१३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एकै गाउँका नौ पक्राउ



 

१३ वर्षीया बालिका बलात्कार गरेर गर्भवती बनाएको अभियोगमा प्रहरीले देउमाई नगरपालिका वडा नं. ९ का नौजना पक्राउ गरेको छ । एकजनाविरुद्ध अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ भने आठजनालाई शनिबार मात्र पक्राउ गरेको हो ।

 

बालिकाको पेटमा २४ हप्ताको गर्भ रहेको जनाइएको छ । उनका हजुरबाले दिएको उजुरीका आधारमा आरोपीहरू पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले अनुसन्धान भइरहेकाले पक्राउ परेकाको नाम खुलाउन नमिल्ने बताए ।

 

‘घटनाको थप अनुसन्धानका लागि आठजनालाई पक्राउ गरिएको हो,’ उनले भने, ‘आज पक्राउ परेकालाई आइतबार जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान गर्छौँ ।’ एकै ठाउँका ११ जनाविरुद्ध बलात्कारको उजुरी परेको छ ।

 

दुईजना भने फरार रहेको प्रहरीले जनाएको छ । सबैले फरक–फरक समयमा बलात्कार गरेको उजुरीमा उल्लेख छ । उजुरी परेकाहरू १८ वर्षदेखि ६५ वर्षसम्मका छन् ।

 

यसरी सार्वजनिक भयो घटना
बालिकाको पेट बढ्न थालेपछि परिवार र आफन्तले सोधपुछ गरेका थिए । उनले आफ्नै फुपाजुले बलात्कार गरेको बताएकी थिइन् । त्यसपछि स्थानीयले फुपाजुलाई बालिका जिम्मा लगाएर घटना मिलाएका थिए ।

 

गाउँमा नै घटना मिलाए पनि अधिकारवादी संघसंस्था प्रहरीमा पुगेका थिए । प्रहरीले फुपाजुलाई पक्राउ गरेर अदालतबाट म्याद थप गरेको छ । उनको म्याद थप गराउन सरकारी वकिलले बालिकाको बयान लिने क्रममा उनले अरू १० जनाको पनि नाम लिएकी थिइन् ।

 

२४ हप्ताको गर्भ
बालिकाको २४ हप्ताको गर्भ छ । उनी कक्षा ६ मा पढ्छिन् । उनको पेट अस्वाभाविक देखिएपछि परिवार र आफन्तले सोधपुछ गर्दा बलात्कार भएको खुलेको थियो । बालिकाको परिवारको आर्थिक अवस्था कमजोर रहेको स्थानीयको भनाइ छ ।

 

१८ देखि ६५ वर्षसम्मका
बलात्कार आरोपमा पक्राउ पर्नेहरू १८ वर्षदेखि ६५ वर्षसम्मका छन् । सबैभन्दा पहिला पक्राउ परेका बालिकाका फुपाजु ६० वर्षका हुन् । तर, १८ वर्ष भनिए पनि केही १५ वर्षका हुन सक्ने एक स्थानीयले बताए ।

प्रतिक्रिया दिनुहोस
लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल