निर्मलाको हत्यारा पत्ता नलागेपछि प्रधानमन्त्री भेट्न आमा बुबा काठमाडौमा



हाम्रो इकोनोमि

 

 

बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तको घटना अनुसन्धानमा सरकारको ध्यानाकर्षण गर्न आमाबुबासहित महिला अधिकारकर्मीको टोली कञ्चनपुरबाट काठमाडौं आइपुगेको छ ।

 

निर्मला हत्याकाण्ड झन् रहस्यमय बन्दै गएपछि निर्मलाका बुबा यज्ञराज पन्त, दुर्गा पन्तलगायतको टोली काठमाडौं आइपुगेको हो ।

 

टोलीले राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, सभामुख, सत्तारुढ दलका अध्यक्ष प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष, राष्ट्रिय महिला आयोगका अध्यक्ष, प्रहरी महानिरीक्षकलगायतलाई भेट्ने योजना बनाएको छ ।

टोलीमा निर्मलाका आमाबुबासँगै अधिकारकर्मीहरु शारदा चन्द, माया नेगी, प्रेमवती राना, मीना भण्डारी, लक्ष्मी मल्ल, निर्मला भट्ट, जानकी  जोशी र रमा पन्त रहेका छन् ।

 

‘‘हामीले न्याय नपाइसकेपछि काठमाडौं आएका हौं, सबै पक्षको सहयोग चाहिएको छ,’’ अधिकारकर्मी चन्दले भनिन् । आफ्नै निजी खर्चमा काठमाडौं आएका उनीहरुले निर्मला हत्याकाण्डको सत्यतथ्य जनतासामु ल्याइदिन सञ्चारमाध्यमलाई आग्रह गरेका छन् ।

 

चन्दले भनिन्, ‘‘स्वयं प्रधानमन्त्रीले नै निर्मलाको शव मेयरको आँगनमा राखिएको बताएपछि कञ्चनपुरवासीको मन दुखेको छ । मेयरको आगनमा शव राखिएको छैन, प्रधानमन्त्रीलाई गलत सूचना प्रवाह भएको छ, यो सच्याइनुपर्छ ।’’

 

प्रधानमन्त्री ओलीले ‘जनतासँग प्रधानमन्त्री’ नामक टिभी कार्यक्रममा निर्मलाको शव मेयरको आँगनमा राखिएको बताएका थिए ।

 

]

कहाँ लुके त हत्यारा ?

 

गत साउन १० गते घरबाट निस्किएकी निर्मला ११ गते मृत अवस्थामा भेटिएकी थिइन् ।  बलात्कारपछि उनको हत्या भएको पुष्टि भए पनि हत्यारा को हो, कसरी हत्या भयोलगायत विषयमा प्रहरी अनुसन्धान जारी छ ।

 

यसअघि नै प्रहरीले मानसिक रोगी भनिएका दीलिप विष्टलाई मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको भए पनि प्रहरी अनुसन्धानमा नागरिक र स्वयं निर्मलाका परिवार पनि विश्वस्त हुन सकेनन् । विष्टलाई पक्राउ गरेपछि अनुसन्धानमा आशंका गर्दै स्थानीयले चित्तबुझ्दो प्रहरी अनुसन्धानको माग गर्दै प्रर्दशन गरेका थिए ।

 

प्रदर्शनमा क्रममा प्रहरीको बल प्रयोग हुँदा गोली प्रहारबाट एकजनाको ज्यान जानुका साथै १२ जना घाइते भएका थिए । घाइतेमध्ये १८ वर्षीय अर्जुन भण्डारा अहिले पनि अचेत अवस्थामा त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।

 

प्रहरी अनुसन्धानका लागि निर्मलाकी साथी रोशनी बम र उनकी दिदी बबिता बमलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

 

पछिल्लो अनुसन्धानबारे प्रहरीले केही बताउन चाहेको छैन । अनुसन्धानकै लागि केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले एसएसपी ठाकुर ज्ञवाली नेतृत्वको टोली कञ्चनपुर पठाएको छ । त्यसअघि कञ्चनपुर पठाइएका डिएसपी अंगुुर जिसीको टोलीलाई काठमाडौं फिर्ता बोलाइएको छ ।

 

 

निर्मलाको हत्यारा को हो ? अझै अन्योल छ । स्थानीयले निर्मला हत्यामा उच्च पहुँच भएका व्याक्तिको संलग्नता भएको आरोप लगाउँदै आएका छन् ।

 

प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको बताउँदै आएको छ । आईजीपी सर्वेन्द्र खनालसमेत निर्मलाको घरमा पुगेर निष्पक्ष अनुसन्धान र दोषीलाई पहिचान गर्दै हदैसम्मको कारबाही प्रक्रियामा ल्याउने बचन दिएर फर्किएका छन् ।

 

घटना झन् रहस्यमय बन्दै

 

पछिल्लो डेढ महिनायता सबैको ध्यान तानेको निर्मला हत्याकाण्ड झन् रहस्यमय बन्दै गएको छ । प्रहरी अनुसन्धान र सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्र केसीको राजीनामाले थप अन्योल र आशंका बढाएको छ ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक एवं सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित छानबिन समितिका सदस्य केसीले सुरक्षा खतरा बढेको र अनुसन्धानबाट आफूले न्याय दिन नसकेको बताउँदै सोमबार राजीनामा दिएका हुन् । अनुसन्धानका आन्तरिक कुरा खुलासा गरे ठूलो अशान्ति मच्चिने जिकिर गर्दै उनले धेरै कुरा खोलेनन् ।

 

 

समितिका संयोजक हरिप्रसाद मैनालीले केसीको राजीनामाले प्रतिवेदन लेखनमा असर नपर्ने बताएका छन् ।

 

“अनुसन्धान अवधिभर उनले (केसीले) कुनै विमति राखेनन्, आफूमाथि खतरा भएको कुरा पनि बताएनन्, उनको बारेमा म बोल्न चाहन्न,’’ संयोजक मैनालीले भने । समितिले प्रतिवेदन लेख्ने काम सुरु गरिनसकेको पनि उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस
एमालेले प्रत्येक मतदान केन्द्रमा ३० जना भोलेन्टियर फोर्स खटाउने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई निष्पक्ष र सुरक्षित...

मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको...

बुथ कब्जा गर्ने कल्पना कसैले नगरे हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीप्रति प्रश्न उठाउने ठाउँ नै नभएको...

भदौ २४ को बिध्वंशका १० हजार भिडिओ क्लिप संकलन

    भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की...