प्रधानमन्त्रीले मुख्यमन्त्रीहरूलाई पत्याएनन्, तीनवटा पेट्रोल पम्पमा सिलबन्दी



 

केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार बनेको झन्डै ७ महिना बितिसक्दासम्म अन्तरप्रदेश परिषद् बैठक बस्न नसकेपछि मुख्यमन्त्रीहरू प्रधानमन्त्रीसँग असन्तुष्ट बनेका छन् । बल्ल बल्ल हुन लागेको उक्त बैठक झनै अन्योलमा परेपछि उनीहरू आक्रोशित समेत भएका छन् ।

 

प्रदेशमा कामै नपाएको भन्दै मुख्यमन्त्री, मन्त्री र सांसदहरू धेरैजसो काठमाडौं धाउने गरेका छन् । प्रदेशसभाहरु विधेयक तयार पार्न, प्रस्तुत गर्न, अन्य कानुनी र संवैधानिक काम गर्नसमेत अलमलमा पर्ने गरेका छन् । प्रदेश ५ को प्रदेशसभा बैठक सञ्चालनका लागि सहजीकरण गर्न पुगेका प्रदेश सभा सम्पर्क तथा समन्वय केन्द्रका उपसचिव रामकुमार पौडेलले आवश्यक पर्दा प्रदेशलाई संघले समन्वय गर्दै आएको बताए ।

 

आइतबार हुने भनिएका अन्तरप्रदेश परिषद्को बैठक अन्तिम अवस्थामा आएर रद्ध भएको थियो । त्यसअघि पोखरामा भएको मुख्यमन्त्रीको भेलाले एजेन्डासमेत तय गरेको थियो तर प्रधानमन्त्री ओलीले व्यस्तता देखाउँदै बैठक बसाएनन् ।, नेपाल समाचारपत्रमा अबर छ ।

 

 

छानबिन समितिबाट राजीनामा दिएका विरेन्द्र केसी समितिमा फर्किए 
बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटना जाँचबुझका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिबाट राजीनामा दिएका उपसचिव वीरेन्द्र केसी पुनः समितिमा फर्किएका छन् । समितिको म्याद थपेपछि असन्तुष्ट जनाउँदै समितिबाट राजीनामा दिएका केसीले बुधबार पत्रकार सम्मेलन गर्दै पुनः समितिमा फर्किएको जानकारी गराए ।

 

गृह मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा केसीले गृह मन्त्रालय, उच्चस्तरीय छानबिन समिति र आफ्नो उद्देश्य निर्मला पन्तका हत्यारा पत्ता लगाउनु रहेको बताउँदै समितिमै रहेर जिम्मेवारीबोध गर्दा हत्यारा पत्ता लाग्ने भएकाले समितिमा फर्किएको जानकारी दिए ।

 

साङ्गठानिक एकीकरणबारे विचार विमर्श 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सांगठानिक एकीकरणको कार्यलाई अघि बढाउने नीतिगत विषयमा विचार विमर्श भएको छ । प्रधानमन्त्री निवास बालुवामा बुधबार बसेको नेकपाको सचिवालय बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ले सरसल्लाह र परामर्शअनुसार प्राप्त भएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

बैठकमा अध्यक्ष द्वयले एकीकरणका कार्यलाई सम्पन्न गर्ने नीतिगत मान्यता प्रस्तावित गरेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रस्तुत मान्यता र मापदण्डमाथि छलफल गर्दै त्यसलाई टुङ्ग्याउने दिशामा अगाडि बढेको छ ।  बैठकमा उठेका विषयमाथि थप परामर्श गरी गर्न पार्टीले बिहीबार दिउँसो ३ बजे पुनः बैठक बोलाएको छ ।

 

समृद्धिका लागि बिआरआई आवश्यकः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकास एजेण्डा र समृद्धिको लक्ष्य हासिल गर्न ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) आवश्यक रहेको बताउनुभएको छ । त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक विभागले ‘बिआरआइका अवसर र नेपालमा यसको प्रभाव’का विषयमा बुधबार अयाोजित कार्यक्रममा उहाँले नेपालमा राजनीतिक क्रान्ति सकिएकाले अब सामाजिक रुपान्तरणको दिशामा सरकार अग्रसर रहेको बताउनुभयो ।

 

 

“दिगो विकास लक्ष्य हासिल गर्नका लागि पनि बिआरआइले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ” प्रधानमन्त्री ओलीले भन्नुभयो । चीनका राष्ट्रपति सि चिनफिङले अघि बढाएको यो परियोजना महत्वकांक्षी भए पनि यसले विश्वको दुईतिहाइ जनसंख्यलाई जोड्ने उहाँको भनाइ छ । “बिआरईले नेपालको विकासलाई पनि अघि बढ्न सघाउनेछ”–प्रधानमन्त्री ओलीले भन्नुभयो, “यसले नेपालको अर्थतन्त्रलाई बढोत्तरी गर्नेछ ।”

 

भेट्टाएको रु दुई लाख धनीलाई फिर्ता 
पश्चिम नवलपरासीका लालचन चौधरीले आफूले बाटोमा भेट्टाएको रु दुई लाख धनीलाई नै फिर्ता दिएका छन् । उनले यति धेरै इमान्दारिता प्रदर्शन गरेको भन्दै चौतर्फी प्रशंसा पाएका छन् ।

 

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१६ की पावित्री थारूले सोही ठाउँ सवुनीका ओमप्रकाश सहानीसँग ऋण मागेर रामग्राम–१० लक्ष्मीपुर जाने क्रममा सो रकम हराएको थियो । रकम भेट्टाएका रामग्राम–१६ कै लालचन चौधरीले पावित्री थारूको पैसा भएको हल्ला थाहा पाएपछि उनले आफैँ लगेर पावित्रीलाई पैसा फिर्ता दिएका हुन् ।

 

राजपाले संविधान दिवस होइन, विरोध दिवस मनाउने
राष्ट्रिय जनता पार्टी नेपालले असोज ३ गते संविधान घोषणा भएको दिनमा विरोध कार्यक्रम गर्न जिल्ला–जिल्लामा परिपत्र जारी गरेको छ । राजपा अध्यक्ष मण्डलको काठमाडौंमा भदौ २५ र २६ गते बसेको २ दिवसीय बैठकबाट संविधान जारी भएको दिन असोज ३ गते विरोधका कार्यक्रम गर्न निर्देशन दिइएको हो ।

 

तराई मधेशका सबै जिल्लाका अध्यक्ष मण्डललाई जारी गरिएको परिपत्रमा सबै जिल्लामा विरोधका कार्यक्रम गरेर ‘विरोध दिवस’ मनाउन निर्देशन दिइएको छ । राजपा संयोजक महन्थ ठाकुरद्वारा जारी परिपत्रमा असोज ३ गते दिउँसो विरोध प्रदर्शन तथा विरोधसभा गर्ने, साँझ ७ बजेदेखि सवा ७ बजेसम्म ‘ब्ल्याक आउट’ गर्ने र अन्य विरोधका कार्यक्रम आफैं तय गरेर विरोध गर्न निर्देशन दिइएको छ ।

 

पत्रकार बस्नेतलाई रिहा गर्न माग
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले साभार गरेको समाचार सामग्रीका आधारमा पक्राउ गरिएको भनिएका पत्रकार राजु बस्नेतलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ ।

 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत प्रकाशित कुनै समाचार या साभार गरिएको विषयवस्तुप्रति व्यक्ति, संस्था वा राज्य कसैको पनि विमति हुँदा त्यसलाई खण्डन गर्ने÷गराउने निश्चित विधि–प्रक्रिया लोकतान्त्रिक प्रणालीले सुनिश्चित गरेको उल्लेख गर्नुभएको छ । “बदलिएको परिस्थितिमा पनि पत्रकारले निरन्तर पीडा भोग्नु परेको चित्र दुःखद त छ नै अत्यन्तै गम्भीर पनि छ”, विज्ञप्तिमा उल्लेख छ ।

 

सुर्खेत–जुम्ला हवाई सेवा शुरु
कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि जुम्लासम्म सिधा हवाई यातायात सेवा बुधबारदेखि शुरु भएको छ । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले समिट एयरको ९ एन एकेजेट कलसाइनको जहाज चढेर सो सेवाको उद्घाटन गरे ।

 

उनीसंगै उक्त जहाजबाट १८ जनाले पनि सुर्खेतबाट जुम्लाको यात्रा गरे । साहित्य, कला, संस्कृति र भाषालगायत क्षेत्रमा प्रदेशकै लागि अत्यन्त महत्वपूर्ण मानिएको जुम्लाको राजधानी सुर्खेतसँग सहज पहुँच कायम गर्न सिधा हवाई सेवा शुरु गरिएको मन्त्री बुढाले बताए ।

 

सुर्खेत–जुम्ला सिधा हवाई भाडा दर रु तीन हजार ९६५ कायम गरिएको समिट एयर सुर्खेतका प्रबन्धक चन्द्रङ्ग शाहीले जानकारी दिए । प्रबन्धक शाहीकाअनुसार हप्ताको दुई दिन मङ्गलबार र शुक्रबार सुर्खेत–जुम्ला सिधा हवाई सेवाका लागि उडान गरिनेछ ।

 

 

पाँच हजारसहित प्रहरी नायब निरीक्षक पक्राउ 
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा प्रहरी नायब निरीक्षक रामबाबु यादवलाई पक्राउ गरेको छ । रु पाँच हजार घुस रकमसहित टोलीले रङ्गेहात पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय रामगोपालपुरका इञ्चार्ज प्रहरी नायब निरीक्षक यादवले भारतबाट नेपालतर्फ समान ल्याउनेक्रममा सहयोग गरिदिने भन्दै एक जना सेवाग्राहीबाट उक्त रकम लिँदै गर्दा पक्राउ परेको जनाएको छ ।

 

 

पेट्रोल पम्पमा सिलबन्दी
रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा पर्ने हुलाकी राजमार्गका तीनवटा पेट्रोल पम्पमा सिलबन्दी गरिएको छ । सीमाक्षेत्रमा पेट्रोलियम पदार्थको अपचलनबाट नेपाली सवारीसाधनलाई डिजल र पेट्रोल अभाव भएपछि संयुक्त बजार अनुगमन टोली रुपन्देहीले बुधबार छड्के अनुगमन शुरु गरेको हो ।

 

 

ओमसतिया गाउँपालिका पर्ने सुरज आयल डिस्ट्रिब्युटर्स, रोहिणी गाउँपालिकामा पर्ने जय माँ दुर्गे आयल स्टोर्स धकधई र न्यू एभरेस्ट आयल सप्लायर्समा सिलबन्दी गरेको संयुक्त बजार अनुगमन टोली रुपन्देहीका संयोजक तथा सहायक प्रजिअ नारायण पाण्डेले जानकारी दिए ।

 

सीमा क्षेत्रमा पर्ने यी पेट्रोल पम्पले नेपाल आयल निगमले दिएको निर्देशन अवज्ञा गर्दै भारतीय नम्बर प्लेटका मालवाहक ट्रक, बस र कारलाई अनाधिकृतरूपमा पेट्रोल तथा डिजल बिक्री–वितरण गरेको थिए ।

 

नेपाल सेमिफाइलनमै रोकियो
बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा जारी साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमै रोकिएको छ । बुधबार भएको पहिलो सेमिफाइलनमा नेपाल माल्दिभ्ससँग ३–० गोल अन्तरले पराजीत भएको हो ।

 

पहिलो हाफको खेल सकिँदासम्म १–० गोलले पछाडि परेको नेपालले दोस्रो हाफमा थप दुई गोल खायो । नवाँै मिनेटमा माल्दिभ्सका कप्तान अक्रम अब्दुल घातीले पेनाल्टी बक्सको केही बाहिर पाएको फ्री किकलाई गोलमा परिणत गरेर माल्दिभ्सलाई अग्रता दिलाएका थिए ।

 

त्यसैगरी इब्राहिम हसनले तीन मिनेटको अन्तरमा दुई गोल गर्दै नेपालको उपाधि सम्भावना समाप्त पारे । ८४आैं मिनेटमा पहिलो गोल गरेका उनले ८६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै माल्दिभ्सलाई प्रतियोगिताको फाइनल पु¥याए । हारसँगै साफ च्याम्पियनसिप जित्ने नेपालको सपना समाप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

प्रेम आले, किसान श्रेष्ठ नेकपा एस फुटाउने अन्तिम तयारीमा

    नेकपा एमाले विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीभित्र विवाद झन्

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको