विवाद बढेपछि बिमस्टेक सैन्य अभ्यासमा नेपाल नजाने, एउटै तक्माको मूल्य १५ लाख



 

बिमस्टेक राष्ट्रबीच हुने संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी नहुने भएको छ । नेपालको सहभागितालाई लिएर विवाद उत्पन्न भएपछि प्रधानमन्त्री केपी ओलीले सैन्य अभ्यासमा नजान नेपाली सेनालाई निर्देशन दिनु भएको हो । भदौ २५ देखि ३१ गते (सेप्टेम्बर १०–१६) सम्म भारतको पुणेमा संयुक्त सैन्य अभ्यास हुँदैछ ।

 

प्राविधिक र आर्थिक सहायताका लागि बनेको संगठनभित्र सैन्य अभ्यासको विषयले प्रवेश पाउनु असान्दर्भिक भएको भन्दै आलोचना हुँदै आएको थियो । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को सैन्य अभ्यासको समापन समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापा समेत सहभागी हुँदै थिए । प्रधानमन्त्रीको निर्देशनपछि नेपाली सेनाले सहभागिताका लागि गरेको सम्पूर्ण तयारी स्थगित गरेको छ ।, अन्नपूर्ण पोस्टमा खबर छ ।

 

एउटै तक्माको मूल्य १५ लाख
राज्यलाई महत्वपूर्ण योगदान दिएको आधारमा सरकारले हरेक वर्ष सयौँ व्यक्तिलाई विभिन्न विभूषण (तक्मा) ले सम्मान गर्दछ । सम्मानित हुनेमा धेरैजसो सत्तानिकट व्यक्ति हुने भएकाले विभूषण वितरण सधैँ विवादमा पर्ने गर्छ । यसमा हरेक वर्ष ठूलो बजेट पनि खर्च हुने गरेको छ ।

 

गत मंगलबार प्रदान गरिएको विभूषणमा करिब आठ करोड खर्च भएको छ । एक वर्षअघिको सिफारिसको आधारमा तीन सय ४३ जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित गरिएको थियो । जुन तक्मा बनाउन आठ करोड खर्च भएको गृह मन्त्रालयले जनाएको छ ।
सरकारले दिने तक्मामध्ये सबैभन्दा ठूलो नेपालरत्न हो । यो तक्मा बनाउन करिब १५ लाख खर्च हुन्छ । नेपालरत्न विभूषण यस वर्ष स्व. बिपी कोइरालालाई प्रदान गरिएको थियो । तक्मा हीराजडित हुन्छ । यसैगरी, राष्ट्रगौरव तक्माको नौ लाख, राष्ट्रदीपको करिब साढे ६ लाख तथा जनसेवाश्रीको ६ लाख रुपैयाँ लाग्छ । राष्ट्रगौरव र राष्ट्रदीप पनि हीरा र सुन जडान गरेर निर्माण गरिएको हुन्छ ।, नयाँ पत्रिकामा खबर छ ।

 

सरकारलाई चाँडै प्रतिवेदन बुझाउँछौँः छानबिन समिति
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्याको घटना छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले आफ्नो प्रतिवेदन चाँडै नै सरकारलाई बुझाउने जनाएको छ । समितिद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो ।

 

उक्त घटनाको छानबिनका लागि गृहमन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो । घटनास्थलमा पुगेका प्रहरी टोलीको गम्भीरता नदेखिएको अनुसन्धानका क्रममा पाइएको छ, छानबिन समितिका संयोजक मैनालीले भने, “जिम्मेवार प्रहरी अधिकारीबाट घटना छानबिनमा बेवास्ता देखिएकाले हामीले यहाँ आएकै दिन कञ्चनपुर प्रहरी प्रमुखलाई निलम्बन गर्न सरकारलाई सिफारिश गरेका थियौँ ।”

 

संयोजक मैनालीले अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीबाट गर्नुपर्ने काम नगरेको र गर्न नहुने काम पनि गरेको छानबिनका क्रममा देखियो भन्दै यी सबै विवरणसहित यथार्थ प्रतिवेदन मन्त्रालयलाई बुझाउँने बताए । बालिका निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या गरिएको शव साउन ११ गते विहान उखुबारीमा फालिएको अवस्थामा भेटिएको थियो ।

 

 

सरकार सुशासन र आर्थिक विकासमा केन्द्रित छः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अहिले सुशासन र आर्थिक विकासमा  केन्द्रित भएर अघि बढेको बताउनुभएको छ ।     इन्टरनेशनल फेडरेशन अफ यादव चेम्बर्श अफ कमर्शद्वारा शुक्रबार आयोजित नेपाल–भारत व्यापार सम्मेलनको उद्घाटन गर्दै उहाँले अब ‘समृद्ध नेपाल र सुखी नेपाली’को उद्देश्य पूरा गर्न ढिलाइ गर्दैनौ भन्नुभयो ।
 

लामो संक्रमणपछि देश राजनैतिक स्थायित्व प्राप्त गरेको हुँदा वैदेशिक लगानीका लागि अहिले उपयुक्त वातावरण रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “समृद्धिका लागि पूर्वाधार, सूचना र प्रविधि, वस्तु र सेवाका क्षेत्र अहिले हाम्रा प्राथमिकताका विषय हुन् ।”

 

मुख्यमन्त्रीको भेला सम्पन्न
प्रदेशका मुख्यमन्त्रीको प्रथम भेला आठबुँदे घोषणापत्रसहित पोखरामा सम्पन्न भएको छ । भेलामा शिक्षा, स्वास्थ्य, कृषि, प्राकृतिक स्रोत साधन, शान्ति सुरक्षा, मानवस्रोतको व्यवस्थापन अझै प्रदेश सरकारको मातहतमा आउन नसक्दा अन्यौलता बढेकोमा जोड दिइएको थियो ।

 

 

भेलामा प्रदेश सरकार सञ्चालनमा देखिएका विभिन्न चुनौती एवं समस्या र त्यसको निराकरणलगायतका विषयमा गम्भीर छलफल भएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । सङ्घीय ऐनको अभावमा प्रदेश लोकसेवा आयोग ऐन, प्रदेश निजामती सेवा ऐनलगायतका ऐन निर्माण हुन नसकेको भेलाले निष्कर्ष निकालेको छ ।

 

अन्तर प्रदेश समन्वय परिषद्मा व्यवस्थितरुपले निरन्तर छलफल गर्ने, प्रदेशमा आउने कर्मचारीको आन्तरिक बढुवामा प्रदेशको कामलाई मुख्य मापदण्ड बनाउनुपर्ने, प्रदेश प्रमुख सचिव प्रदेश सरकारको सहमतिमा ल्याइनुपर्ने तथा उनीहरूको सरुवा गर्ने अधिकार प्रदेश सरकारमा नै रहनुपर्ने लगायतका विषयमा भेलाले जोड दिएको छ ।

 

 

त्यस्तै राहदानी वितरण, सिफारिस, नागरिकता वितरण र सीमा सुरक्षा बाहेकका अन्य सम्पूर्ण अधिकार प्रदेश मातहत रहनुपर्ने र त्यही अनुरुप प्रमुख जिल्ला अधिकारीको व्यवस्थापन हुनुपर्ने सुझाव अघि सारिएको छ । अर्को विकल्पका रुपमा शान्ति सुरक्षा, कर्मचारी नेतृत्व, विकास निर्माणका लागि छुट्टै प्रशासनिक कार्यालय स्थापना गर्ने कुरा पनि अघि बढाइएको छ ।

 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोग नबन्दा केन्द्रको अनुदान, वित्तीय बाँडफाँडलगायतमा समस्या देखिएको ठहर गर्दै भेलामा राजश्वमध्ये ४० प्रतिशत सङ्घलाई र ६० प्रतिशत प्रदेश र स्थानीय तहका लागि छुट्याइनुपर्नेमा जोड दिइएको छ ।

 

सुरक्षित वैदेशिक रोजगारीको वातावरण सिर्जना गर्न निर्देशन
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका क्रममा देखिएका समस्या निराकरण गरी सुरक्षित वैदेशिक रोजगारीको वातावरण सिर्जना गर्न म्यानपावर कम्पनीलाई निर्देशन दिएको छ । म्यानपावर कम्पनीको अवान्छित कार्यको सुक्ष्म अनुसन्धान भइरहेको जनाउँदै विभागले त्यस्ता गतिविधि गर्ने कम्पनीलाई कानूनको दायरामा ल्याइने स्पष्ट पारेको छ ।

 

म्यानपपावर कम्पनीले कामदारको राहदानीलगायत कागजपत्र नियन्त्रणमा लिने, समयमै काममा नपठाउने र त्यसबीचमा कामदारले नजाने इच्छा व्यक्त गरेमा सबै कागजात फिर्ता नदिई दुःख दिनेजस्ता घटना बढ्दै गरेको जनाउँदै कामदारको राहदानी कम्पनीमा राख्दा कम्पनीले बुझिलिएको भरपाई दिने व्यवस्था अनिवार्य गर्न विभागले निर्देशन दिएको छ । कामदारको राहदानी कम्पनीमा सङ्कलन भएपछि अनिवार्य रुपमा नाम, राहदानी नम्बरको अभिलेख राख्नुपर्ने व्यवस्थालाई कडाइ गरिएको छ ।

 

एक दिवसीय क्रिकेटका लागि खेलाडी छनोट
भारतमा हुने उन्नाइस वर्षमुनि (यु–१९)को एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि १५ सदस्यीय टोलीको घोषणा भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आयोजना गर्न लागेको उक्त प्रतियोगिता यही भदौ २७ देखि असोज २ गतेसम्म सञ्चालन हुनेछ ।

 

प्रतियोगितामा आशिफ शेखले कप्तानीको भूमिका निर्वाह गर्नेछन् । त्यस्तै अन्य खेलाडीमा त्रिराज दास, रवि साह, विपिन रावल, लोकेश बम, रित गौतम, पवन सरार्फ, किशोर महतो, रसिद खान, भीम सार्की, कमल सिंह ऐरी, सुन्दिप जोरा, सागर ढकाल, अरुण ऐरी र मोहम्मद साम्सद आलम छनोटमा परेका छन् ।

 

यस प्रतियोगितामा राष्ट्रिय टोलीका कुनै पनि खेलाडी सहभागी छैनन् । प्रतियोगितामा आयोजक भारत, भारतकै नेशनल क्रिकेट एकेडिमी र अफगानिस्तानको यु–१९ टोली सहभागी छन् । उक्त प्रतियोगितामा सहभागिता जनाउनको लागि नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल