अधिकार प्रत्यायोजनमा केन्द्र किन अनुदार ?, उपसचिव सरुवामा चलखेलको आरोप



 

 

सरकारले सहुलियत कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निजामती सेवा पुरस्कार सम्बन्धमा समेत निर्णय गरेको युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले जानकारी दिए ।

 

त्यसैगरी बैठकले नेपालको ऊर्जा क्षमता तथा नवीकरणीय ऊर्जा प्रवद्र्धन दोस्रो चरणको कार्यक्रमका लागि जर्मन सरकारबाट प्राप्त हुने ३१ मिलियम युरो (करीब चार अर्ब नौ करोड रुपैयाँ) अनुदान सहायता रकम स्वीकृत गर्ने निर्णय गरेको छ ।

 

मन्त्रिपरिषद्को बैठकले मुक्त हलिया पुनःस्थापना समस्या समाधान समिति र मुक्त कमैया पुनःस्थापना समस्या समाधान आयोगलाई कायम राख्ने र यसै आर्थिक वर्षभित्र समस्या समाधान गरिसक्ने निर्णय गरेको मन्त्री विश्वकर्माले बताए ।

 

सरकारले धनुषा जिल्लाको शहीदनगर नगरपालिका वडा नं ८ डुमरियामा निर्मित अस्पताल भवनबाट स्वास्थ्य उपचार सेवा सञ्चालन गर्ने गरी प्राथमिक तहको १५ श्ययाको अस्पताल स्थपना गर्न सैद्धान्तिक स्वीकृत दिने निर्णय गरेको छ ।

 

‘अनुसन्धान प्रक्रियामा व्यापक त्रुटि’
राष्ट्रिय मानवअधिकार आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको शुरुआती अनुसन्धान प्रक्रियामा व्यापक त्रुटि भएको ठहर गरेको छ । भीमदत्तनगरमा बिहीबार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता मोहना अन्सारीले जुन प्रक्रियाबाट प्रहरी÷प्रशासनले अनुसन्धान गर्नुपर्ने हो त्यो नभएको आयोगको ठहर रहेको बताइन् ।

 

“जिम्मेवार व्यक्तिबाट अनुसन्धानमा गम्भीरता देखिएन”, प्रवक्ता अन्सारीले भनिन्, “घटनाको प्रमाण सङ्कलनमा पनि त्रुटि देखिन्छ ।” आयोगद्वारा जारी विज्ञप्तिमा घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्नेमा शुरुआती अवस्थामा नै प्रहरीको अनुसन्धान प्रक्रियासङ्गत नभएको आयोगको प्रारम्भिक अनुसन्धानको निष्कर्ष रहेको जनाइएको छ ।

 

पुनःनिर्माणलाई द्रुतगतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन 
प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माणको कामलाई द्रुतगतिमा अघि बढाउन निर्देशन दिनुभएको छ । प्राधिकरणको निर्देशक समितिको १३औँ बैठकलाई बिहीबार सिंहदरबारमा सम्बोधन गर्दै समितिका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले ऐन नियमले कुनै प्रकारका ढिलाइ भए त्यसलाई फुकाएर भूकम्पपीडितलाई यथाशक्य चाँडो घरबासको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।

 

प्रधानमन्त्री सचिवालयका अनुसार प्राधिकरण निश्चित समयका लागि भएकाले यसले पनि समयभित्रै काम सम्पन्न गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “पुनःनिर्माण प्राधिकरण घामजुन रहेसम्मका लागि स्थापना गरिएको होइन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “त्यसकारण यसले यथाशक्य चाँडो पुनःनिर्माणको काम सम्पन्न गर्नुपर्दछ ।” प्रधानमन्त्री ओलीले सरकारको अनुदान नपाई घर निर्माण गरेका पीडितलाई पनि अनुदान रकम उपलब्ध गराउन प्राधिकरणलाई निर्देशन दिनुभयो ।

 

उपसचिव सरुवा चलखेलको आरोप
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले झण्डै १ सय २० उपसचिव सरुवा गर्दा चलखेल गरेको आरोप कर्मचारीले लगाएका छन् । कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियन संघले अधिकांस कर्मचारी नेकपा निकटकालाई सरुवा गरेको आरोप लगाउदै उक्त सरुवा पुनरावलोकन गर्न माग गरेको छ ।

 

सरुवामा विवाद भएपछि मन्त्रालयले ६ दिन अघि सरुवा सूची सार्वजनिक गरेपनि प्रदेशमा सरुवा भएका बाहेक झण्डै ७० जनालाई पत्र दिएको छैन । मन्त्री गिरिराजमणी पोखरेलको सचिवालयले मन्त्रालयको वेवसाइटमा प्रकाशित भएको सरुवाको सूची पुनः परिवर्तन गर्ने तयारी गरेकोे छ ।

 

स्रोतका अनुसार सरुवा भएका उपसचिवले पत्र माग्दा मन्त्रालयले अझै हेरफेर हुन सक्ने भन्दै पत्र दिन नमिल्ने जवाफ दिने गरेको एक उपसचिवले बताए । मन्त्री पोखरेलले आफु निकटका कर्मचारीलाई पाठ्यक्रम विकास केन्द्र, इभेन्ट परियोजनामा सरुवा गरेको कर्मचारीको आरोप छ । संघका केन्द्रीय सदस्य दिवाकर शर्माले मन्त्रीले सरुवामा मनपरी गरेको आरोप लगाउदै भन्नुभयो–हाम्रा तर्फका कर्मचारीलाई पुरै पाखा लगाइएको छ ।

 

९० प्रतिशत त नेकपा निकटका नै होलान हाम्रो त १० प्रतिशत पनि छैन–उहाले भन्नुभयो । संघका पदाधिकारीले यो विषयमा जानकारी लिन मन्त्रीलाई भेट गर्न खोज्दा निजी सचिवालयले इन्कार गर्ने गरेको आरोप लगाएका छन् ।, नेपाल समाचारपत्रमा खबर छ ।

 

यात्रु ठग्ने ७१ ट्याक्सी नियन्त्रणमा 
महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी भाडा लिने ७१ ट्याक्सीलाई नियन्त्रणमा लिएको छ । महाशाखाले विशेष अभियान सञ्चालन गरी उपत्यकामा भनेको स्थानमा जान नमान्ने, राज्यद्वारा तोकिएकोभन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगार्ने ७१ ट्याक्सीलाई नियन्त्रणमा लिएको हो ।

 

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले बढी भाडा लिई यात्रुलाई दुःख दिने ट्याक्सीका चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिए । “महाशाखामा ट्याक्सीले यात्रुलाई ठगेको गुनासो धेरै परेपछि विशेष अभियान सञ्चालन गरेका हौँ”, उनले भने । महाशाखाले विशेष अभियान सञ्चालनका लागि ८० ट्राफिक प्रहरी खटाएको छ ।

 

मुख्यमन्त्रीहरूको भेला 
प्रदेशका मुख्यमन्त्रीहरूले केन्द्रले अधिकार बाँडफाँट नगर्दा काम गर्न समस्या भएको गुनासो गरेका छन् । पोखरामा बिहीबार आयोजित भेलामा मुख्यमन्त्रीहरूले अधिकार प्रत्यायोजनमा केन्द्र सरकार अनुदार बनेको बताए ।

 

केन्द्र सरकार र कर्मचारीको असहयोगी प्रवृत्ति संघीयता कार्यान्वयनमा बाधक बनेको बताए । आगामी आइतबार प्रधानमन्त्रीको आहवानमा हुन लागेको अन्तरप्रदेश परिषद् बैठकमा साझा अवधारणा बनाएर प्रस्तुत हुने तयारीस्वरूप मुख्यमन्त्रीहरू भेला भएका हुन् ।

 

भेलामा प्रदेशका मुख्य मन्त्रीहरूले सङ्घीयताको सफल कार्यान्वयनका लागि प्रदेश सरकारको भूमिका प्रभावकारी बन्नुपर्ने बताए । भेलामा शिक्षा, स्वास्थ्य, प्राकृतिक स्रोत साधन, शान्ति सुरक्षा, मानव स्रोतको व्यवस्थापन अझै प्रदेश सरकारको मातहतमा आउन नसक्दा अन्योलता बढेको उनीहरुको भनाइ छ ।

 

प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राईले जनताको अपेक्षा र चाहनालाई सम्बोधन गर्ने गरी प्रदेशको प्रभावकारिता वृद्धि हुनुपर्नेमा जोड दिए । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले संविधानले अवलम्बन गरेका सहकार्य, समन्वय र सहअस्तित्वको आधारमा अघि बढ्नुपर्ने बताए ।

 

प्रदेश नं ३ का मुख्य मन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको प्रभावकारिताका लागि कर्मचारी समायोजनलगायतका विषय अझै पनि समस्या रहेको बताए । गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले प्रदेश सरकार सञ्चालनमा विभिन्न चुनौती र समस्या देखिएको बताउँदै त्यसको निराकरणका लागि सामूहिक अवधारणा तयार गरी समाधानको प्रयास थालिने बताए ।

 

प्रदेश नं ५ का मुख्य मन्त्री शंकर पोखरेलले संघीयतालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषय अहिलेको प्रमुख विषय भएको बताउँदै एकात्मकताबाट सङ्घीयतातर्फको नयाँ अभ्यास शून्यताबाट शुरु भएको धारणा राखे । प्रदेश नं ७ का मुख्य मन्त्री त्रिलोचन भट्टले जनजीविकासँग जोडिएका अधिकाँश विषयमा प्रदेश सरकारबीच एकरुपताको खाँचो औँल्याए । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही भने भेलामा उपस्थित थिए ।

 

साफ च्याम्पियनसिप : दोस्रो खेलमा नेपाल विजयी 
बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भूटानमाथि शानदार जित हात पारेको छ । बङ्गलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रङ्गशालामा भर्खरै सम्पन्न खेलमा नेपालले भूटानलाई ४–० गोलले पराजित गर्यो ।

 

नेपालले खेलको २१औँ मिनेटमा अनन्त तामाङको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा  १–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप तीन गोल गर्दै ४–० को जित निकालेको हो । त्यसैगरी ७०औँ मिनेटमा सुनिल बलले दोस्रो गोल गरेका थिए ।

 

भुटानी खेलाडी निमा वाङ्दीले निराजन खड्कालाई डि एरियामा फाउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । विमल घर्तीमगरले पेनाल्टी सदुपयोग गर्न नसके पनि रिवाउण्डमा आएको बललाई सुनील बलले गोलमा परिणत गरेका थिए ।

 

त्यसपछि खेलको ७७औँ मिनेटमा भरत खवासले उत्कृष्ट गोल गरे । भुटानलाई लगातार दबाबमा राखेको नेपालले ८८ औँ मिनेटमा निराजन खड्काले गोल गरेर नेपाललाई ४–० को जित दिलाए ।

 

जितसँगै नेपालले महत्वपूर्ण तीन अङ्क जोडेको छ । जितसँगै नेपालको सेमिफाइल पुग्ने सम्भावना बढेको छ । हारसँगै भूटान प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि नेपाल पहिलो खेलमा मङ्गलबार पाकिस्तानसँग २–१ ले पराजित भएको थियो । नेपालले अब समूहको अन्तिम खेल आयोगक बङ्गलादेशसँग शनिबार खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल