देशका लागि खतरा सीके कि विप्लव ? प्रचण्ड भन्छन्– विप्लव, प्रधानमन्त्री ठान्छन्– सीके



हाम्रो इकोनोमि

 

नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच नेत्रविक्रम चन्द विप्लव र सीके राउतको विषयमा समान धारणा बन्न नसकेको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । जानकारीअनुसार सुरक्षा निकायहरूले नेपालको आन्तरिक शान्तिसुरक्षाका निम्ति विप्लव र राउतका गतिविधि चुनौती बन्न सक्ने निष्कर्ष केही अघि नै निकालेको छ ।

 

नेकपाको नाममा राजनीतिक क्रियाकलापमा सक्रिय नेत्रविक्रम चन्द विप्लव तथा उनको समूहले राष्ट्रियता र राजनीतिक शुद्धीकरण एवम् परिवर्तनलाई मुख्य एजेन्डा बनाएर गतिविधि गरिरहेको छ भने सीके राउत नेपालबाट तराईको केही भागलाई अलग्याएर बेग्लै देश खडा गर्ने अभियानमा सक्रिय रहेका छन् ।

 

दुवै समूहको गन्तव्य र सिद्धान्त परस्पर विपरीत भए पनि सुरक्षा निकायले दुवैलाई ‘सुरक्षा चुनौती’ मानेर तद्अनुरूप व्यवहार गरिरहेको छ ।

 

विप्लव र सीकेमध्ये प्रधानमन्त्री केपी ओली सीके राउतलाई राष्ट्रिय सुरक्षाका निम्ति घातक मान्छन् र, सुरक्षा निकायहरू पनि सीकेका गतिविधिमाथि ज्यादा निगरानी बढाइनुपर्छ भन्ने धारणा राख्दछन् । तर, प्रचण्डचाहिँ सीकेभन्दा विप्लवबाट सुरक्षामा चुनौती रहेको ठान्छन् ।

 

स्मरणीय छ, प्रचण्ड विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी आफ्नो निजी जीवनका निम्ति घातक हुन सक्छ भन्ने निष्कर्षमा छन् र ‘विप्लवहरूलाई सिध्याउन’ सक्दा मात्र आफ्नो जीवन पूर्ण रूपले सुरक्षित रहने विश्वासमा प्रचण्ड रहेको बुझिन्छ । त्यसैले राष्ट्रिय एकता र अखण्डतामा चुनौती बनेको सीके राउतभन्दा विप्लव समूहलाई ‘सिध्याउने’ अभियानमा उनी लागेका छन् ।

 

पछिल्लो समयमा विप्लव समूहका नेताहरू एकपछि अर्को पक्राउ पर्दै जानुमा पनि प्रचण्डको मुख्य हात रहेको छ । प्रचण्डले आफ्नो कोटाका गृहमन्त्री रामबहादुर थापा बादललाई विशेष निर्देशन दिँदै विप्लवका मान्छे बाँकी नराख्न भनेका छन् ।

 

आफ्नो पार्टीमा फर्कन चाहनेहरूलाई ढोका खुला पार्दै एकातिर पार्टी प्रवेश कार्यक्रम चलाइरहेका प्रचण्डले अर्कोतिर गृह प्रशासनको उच्चतम प्रयोग गरी विप्लवका गतिविधिमाथि पूरै नियन्त्रण गर्ने र अन्ततः उक्त राजनीतिक समूह नै सिध्याउने योजनाका साथ काम गरिरहेका छन् ।

 

आफ्नो सुरक्षाप्रति अत्यन्त संवेदनशील बनेका प्रचण्डले राष्ट्रिय सुरक्षामै ठूलो चुनौती बनेको सीके राउतका विषयमा भने उदारता देखाएका छन् । सीकेका गतिविधि पूर्ण नियन्त्रण गर्ने प्रधानमन्त्री केपीको इच्छामा प्रचण्ड बाधक बनेका छन् ।

 

पहिले ‘विप्लवहरूलाई सिध्याएर मात्र’ सीके राउतका विषयमा केही गर्ने सोच प्रचण्डले बनाएको र उनकै सोचअनुरूप गृहमन्त्रीले काम गर्ने गरेकोले राष्ट्रिय अखण्डतामै चुनौती बनेको सीके राउतविरुद्ध केही गर्न प्रधानमन्त्री असफल भएका छन् ।

 

प्रधानमन्त्री ओलीले संविधान दिवस (असोज ३ गते) लाई तीन दिनसम्म भव्यतापूर्वक मनाउने बताइरहेका बेला सीके राउतले असोज ३ गते जनकपुरमा सभा गरेर संविधान र देशकै विरुद्ध सङ्घर्ष गर्ने तयारी गरिरहेका छन् ।

 

यस प्रकरणले केपी र प्रचण्डका प्राथमिकता स्पष्ट गरेको छ, प्रचण्डले आफ्नो सुरक्षालाई देशको सुरक्षाभन्दा प्राथमिकतामा राखेका छन् भने प्रधानमन्त्री केपीले देशको सुरक्षालाई प्रथम प्राथमिकता दिएका छन् । तर, गृहमन्त्री बादल प्रधानमन्त्रीभन्दा प्रचण्डको निर्देशनप्रति ज्यादा संवेदनशील रहने गरेकाले यतिबेला सीके राउतहरूले छुट पाइरहेका छन् र विप्लवहरू नराम्रोसँग सताइएका छन् ।घटना र विचारबाट

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...