मेयर–उपमेयरको विवादले बनेन भ्यू टावर, म्याद सकियो १२ तले भवनको जग पनि बसेन



 

 

सम्झौताअनुसार निर्माणको  काम सम्पन्न भएको भए काठमाडौंको पुरानो बसपार्कमा यतिबेला १२ तले भवन ठडिइसकेको हुने थियो । तर सम्झौताको समय सकिँदासम्म जगसमेत बस्न सकेको छैन । जमिनभन्दा मुनीको काम अहिलेसम्म जम्मा ७५ प्रतिशत मात्रै सकिएको छ ।

 

यहि महिना निर्माण सम्पन्न गर्ने योजनाका साथ २०७२ साल भदौबाट निर्माण सुरु भएको काठमाडौं भ्यू टावरको जग पनि बस्न सकेको छैन ।

 

 

गृह मन्त्री रामबहादुर थापा ‘बादल’ले मन्त्रालयमा आफ्नो कार्यकालको १ सय दिनको अवसरमा पत्रकारहरुसँग कुरा गर्दै भनेका थिए, “समयमै काम नसक्ने कुनै पनि ठेकेदारलाई कारबाही गरिनेछ ।” गृह मन्त्री मात्रै होइन, प्रधानमन्त्रीले पनि पटक पटक काम नगर्ने ठेकेदारलाई कारवाही गरिने प्रतिवद्धता दोहोर्याएका हुन् ।

 

 

तर पनि काठमाडौंको बीचमै निर्माण अलपत्र पार्ने जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्सले भ्यू टावर नबन्नुको दोष आफ्नोमात्रै नभएको बताउँदै आएको छ । काठमाडौं महानगरका प्रमुख र उपप्रमुखबीचको विवाद, भूकम्पलगायतका कारण देखाइएको छ ।

 

 

“अहिलेसम्म जमिनमुनिको ७५ प्रतिशत काम सकिएको छ,” ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्सका म्यानेजर मनोजकुमार भेटवालले भने, “जमिन मुनीको काम सक्न अब ३ महिना समय लाग्ने देखिन्छ त्यसपछि मात्र जगभन्दा माथिको काम अघि बढ्छ ।”
काम सुरु गरेकै वर्ष वैशाखमा भूकम्प गएको र लगत्तैको नाकाबन्दीका कारण निर्माण सामग्री अभाव भएकाले त्यो वर्ष काम गर्न नसकिएको निर्माण कम्पनीले बताउँदै आएको थियो ।

 

त्यसपछिको एकवर्ष जमिनको ‘पाइलिङ टेस्ट’ गर्न त्यहाँको माटो सिंगापुर पठाइएकाले रिपोर्ट आउन ढिलाइ भएको बताएको छ ।

 

महानगरपालिका र निर्माण कम्पनीबीच भ्यू टावर निर्माण सम्झौता भएपछि २०७२ साल भदौबाट निर्माण कम्पनीले महानगरपालिकालाई त्यहाँको २४ रोपनी जग्गा उपभोगबापत वार्षिक रु. ९८ लाख महानगरपालिकालाई बुझाउँदै आएको छ ।

 

मेयर–उपमेयर विवाद पनि भ्यू टावरमै !

२०७४ साल वैशाखबाट भ्यू टावर निर्माणमा काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरबीच विवाद चुलिएको थियो । वर्षौंदेखि सञ्चालन हुँदै आएको बागबजारस्थित उक्त पुरानो बसपार्कलाई पु्रानै शैलीमा खुला रुपमै सञ्चालन गर्नुपर्ने स्थानीयको माग थियो ।

 

महानगरपालिकाकी उपमेयर पुरानो बसपार्कमा व्यवस्थित शौचालय र खानेपानीको व्यवस्था गरी खुला रुपमै सञ्चालन गर्ने पक्षमा रहेकी छन् भने मेयर शाक्य उक्त निर्माण कम्पनीलाई आधुनिक भ्यूटावर बनाउन दिने पक्षमा रहँदा गएको १ वर्ष निर्माण कार्य थप अन्योलमा परेको थियो ।

 

पूर्वाधार विज्ञका अनुसार कुनै पनि सहरमा २५ प्रतिशत खुला स्थान चाहिन्छ ।  काठमाडौंमा जे मा पनि आर्थिक लाभ खोज्ने व्यवसायी र जग्गा दलालीका कारण पछिल्लो समय खुला जमिन लोप हुँदै गएकोमा काठमाडौंको बीच भागमा बन्न लागेको यो भ्यू टावरले काठमाडौंको प्राचीन र मौलिक सौन्दर्य बिगार्ने सम्पदाप्रेमीहरुको गुनासो रहेको थियो ।

 

भ्यू टावर निर्माणका लागि ३ वर्षदेखि बागबजारको उक्त स्थान जस्तापाताले घेरेर राखेका कारण ८ मिटर चौडाइको बागबजारबार–अद्धैत मार्ग प्रयोग गर्न सर्वसाधारण, तरकारी व्यापारी र आरआर, शङ्करदेवलगायतका क्याम्पस जाने विद्यार्थीलाई सास्ती भएको छ ।

 

“सम्झौताअनुसार भदौ अन्तिममा निर्माण सम्पन्न हु्ने भए पनि नाकाबन्दी र कर्मचारी अभावका कारण समयमै भ्यू टावर निर्माण गर्न सकिएन,” म्यानेजर भेटवालले बाह्रखरीसँग भने, “यही जेठबाट जग निर्माणको काम भइरहेको छ ।

 

यहाँ कार्यरत अधिकांश कामदार तराईका रहेकाले त्यहाँ अहिले पनि बाढीको समस्या देखिएकाले कामदारहरु घरबाट फर्किसकेका छैनन् । कामदार फर्केपछि मात्र थप गतिमा काम अगाडि बढ्छ ।”

 

बसपार्क अव्यवस्थित

लामो समयदेखि सोही स्थानमा सञ्चालित बसपार्कलाई सो भवन बन्ने भएपछि अस्थायी रुपमा सारिएको थियो ।  पुरानो बसपार्कमा आउने केही बसलाई त्यसकै छेउमा र केही बस र माइक्रोलाई वीर अस्पताल अगाडिको स्थानमा बसपार्कका रुपमा सञ्चालन गरिएको थियो ।

 

२०७२ मा जलेश्वर स्वच्छन्द बिकोइ बल्डर्स र काठमाडौ महानगरपालिकाबीच भएको सम्झौताअनुसार यही भदौसम्ममा सो भवनको निर्माण सम्पन्न भइसक्नुपर्ने महानगरपालिकाका प्रशासन विभाग प्रमुख तथा प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

 

सार्वजनिक–निजि–साझेदारी (पीपीपी) मोडलबाट बन्ने यो भवनलाई काठमाडौं भ्यू टावरको नामसमेत दिइएको छ ।  जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले महानगरपालिकासँग ३० वर्षसम्म यसको सञ्चालन आफूले गर्ने सम्झौता गरेको छ ।  जसमा ५ वर्ष निर्माण अवधि र २५ वर्ष सञ्चालन अवधि गरी ३० वर्षसम्म यस भवनको सम्पूर्ण स्वामित्व उक्त निजी कम्पनीमा रहने छ ।

 

सो अवधिपछि यसको सम्पूर्ण स्वामित्व काठमाडौं महानगरपालिकालाई दिने सहमति छ । भ्यू टावर निर्माणपछि वार्षिक ३ करोड २५ लाख रुपैयाँ महानगरलाई बुझाउनेछ । जसमा निर्माण कम्पनीले वार्षिक ५ प्रतिशत वृद्धिदरसमेत जोडेर महानगरपालिकालाई बुझाउने सम्झौता भएको कार्कीले बताए ।

 

जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्सका आयोजना प्रमुख मनोजकुमार भेटवाल अबको २ वर्षमा यो भवनको निर्माण पुरा हुने बताउँछन् । १२ तला रहने प्रत्येक तलाको उचाइ ९ फिट राखिने यस भ्यू टावरको हालसम्मको निराशाजनक प्रगतिअनुसार २ वर्षभित्रै यसको सम्पूर्ण निर्माण सम्पन्न भई अत्याधुनिक बसपार्क सञ्चालनमा आउने देखिँदैन ।

 

सुरुका ३ तलामा आन्तरिक टर्मिनलसहितको व्यवस्थित बन्ने बताए पनि हालसम्म यो टावरको जग खन्नेबाहेक कुनै काम हुन सकेको छैन । २०७२ भदौमा ठेक्का लागे पनि निर्माण कम्पनी जलेश्वर स्वच्छन्द र बिकोइ बिल्डर्सले सम्झौताअनुसार ३ वर्षमै काम नसक्दा दुवै स्थानका अस्थायी बसपार्क अव्यवस्थित बनेका छन् ।

 

वीर अस्पतालअगाडि खुलामञ्च र बागबजार गरी दुई स्थानमा अस्थायी बसपार्क निर्माण गरिए पनि कुल २४ रोपनी क्षेत्रफलमा बन्न लागेको उक्त आन्तरिक टर्मिनलसहितको बहुतले भवन समयमै पूरा नहुँदा यात्रुलेसमेत हैरानी बेहोर्नुपरेको छ ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

प्रेम आले, किसान श्रेष्ठ नेकपा एस फुटाउने अन्तिम तयारीमा

    नेकपा एमाले विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीभित्र विवाद झन्

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको