ्ना अभिव्यक्ति दिने क्रममा नेता केसीले यस्तो सनसनीपूर्ण खुलासाा गरेका हुन् ।
संघीयताको विरोध नगर्न त्यसरी रकमको प्रलोभन दिने पात्र को हुन् भन्ने खुलासा नगरे पनि घुमाउरो ढंगले उनले आज शासन सत्तामा रहेका शक्तिहरुतिरै इंगित गरे ।
तत्कालीन समयमा देखाइएको १० करोडको लोभको वास्ता नगरी आफूले संघीयताले नेपालको हित नहुने अडान राखेको र आज आफ्नो उक्त धारणा व्यवहारमा चरितार्थ हुन थालेको जिकिर उनले गरे ।
आफूलाई त्यतिबेला लोभ देखाउनेहरु अहिले पश्चाताप गर्दै छन् भन्ने दाबी गर्दै अध्यक्ष केसीले केन्द्रिकृत शासन व्यवस्था नभई प्रजातान्त्रिक विकेन्द्रीकरणको आधारमा जनतालाई अधिकार दिएर शासन गर्न सकिने आफ्नो पार्टीको धारणा रहेको बताए ।
जबर्जस्ती गर्न खोज्दा वृद्धको गयो ज्यान
एक तेह्र वर्षीया किशोरीले नातामा हजुरबुबा पर्ने ६५ वर्षीय वृद्धलाई रड प्रहार गरी हत्या गरेकी छिन् । घटना रामेछापको हो । आफूलाई जबर्जस्ती गर्न खोजेकोले रिस थाम्न नसकी रड प्रहार गर्नुपरेको किशोरीले प्रहरीसमक्ष बयान दिएकी छिन् ।
वृद्धको हत्या गरेपछि हत्यामा प्रयोग गरिएको रडसमेत बोकी उनी आफै प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न पुगेकी थिइन् ।
रामेछाप नगरपालिका–७, मुढाजोर रजगाउँका ६५ वर्षीय पूर्णबहादुर श्रेष्ठले हिजो विहीबार बिहान करीब ८ बजेको समयमा ती किशोरीमाथि हातपात गर्न खोजेका बताइएको छ । घरबाट केही टाढा रहेको बारीमा किशोरी घाँस काट्न हिँडेकी थिइन् ।
सो क्रममा श्रेष्ठले जबर्जस्ती गर्न खोजेको र आफू फुत्किएर घर पुगी फलामको रड लिएर श्रेष्ठको घरमै गई प्रहार गरेको किशोरीको भनाई छ ।
रडसहित करिव १० बजे प्रहरी चौकी रामेछापमा उपस्थित भई हत्याको बारेमा जानकारी गराउँदा प्रहरीहरुसमेत छक्क र स्तव्ध बन्न पुगेका थिए ।
राष्ट्रपति, प्रधानमन्त्री निवास र सिंहदरबारमा अबदेखि विद्युत कटौती नहुने
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठूला सरकारी प्रमुख कार्यालयमा कहिल्यै पनि विद्युत् नजाने तयारी भइरहेको बताएका छन् ।
सञ्चार केन्द्र नेपालले बिहीबार आयोजना गरेको ‘जलविद्युत्को क्षेत्रमा हालसम्म भएका उपलब्धिहरू एवं देखिएका चुनौती’ विषयक अन्तरक्रियामा उनले बेलाबेलामा भइरहने विद्युत् कटौतीलाई अन्त्य गरी चाँडै नै कहिल्यै पनि विद्युत् नजाने गरिने बताएका हु्न् ।
‘अहिले पनि राष्ट्रपति तथा प्रधानमन्त्री निवास र सिंहदरबारमा बेलाबेलामा बत्ती जाने गरेको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘अब ती क्षेत्रमा कहिल्यै बत्ती नजाने गरी काम गरिरहेका छौँ ।’
उनले विद्युत् वितरणलाई भरपर्दो बनाउन अन्य क्षेत्रमा पनि विद्युत् नजाने गरी आफू लागिपरेको बताए । ‘अहिले साना प्रसारण क्षमताबाट वितरण भएको विद्युत्लाई भरपर्दाे र दिगो समाधानका लागि क्षमता बढाएर गुणस्तरीय बनाउन लागिरहेका छौँ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘यसबाट बेलाबेलामा विद्युत् जाने समस्या हट्नुका साथै निरन्तर विद्युत् पनि दिन्छौँ ।’
निकट भविष्यमै काठका पोल, शहरमा देखिएका नाङ्गा तार हटाइ जमीनमुनिबाट विद्युत् लाइन वितरण गरिनेमा जोड दिँदै उनले नेपालको जलविद्युत् परियोजनालाई विस्तार गरेर केही वर्षमा विद्युत् निर्यात गर्न सक्ने अवस्थामा पु¥याइने पनि बताए ।
राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद वलीले सरकारले थप जलविद्युत् परियोजना ल्याउन तयारी गरिरहेको जानकारी दिँदै जलविद्युत्मा वैदेशिक लगानी भित्र्याउनका लागि अहिले भइरहेका ऐन कानूनले समस्या परेकाले त्यसलाई संशोधन गरी वैदेशिक लगानी भित्र्याइने बताए ।
विद्युत्मा फड्को मार्न सकेमात्र मुलुकको विकास हुने भन्दै उनले ठूला परियोजनाबाट विद्युत् उत्पादनका लागि सरकारले वैदेशिक लगानी खोजिरहेको बताए ।
ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले लोडसेडिङमुक्त भए पनि बिजुलीको गुणस्तर कामय गर्न नसकिएको बताए ।