सुत्केरीको मृत्युपछि तनाव, डुबेर दुई बालकको मृत्यु, बलात्कारीलाई बाह्र वर्ष जेल



हाम्रो इकोनोमि

 

सुत्केरीको मृत्यु भएपछि यहाँको एउटा स्वास्थ्यचौकीमा तनाव भएको छ ।

याङवरक गाँउपालिका–३ स्थित स्वास्थ्य चौकीमा सुत्केरीको मृत्यु भएपछि आफन्त आन्दोलनमा उत्रेका छन् । उनीहरुले चिकित्सकको लापर्बाहीका कारण सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन् । याङवरक गाँउपालिका–३ का सुत्केरी गीता देवान सेलिङको आइतबार स्वास्थ्यचौकीमा मृत्यु भएको थियो ।

 

मृतकका आफन्त सन्तोष सेलिङका अनुसार सुत्केरीलाई यही भदौ १५ गते स्वास्थ्य संस्थामा लगिएको थियो । त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले समयमै उपचारमा ध्यान नदिएपछि उनको मृत्यु भएको आफन्तको आरोप छ ।

 

स्वास्थ्यकर्मीले भने थप उपचारका लागि फिदिम ल्याउने क्रममा मृत्यु भएको दाबी गरेका छन् । मृतकका श्रीमान समीर सेलिङले स्वास्थ्यचौकी इन्चार्ज जेतबहादुर शाही तथा अनमीद्वय सोनामी तामाङ र वर्षा गौतमविरुद्ध किटानी जाहेरी दिने

बताउनुभयो । स्थानीयवासीले स्वाथ्य चौकीमा तालाबन्दीसमेत गरेका छन् ।

डुबेर दुई बालकको मृत्यु

पोखरीमा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ । नुहाउने क्रममा वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका १४ वर्षीय नितेश पटेल र ११ वर्षीय सुदर्शन पटेलको डुबेर मृत्यु भएको हो ।

 

दुवै जना रामगढवाको ज्योतिनगरस्थित पोखरीमा मङ्गलबार बेलुका साथीसँग नुहाउन गएका थिए । अबेर रातिसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा आज बिहान उनीहरुको शव पोखरीमा फेला परेको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो । दुवै बालकको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लगिएको छ ।

बलात्कारीलाई बाह्र वर्ष जेल

जिल्ला अदालतले पाँच वर्षीया बालिका बलात्कार आरोपमा एक युवकलाई १२ वर्ष जेल सजाय तोकेको छ ।

 

जिल्ला न्यायाधिश तीर्थराज केसीको एकल इजलासले मङ्गलबार त्रियुगा नगरपालिका– ३ मोतीगडाका १९ वर्षीय हेमबहादुर कार्कीलाई १२ वर्ष कैदसँगै रु ५० हजार जरिवानाको फैसला गरेको हो । बालिकाका अभिभावकले अभियुक्त कार्कीविरुद्ध २०७४ भदौ १९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए ।

 

किटानी जाहेरीपछि कार्की पक्राउ परेका थिए । यस्तै जिल्ला अदालतले सोमबार बालिका बलात्कारको अभियोगमा ६२ वर्षीय सुढीलाल चौधरीलाई सात वर्ष जेल सजायका साथै रु ३० हजार जरिवानाको फैसलासमेत गरेको छ ।

चट्याङबाट एकको मृत्यु

माइ नगरपालिकामा चट्याङ लागेर मङ्गलबार एक महिलाको मृत्यु भएको छ ।

चट्याङ लागेर माइ नगरपालिका–१ घर भई माइ नगरपालिका–६ पलासेमा डेरा गरी बस्ने ३६ वर्षीया कुमारी योङहाङको मृत्यु भएको हो । छिमेकीको घरमा चिया खाँदै गरेको अवस्थामा उनलाई चट्याङ लागेको हो ।

 

योङहाङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर स्थानीयवासी टीकामाया योङहाङ र प्रकृति फत्र घाइते भएका छन् । उनीहरुको झापाको विर्तामोडमा उपचार भइरहेको छ ।

बेचबिखनविरुद्ध प्रभातफेरी

मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १२औँ राष्ट्रिय दिवसको अवसरमा आज प्रभातफेरी गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा गरिएको उक्त कार्यक्रममा नेपाल प्रहरी, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, अधिकारकर्मीलगायतको सहभागिता थियो । सो अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले मानव बेचबिखन तथा ओसारपसार गम्भीर अपराध भएकाले यसको न्यूनीकरणका लागि सबै पक्षको सहयोगको अपेक्षा गर्नुभयो । उहाँले यस क्षेत्रमा क्रियाशील सङ्घ संस्थालाई आवश्यक पर्ने नीति निर्माणलगायत काममा मन्त्रालयले सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मिडिया मोविलाइजेसन फर सस्टेनेवल डेभलपमेन्ट’का अध्यक्ष नेहा शर्माले मानव बेचबिखनमा संलग्न तस्करको सञ्जाललाई नभत्काउँदासम्म यस क्षेत्रमा समस्या रहिरहने बताउनुभयो ।

 

‘विश्वास नेपाल’का अध्यक्ष तारा भण्डारी, परिवर्तन नेपालका प्रतिनिधि वर्षा लुइँटेललगायतले मानव बेचबिखनमा संलग्न व्यक्ति तथा गिरोहलाई कडाभन्दा कडा दण्डको व्यवस्था गर्न माग गर्नुभयो । बाजागाजासहित भृकुटीमण्डपबाट निकालिएको ¥याली भद्रकाली, शहीदगेट, नयाँ सडक, रत्नपार्क हुँदै राष्ट्रिय सभागृहमा समापन गरिएको थियो ।

स्वास्थ्यकर्मी आन्दोलनमा

महोत्तरीको सम्सी गाउँपालिकाका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् ।

गाउँपालिकाले गत वैशाखदेखिको तलब, भत्ता र अन्य सुविधा नदिएको विरोधमा स्वाथ्यकर्मीले सो गाउँपालिकामा मङ्गलबारदेखि तालाबन्दी गरेका छन् । पटक–पटक गाउँपालिका, स्वास्थ्यकर्मी तथा जिल्ला प्रशासन कार्यालयबीच तलब, भत्ता र अन्य सुविधा उपलब्ध गराउने सम्झौता हुँदै आएको थियो ।

 

गाउँपालिकाले उक्त सम्झौता कार्यान्वयन नगरेपछि स्वास्थ्यकर्मीले आन्दोलन थालेका हुन् । स्वास्थ्यकर्मीले आ–आफ्ना स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको आन्दोलन समितिका संयोजक राघवेन्द्रप्रसाद यादवले बताउनुभयो ।

 

गाउँपालिका र स्वास्थ्यर्मीबीच यसअघि २०७५ असार २८, साउन ५, साउन ७ र साउन २५ गते तलब, भत्तालगायत सुविधा उपलब्ध गराउने सहमति भएको थियो । स्वास्थ्यकर्मीले यही भदौ १ गतेदेखि आन्दोलनमा उत्रने चेतावनी दिएपछि गाउँपालिकाले यही भदौ १५ गते भित्रमा तलब, भत्तालगायत सुविधा उपलब्ध गराउने सहमति गरेको थियो ।

उक्त सहमति कार्यान्वयन नभएपछि उनीहरुले गाउँपालिकामा तालाबन्दीसँगै धर्ना दिँदै आएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा

    निर्वाचनमा उत्साहजनक सहभागिताका बढाउन निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म...

नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौड सुरु

    निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा पनि चुनावी...

रास्वपाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको राप्रपाको आरोप

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले रास्वपाले ध्वनी प्रदुषणा हुनेगरी...

ओखलढुङ्गा अस्मिता थापाका ६ संकल्प: पूर्वाधारदेखि प्रविधिसम्मको ‘रोडम्याप’

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि नेकपा...