रक्षामन्त्रीका कारण सेना विवादमा



 

 

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका कारण नेपाली सेना विवादमा तानिएको छ । भारतको पुणेमा आयोजित संयुक्त सैन्य अभ्यासमा नेपाली सेनालाई पठाउने रक्षामन्त्री पोखरेलको निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले खारेज गरिदिएपछि उत्पन्न विवादले एकातिर नेपाली सेना विवादको केन्द्रमा तानिएको छ भने अर्कातिर यो घटनाले नेपालको अपरिपक्व कूटनीतिलाई दर्साएको छ ।

 

दुई हप्ताअघि नेपालमै सम्पन्न बिम्स्टेक बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त सैन्य अभ्यासबारे बोलेपछि बिम्स्टेक सैन्य अभ्यासबारे बोल्ने फोरम होइन भन्दै निकै आलोचना भएको थियो । पुणेको सैन्य अभ्यासभित्र चीन र पाकिस्तानलाई ‘देखाइदिने’ नियत लुकेको भन्दै टिप्पणी गरिएको थियो । यद्यपि, त्यहाँ सैन्य अभ्यास गर्ने निर्णय बिमस्टेक बैठकले गरेको थिएन ।

 

पुणेको संयुक्त सैन्य अभ्यासमा नेपाली सेना जाने निर्णय भएको कुरा बाहिर आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यो निर्णय कहाँ, कसले गराएको भन्ने खोजी गरेका थिए । यस्ता कार्यक्रमहरूमा मान्छे पठाउँदा उपसचिवसम्मका लागि सचिवले, सहसचिवका लागि मन्त्रीले र विशिष्ट श्रेणीका लागि मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ ।

 

तर, विशिष्ट श्रेणीको प्रधानसेनापतिले नै नेतृत्व गर्ने गरी सेनाले तयारी गरेको थाहा पाएपछि प्रधानमन्त्रीले यसमा चासो राखेका थिए ।
स्रोतका अनुसार खोज्दै जाँदा यस्तो केटौलो काम रक्षामन्त्री पोखरेलबाट भएको रहेछ । कही निर्णय नभईकनै रक्षामन्त्री पोखरेलले पहिल्यै तीन जनाको एड्भान्स टिम पठाइसकेका थिए ।

 

 

प्रधानसेनापतिको निर्णय मन्त्रिपरिषद्ले गर्नुपर्ने भएका कारण मात्रै औपचारिक निर्णय हुन बाँकी थियो । ‘यता म प्रधानसेनापतिबारे निर्णय गराउँछु, तपाईंहरू जाँदै गर्नुस्’ भनेर पोखरेलले पठाएपछि ती सैनिक भारत पुगेका थिए ।

 

कतै निर्णय नभईकन सैन्य अभ्यासमा टोली पठाउने कुराले विवाद निम्त्याएपछि प्रधानमन्त्री ओली आफैंले यसलाई खारेज गरिदिएका थिए । बाहिरबाहिर आफू निकटस्थहरूसँग प्रधानमन्त्रीलाई भारतपरस्तका रूपमा चित्रित गर्दै केपी ओलीको विगत तपाईंहरूले जान्नुभएकै त छ भन्दै उडाउने पोखरेल स्वयंचाहिँ भारतसँग निकट हुन निरन्तर प्रयासरत रहेको रूपमा यस घटनालाई लिइएको छ ।

 

रक्षामन्त्री पोखरेलको कार्यशैलीबाट प्रधानमन्त्री दिक्क भएको बताइन्छ । विगतमा डा. युवराज खतिवडा अर्थमन्त्री बनाएपछि पोखरेलले आफूलाई भारतले अर्थमन्त्री बन्न नदिएको भन्दै प्रचार गराएका थिए ।

 

सैन्य अभ्यासमा भाग लिने÷नलिने भन्ने कुराको विवाद ठूलो होइन, तर आज जाने निर्णय गर्ने १० दिन बितेपछि त्यो निर्णय खारेज गर्ने र अनावश्यक ढंगले छिमेकी चिढ्याउने यो शैलीले कूटनीतिक क्षेत्रमा नेपालको छविलाई कस्तो हालतमा पु¥याउला ? योचाहिँ गम्भीर प्रश्न बनेको छ । र, यसले रक्षामन्त्री पोखरेलमाथि नैतिक प्रश्न पनि खडा भएको छ ।

 

दुवै अध्यक्षको एउटै बोली

नेपाल कम्युनिस्ट पार्टीका दुवै अध्यक्ष राष्ट्रिय स्तरको टे«ड युनियन खारेज गर्न नहुने पक्षमा दृढ छन् । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले ट्रेड युनियन राख्नुपर्ने पक्षमा पटक–पटक आफ्ना अभिव्यक्ति दिँदै आएका छन् । तर, टे«ड युनियन खारेज गर्ने खालको विधेयक भने अहिले मन्त्रिपरिषद्मा पुगेर थन्किएर बसेको छ ।

 

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भदौको पहिलो हप्ता नै संघीय निजामती सेवा ऐन २०७५ मन्त्रिपरिषद्मा पेस गरेका थिए । तर, मन्त्री पण्डितले नयाँ विधेयक पेस गरेलगत्तै कर्मचारीहरूले तीव्र विरोध जनाएका थिए । सो ऐनमा राष्ट्रिय स्तरका ट्रेड युनियनहरू खारेज गर्नुपर्ने र नासुसम्मलाई समेट्ने गरी एकल ट्रेड युनियन बनाउने व्यवस्था उल्लेख छ ।

 

तर, मन्त्रिपरिषद्मा राष्ट्रिय स्तरका टे«ड युनियनहरू खारेज गर्ने विधेयक पेस भए पनि प्रधानमन्त्री ओलीले भने भदौ २२ गते आयोजित निजामती सेवा दिवसमा भने टे«ड युनियनहरू खारेज नहुने मन्तव्य दिएका थिए ।

 

सो कार्यक्रममा प्रधानमन्त्री ओलीले बताएका थिए, ‘ट्रेड युनियनहरू यथावत् रहन्छन्, खारेज हुँदैनन् । टे«ड युनियनहरूलाई अझ प्रभावकारी बनाइनेछ । तपाईंहरू ढुक्क भएर बस्नुसु, टे«ड युनियनहरू खारेज हुँदैनन् ।’ सो कार्यक्रममा मन्त्री पण्डित पनि सहभागी थिए ।

 

यसैगरी, नेकपाका अध्यक्ष दाहालले गएको साउन १५ गते आयोजित निजामती कर्मचारीहरूको एक कार्यक्रममा पनि टे«ड युनियनहरू खारेज नहुने भनाइ राखेका थिए । सो कार्यक्रममा दाहालले भनेका थिए, ‘टे«ड युनियनहरूलाई अझ प्रभावकारी बनाउनेतिर लाग्नुपर्छ, यसलाई खारेज गर्ने कार्य सम्भव छैन ।’ उक्त कार्यक्रममा पनि मन्त्री पण्डित सहभागी रहेका थिए ।

 

तर, नेकपाका दुवै अध्यक्षहरूले टे«ड युनियनहरू रहने अभिव्यक्ति दिए पनि र कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकालले पनि ‘टे«ड युनियनहरू राख्नुपर्ने’ सुझाव सामान्य प्रशासन मन्त्रालयमा पठाए पनि टे«ड युनियन खारेज गर्ने विधेयक भने मन्त्रिपरिषद्का लट्किएर बसेको छ ।

 

टे«ड युनियनहरू राख्ने वा खारेज गर्ने भन्ने विषयमा प्रधानमन्त्री, पार्टी अध्यक्ष र मन्त्रीबीच मतैक्य हुन नसक्दा त्यत्तिकै अल्झिएर बसेको बताइन्छ ।बुधबारबाट

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

प्रेम आले, किसान श्रेष्ठ नेकपा एस फुटाउने अन्तिम तयारीमा

    नेकपा एमाले विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीभित्र विवाद झन्

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको