प्रधानमन्त्रीलाई निर्मलाकी आमाको प्रश्न, एकतर्फी कुरा सुनियो, मामाले नै अभियुक्त जोगाएको आशंका



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्रीजस्तो मान्छेले एकोहोरो कुरा सुनेर टेलिभिजनमा अन्तर्वार्ता दिइरहनुभएको छ ।बलात्कार गरेर मारिएकी चेलीका बाबुआमाको भनाइ के होला भनेर सुन्नुभएको छैन । मुद्दा फाँटका इन्स्पेक्टर एकेन्द्र खड्कालगायत प्रहरीले महिलालाई इसारा गरेर पानीमा ट्राउजर धुन लगाएका छन् । निर्मलाको शरीरबाट रगत आइरहेको थियो । भिडियो हेर्दाखेरी हाकिमकै निर्देशनमा महिला प्रहरीले प्रमाण नष्ट गर्न ट्राउजर धोएजस्तो देखिन्छ ।

 

घटनास्थल सुरक्षित गर्नभन्दा इन्स्पेक्टर खड्काले झोक्किएर ‘तपाईंहरूको लास तपाईंहरू आफैँ जे गर्नुस्, प्रहरीलाई तपाईंले सिकाउनुपर्दैन’ भने । एकातर्फ खोज्नै चासो नदिने, अर्काेतर्फ प्रमाण पनि नष्ट गरेपछि हामीले कसरी प्रहरीलाई विश्वास गर्ने ? यो किन भएको थियो भन्ने खोजी किन हुँदैन ।

 

रातभरि खोज्दा पनि निर्मला नभेटिएपछि भोलिपल्ट बिहान फेरि बम दिदीबहिनीको घरमा गएँ । घरमा पुग्नेबित्तिकै बबिता साइकल लिएर घरबाट निस्की । मलाई देखेपछि ‘११ बजे आएर २ बजे गई’ भनिन् । ‘घरभित्र हेर्न मन लाग्यो’ भन्दा बबिताले ‘हिजै मान्छे गा’छ, बारम्बार यहाँ किन आउनुप-या छ, मेरो घरमा नटेके हुन्छ’ भनेर भनेर झम्टिन आई । पुलिसकै अगाडि उसले त्यस्तो भनी ।

 

उसको कुरा सुनेपछि त्यहाँ रहेका प्रहरीलाई मैले भनेँ, ‘यस्तै व्यवहारका कारण हिजो पनि मैले घरभित्र हेर्न सकिनँ, अहिले पनि मिलेन ।’ प्रहरीले बुझ्ने काम हाम्रो हो भन्यो । उनीहरूले घरमा केही छैन, हामी बुझ्छौँ भने । दुई महिना हुन लाग्दासम्म प्रहरीले खै के–के बुझे, तर हामीलाई न्याय मिलेको छैन ।

 

बम दिदीबहिनीको घरबाट निस्केर निर्मला गेटबाट कता गइन् भन्ने पनि उनीहरू बताउँदैनन् । ‘बुबा बस्ने घर भाँसी जान्छु’ भनेकी थिइन् भनेर बताएका छन् । तर, निर्मला ९ गते बिहान मात्र भाँसी गएकी थिई ।

 

भोलिपल्टै फेरि बुबाको घरमा ऊ किन जानु ? हप्तामा मात्र जाने गर्थी । त्यसकारण उनीहरूले बनावटी कुरा गरेकोजस्तो लाग्छ । साइकल भेटियो भनेपछि बबिताले ‘लास पनि त्यतै होला’ भनेर कसरी भनिन् ? यसमा पनि राम्रोसँग छानबिन भएनजस्तो लाग्छ ।

 

निर्मलाकै मामाले अभियुक्त जोगाएको आशंका
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दुर्गा र यज्ञराजले निर्मलाकै मामा तीर्थराज भण्डारीमाथि अनुसन्धान गर्न माग गरेका छन् । आफूहरूको इच्छाविपरीत शव बुझेर जलाउन दबाब दिएकाले अभियुक्तको उनीसँग सम्बन्ध भएको हुन सक्ने उनीहरूको आशंका छ ।

 

तीर्थराज पार्टीको राजनीतिमा संलग्न रहेको र उनीमाथि छानबिन गर्दा अपराधीसम्म पुग्न सकिने पन्तदम्पतीको भनाइ छ । एसपी डिल्ली विष्ट र तीर्थराजले शव बुझ्न आफूलाई बारम्बार दबाब दिएको निर्मलाका बुबा यज्ञराजले बताए । सत्यतथ्य पत्ता नलागेसम्म शव नबुझ्ने पक्षमा हुँदा पनि धम्क्याएर सही गराइएको उनको भनाइ छ ।

 

लास नबुझे थुनिदिने भनेर धम्क्याएको र शव जलाएपछि आफूहरूलाई एकपटक पनि सम्पर्क नगरेको यज्ञराजले बताए । डोटीमा बस्ने तीर्थराजलाई पक्राउ गरेर सोधपुछ गरे अपराधीबारे केही पत्ता लाग्न सक्ने उनले बताए । उनी निर्मलाको हत्यापछि शव सद्गत गर्ने माहोल बनाउनकै लागि महेन्द्रनगर आएको र डोटी गएपछि मोबाइल स्विच अफ गरेको पन्तदम्पतीको आरोप छ ।

 

गृहमन्त्रीले सुरक्षाको ग्यारेन्टी गरेपछि काममा फर्किए उपसचिव केसी
निर्मला पन्त हत्याको छानबिनका लागि गठित उच्चस्तरीय समितिबाट राजीनामा दिएका सदस्य वीरेन्द्र केसी काममा फर्किएका छन् । समितिको छानबिनबाट निर्मलाले न्याय नपाउने अवस्था आएको भन्दै उनले सोमबार राजीनामा दिएका थिए ।

 

बुधबार गृहमन्त्री रामबहादुर थापासँग भेटेपछि उनी आफ्नो एजेन्डामा गृह मन्त्रालय र छानबिन समिति सहमत भएको भन्दै काममा फर्किएका हुन् ।

 

 

भेटका क्रममा आफ्ना एजेन्डा प्रस्ट रूपमा प्रतिवेदनमा राख्न पाउने आश्वासन दिइएको र सुरक्षाको समेत ग्यारेन्टी लिएकाले राजीनामा फिर्ता गरेको बुधबार दिउँसो गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बताए ।

 

उनले सोमबार पत्रकार सम्मेलन गरेर नै राजीनामा दिएका थिए । २४ भदौमा गृहमन्त्रीलाई भेट्ने प्रयास सफल नभएपछि अनुसन्धानमा आशंका लागेर आफूले राजीनामा दिएको उनले सुनाए ।

 

 

गृहमन्त्रीसँग आफ्नो सुरक्षा ‘थ्रेट’बारे पनि कुरा गरेको र गृहमन्त्रीले त्यसको ग्यारेन्टी गरेको केसीले सुनाए । ‘गृहमन्त्रीज्यूले सत्यतथ्य स्वतन्त्र रूपमा लिएर आउनुहोस्, तपाईंको कुरासँग म सहमत छु भन्नुभयो, मलाई जुन ढुक्क हुने वातावरण बन्यो, त्यसपछि म कन्भिन्स भएर काममा फर्किएको हुँ,’ पत्रकार सम्मेलनमा उनले भने, ‘पहिला मलाई समितिमा मेरो विचारको कुनै अर्थ रहँदैन जस्तो लागेको थियो ।’

 

 

समितिका संयोजक हरिप्रसाद मैनालीसँग पनि आफूले कुरा गरेको उनले बताए । ‘तपाईंको धारणामा म पनि सहमत छु भनेर उहाँले भन्नुभएको छ,’ केसीले भने, ‘मेरा एजेन्डामै उहाँ सहमत हुनुहुन्छ भने म अलग हुनुपर्ने कारण देखिनँ ।’

 

 

राजीनामा दिने क्रममा उनले आफूलाई सुरक्षा थ्रेट रहेको बताएका थिए । पत्रकारहरूले कोबाट थ्रेट रहेको भनेर सोधेपछि कञ्चनपुरको एउटा घटना विवरण सुनाए । निर्मलाको साइकल भेट्टाउने एक स्थानीयलाई लिएर आफू घटनास्थलमा गएको र एक व्यक्तिले त्यहाँ धम्की दिएको उनको भनाइ छ ।

 

‘यहाँ गाडीको ब्रेक फेल भयो भनेर मान्छे किचिएका छन्, अलि ख्याल गर्नुस् है भन्दै एकजना मोटरसाइकलमा जानुभयो । त्यसपछि म सशंकित भए, अनुसन्धान छाडेर गाडी बोलाएर जिल्ला प्रशासन कार्यालयमा गएर जानकारी गराएँ,’ उनले भने ।

 

आफूलाई धम्क्याउने हिसाबले नै त्यो व्यक्तिले त्यस्तो भनेको उनको दाबी छ । तर, धम्क्याउने व्यक्तिको मोटरसाइकल नम्बर टिप्न नभ्याएको उनले सुनाए । समितिबाट हट्दाभन्दा बस्दा नै निर्मलाको परिवारले न्याय पाउने देखेपछि आफू फर्किएको उनले बताए । प्रतिवेदनमा आफ्ना कुरा समावेश नभए फरक मत बुझाउने उनको भनाइ छ ।

 

अनुसन्धानमा आबद्ध प्रहरीहरू छानबिनमा
गृह मन्त्रालयको छानबिन समितिसँगै प्रहरी प्रधान कार्यालयले निर्मला पन्त हत्याको घटनाको प्रारम्भिक अनुसन्धान गर्ने प्रहरीमाथि आन्तरिक छानबिन सुरु गरेको छ । निलम्बित एसपी डिल्लीराज विष्ट, डिएसपी ज्ञानबहादुर सेठी, इन्सपेक्टर एकेन्द्र खड्कामाथि छानबिन सुरु भएको हो । उनीहरूलाई ७ भदौमा जिम्मेवारीबाट हटाइएको थियो ।

 

त्यस्तै, अनुसन्धानमा खटिएको सिआइबी टोलीमाथि समेत छानबिन हुन लागेको हो । सो टिमले दिलीपसिंह विष्ट नै अभियुक्त भएको भन्दै पत्रकार सम्मेलन गरेको थियो । तर, नयाँ प्रहरी टोलीले अनुसन्धान गर्दा उनीहरूको घटनामा संलग्न नभेटेपछि विष्ट जिम्मा जमानीमा छुटिसकेका छन् ।

 

उनीहरूले नियतवश नै नक्कली अभियुक्त खडा गरेको हुन सक्ने देखिएपछि प्रहरी प्रधान कार्यालयले प्रहरीमाथि नै छानबिन थालेको हो । उजुरी छानबिन इकाइलाई यससम्बन्धी जिम्मेवारी दिइएको छ । सो घटना अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीको गल्ती देखिए उनीहरूलाई कारबाही गरिने प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले बताए ।

 

 

बन्दुकको टुप्पोले घोचेर अपराध सकार्न लगाए  : दिलीपसिंह विष्ट

म सधैँ महेन्द्रनगर बजार जान्छु । तर, प्रहरीले मलाई पक्राउ गरेको बाटोबाट होइन, अर्को बाटोबाट । मलाई सादा पोसाकमा आएका तीन प्रहरीले पक्राउ गरे । मैले निर्मलालाई चिनेको पनि छैन ।

 

अहिलेसम्म अविवाहित छु, यौन चाहना भएको भए मैले विवाह गरिसक्थेँ । मलाई जुन दिन प्रहरीले पक्राउ ग-यो, त्यसैदिन दुईवटा कुर्सीको बीचमा च्यापेर अपराध सकार्न लगाए । मैले होइन भनेँ ।

 

 

मसँग त्यसदिन ३२ रूपैयाँ थियो । सिआइबीबाट आएको भन्ने प्रहरीले फकाउन थाले । २ सय रूपैयाँ पनि दिए । गाँजा, चरेसको व्यवस्था पनि गरिदिन्छु भने । ‘पेटभर खाना पाउँछस्, कति दिन माग्दै हिँड्छस्’ भनेर फकाए । तर, गर्दै नगरेको अपराध मैले कसरी सकार्ने ? मेरोबारेमा सिंगो महेन्द्रनगर र मेरो गाउँमा गएर बुझ्दा हुन्छ । म त्यस्तो हराम गर्ने गरी बिग्रिसकेको छैन ।

 

 

म बागफाटामा बस्छु । त्यहाँ कसैलाई पनि सोध्नुहोस्, म नारीलाई कति सम्मान गर्छु ? मलाई काठमाडौं लगे । धेरै जाँच गरे । पाँचपटक त मेरो रगत लिए । पछि डाक्टरले सोधे, ‘धेरै कुरा नर्मल देखिएको छ, तिमीलाई अरू कुनै समस्या छ ?’ मैले भनेँ, ‘गाँजा वा चरेसको नसामा रहेका वेला म मान्छेहरूसँग कुरा गर्न डराउँछु । उनीहरूको प्रश्नको उत्तर दिन सक्दिनँ । त्यसवेला मलाई टाउको दुखेजस्तो हुन्छ । म एक्लै रमाउँछु, मानिसहरूको संगत गर्न नपरे हुन्थ्यो झैँ लाग्छ ।’

 

म महेन्द्रनगर बजारमा गएर मानिसहरूसँग पैसा माग्छु । एकजनासँग दश रुपैयाँभन्दा बढी कहिल्यै मागिनँ । कहिले सय त कहिले एक सय पचाससम्म कमाउँछु । त्यो पैसाले म थोरै रक्सी खान्छु । अनि एक चिलिम गाँजा खान्छु । मागेर पैसा नपाएको दिन गाँजाको चिलिम बनाउँछु, अर्को कसैले खान्छ र मलाई ५० रुपैयाँ दिन्छ ।नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
एमालेले प्रत्येक मतदान केन्द्रमा ३० जना भोलेन्टियर फोर्स खटाउने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई निष्पक्ष र सुरक्षित...

मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको...

बुथ कब्जा गर्ने कल्पना कसैले नगरे हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीप्रति प्रश्न उठाउने ठाउँ नै नभएको...

भदौ २४ को बिध्वंशका १० हजार भिडिओ क्लिप संकलन

    भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की...