अर्धभूमिगत सीके राउत खोज्दै प्रहरी, काहाँ छ राउत, किन भेटदैन प्रहरीले
३ असोज अर्थात नेपालको संविधान २०७२ जारी भएको दिन । ३ असोजलाई नेपाल सरकारले संविधान दिवसको रुपमा मनाउँदै आइरहेको छ । तर, स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष सीके राउत ३ असोजलाई कालो दिवस मनाउने तयारी गरेका छन् ।
तराई मधेशमा विखण्डनका नारा लगाउँदै आइरहेका राउतले संविधान जारी भएको दिन ३ असोजमा जनकपुरमा आमसभा गर्ने तयारी गरेका छन् । राउत समर्थकहरुले सामाजिक सञ्जालमार्फत ३ गते जनकपुरमा हुने आमसभामा सहभागी हुन सर्वसाधारणलाई अपिल गरेका छन् ।
स्वतन्त्र मधेश गठबन्धनका एक कार्यकताले संविधानविरुद्ध आफूहरुले ३ असोजमा जनकपुरमा विरोध कार्यक्रम गर्न गइहरेको बताए । गठबन्धनका कार्यकर्ता एसएन मण्डलले आमसभामा अध्यक्ष राउतपनि सहभागी हुने दाबी गरे ।
नेपाल समयसँग कुरा गर्दै मण्डलले आमसभास्थल तय नभएपनि जनकपुरको रामानन्द चोकमा कार्यक्रम हुन सक्ने बताए । राउत त प्रहरीको खोजी सूचीमा रहेको प्रश्नमा मण्डलले भने,‘हामी आमसभा गर्छौं र राउतजी पनि सहभागी हुनुहुन्छ ।’
यसअघि खुल्ला सभागर्न प्रशासनले अवरोध गर्दै आइरहेको जिज्ञासामा मण्डलले प्रशासनले गर्ने गरेको अवरोधको आफूहरुलाई मतलब नरहेको जिकीर गरे । गठबन्धनका संयोजक राउत अहिले कताछन् भन्ने प्रश्नमा मण्डलले बोल्न चाहेनन् ।
राउतको कार्यक्रमका विषयमा आफूहरुले सञ्चार माध्यमबाट जानकारी पाएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम लामिछानेले बताए । ३ असोजमा हुने राउतको कार्यक्रमबारे विभिन्न सञ्चार माध्यममा आइरहेको सूचनाहरुलाई आफूहरु विश्लेषण गर्ने क्रममा रहेको उनले बताए ।
संविधानको अधिनमा रहेर गरिने कुनैपनि कार्यक्रममा अवरोध गर्ने आफूहरुको सोच नरहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए । यद्यपी सरकारको निर्देशन कुरेर बसी रहेको उनको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी दीपेन्द्रबहादुर शाहीले राउतलाई गिरफ्तार गर्न हालसम्म आफूहरुलाई कुनै निर्देशन नआएको दाबी गरे । ३ असोजमा उनले गर्न लागेको कार्यक्रमबारे समेत आफूहरुले आधिकारिक रुपमा कुनै जानकारी नपाएको उनको भनाइ छ ।
प्रहरीको निरन्तर खोजीमा रहेका राउतले आफ्नो घरमा सीसी टीभी क्यामरा जडान गरेका छन् । सुरक्षाको दृष्टिकोणले उनी आफ्नो घरमा सीसी टीभी क्यामरा जडान गरेको उनका कार्यकर्ताहरु बताउँछन् ।