मातृका यादवको मन्त्रालयमा भद्रगोल, मन्त्री र सचिवको बोलचाल बन्द
उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव र सचिव यामकुमारी खतिवडाबीच समन्वय अभाव छ । मन्त्री यादव महिला आयोगका सचिव अनिल ठाकुरलाई सचिव बनाउने योजनामा रहेको स्रोत बताउछ ।
महिला र उद्योग मन्त्रालयमा लामो समयदेखि कार्यरत अनुभवी भएकाले उनलाई सरुवा गर्न पनि सकिरहेका छैनन् । मन्त्री र सचिवबीच द्वन्द्व बढ्दै गएको खबर छ । मन्त्रीसंग द्वन्द्व बढ्दै गएपछि सचिव खतिवडा १५ दिनदेखि बिदा लिएर बसेकी छिन् । सबै काम मन्त्री यादवले बाणिज्य सचिव चन्द्रकुमार घिमिरेबाट गराउने गरेका छन् ।
उद्योेगका काम पनि बाणिज्यले गर्ने भद्रगोल अवस्था छ । उद्योगका सरुवासमेत बाणिज्य सचिवबाट गराएको आरोप मन्त्रीमाथि छ । उद्योग अन्तर्गतका सरुवा गरेकोबारेमा सचिव खतिवडालाई थाहा समेत नदिइएको स्रोतले बताएको छ ।
स्रोतका अनुसार, मन्त्री यादवका स्वकीय सचिव सन्तोष बिष्टको दबदबा यति बढी छ कि उद्योग मन्त्रालयका सचिव खतिवडा त्यही भएर बिदा लिएर बसेको स्रोतले बतायो । मन्त्रालयका सरुवाको डिल बिष्टले नै गर्दैआएका छन् ।
यसैबीच, उद्योग विभागको महानिर्देशकमा सरुवा भएको २ महिना नपुग्दै शिवराम न्यौपाने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका छन् । उनलाई अख्तियारको बर्दिबास कार्यालयको प्रमुखमा सरुवा गर्न लागिएको खबर छ ।


