रहस्यमय बन्दै पूर्वराजदूतको हत्या र सांसदलाई धम्की



 

पूर्वराजदूत केशवराज झाको घरभित्रै बीभत्स हत्या भएको १५ दिन भएको छ । प्रहरीले उनका तीन कामदारलाई १५ दिनदेखि थुनामा राखेर अनुसन्धान गरिरहेको, तर हत्या गर्नेहरू कसरी घरभित्र छिरे भन्ने नै अहिलेसम्म प्रहरीले पत्तो लगाउन सकेको छैन ।

 

गत ४ भदौमा बबरमहलस्थित आफ्नै घरमा

सुतिरहेको अवस्थामा चक्कुले टाउको र घाँटीमा आक्रमण गरी उनको हत्या भएको थियो । घरमा झादम्पती मात्रै बस्दै आएका थिए । श्रीमती पहिलो तलामा सुत्थिन् भने उनी भुइँ तलामा । घर बन्द भएकाले कसरी हत्यारा घरभित्र छिरे भन्नेमै प्रहरी अल्झिएको छ । जसले ‘हाइप्रोफाइल मर्डर’ अनुसन्धानमा प्रहरीले केही तथ्य भेटाउन सकेको छैन ।

 

१५ दिनदेखि तीन कामदार हिरासतमा
दुई सातासम्म प्रहरी अनुसन्धान झाको घरमा काम गर्ने तीन कामदारमाथि नै घुमेको छ । झाको घरमा काभ्रे स्थायी घर भएका ४८ वर्षिय कान्छाराम तामाङ घरेलु कामदारका रुपमा कार्यरत थिए । बेलुका सुरक्षागार्डको काम पनि उनले नै गर्दथे । गेट नजिकैको टहरोमा सुत्दथे । प्रहरीको सबैभन्दा ठूलो आशंका उनैमाथि छ ।

 

त्यस्तै सो घरमा हरेक दिन बिहान मालीका रुपमा काम गर्ने ५३ वर्षिय आइतेसिंह तामाङ र गोरखाका ५६ वर्षिय जयबहादुर गुरुङलाई थुनामा राखी अनुसन्धान गरिरहेको छ । उनीहरुमाथि झुटो बोलेको पत्ता लाग्ने ‘पोलिग्राफ टेस्ट’ समेत भइसकेको छ । तर, हत्यामा संलग्नताको कुनै तथ्य भेटेको छैन । कान्छारामको पोलिग्राफ टेस्टमा कैफियत भेटिएको स्रोत बताउँछ ।

 

सो घटनाको धेरै कोणबाट अनुसन्धान भइरहेको र थप केही कुरा बुझ्नुपर्ने देखिएकाले कामदारलाई थुनामै राखिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंह बताउँछन्  ।

 

स्रोतका अनुसार घटनास्थलमा भेटिएको ‘फिंगरप्रिन्ट’ लगायतको रिपोर्ट नआएसम्म उनीहरुलाई थुनामै राख्ने प्रहरी तयारी छ । अनुसन्धानमा आबद्ध प्रहरीको भनाईमा घटनामा घर बाहिरका सदस्यको संलग्नता ज्यादै न्यून देखिन्छ । जसकारण प्रहरीले कामदार बाहेक अन्य व्यक्तिमाथि अनुसन्धानमा चासो दिएको छैन । प्रहरीको तालिमप्राप्त कुकुरले पनि घटनामा घरभित्रकै व्यक्तिको संकेत गरेको थियो ।

 

किन रहस्यमय बन्यो घटना ?
घटनास्थलको प्रकृतीका आधारमा यो निकै योजनाबद्ध र रहस्यमय हत्या भएको प्रहरी अधिकारीहरु बताउँछन् । किनकी घटना बन्द घरभित्र भएको छ ।

 

अहिलेसम्मको अनुसन्धानमा हत्या गर्ने व्यक्तिहरु पहिलो तलामा रहेको झ्यालको जाली काटेर भित्र छिरेको आँकलन गरिएको छ । तर, त्यसको विश्वस्त आधार छैन । झ्यालको जाली थोरै मात्र काटिएको छ, जहाँबाट मान्छे भित्र छिर्न सम्भव छैन । त्यसबाट हात छिराएर झ्यालको लक खोलेर भित्र छिरेको हुनसक्ने अर्काे आँकलन गरिएको छ । तर, जाली पहिले नै काटिएको जस्तो खिया लागेको छ र झ्यालको धुलो हेर्दा त्यहाँबाट कोही प्रबेश गरेको जस्तो देखिन्छ ।

 

घरका अन्य सबै झ्याल ढोका बन्द थिए । जून झ्यालको जाली काटिएको छ, त्यही कोठामा झाकी श्रीमती सुत्ने भएकाले उनले थाहा नपाउनु घटनाको अर्काे रहस्य छ । उमेर र रोगका कारण उनकी श्रीमती कमजोर भएकाले पनि उनले भनेका कतिपय कुरामा प्रहरीले विश्वास गरेको छैन । कसैले प्रहरी अनुसन्धानलाई तोडमोड गराउन पनि झ्यालको जारी काटिएको आँकलन समेत गरिएको छ ।

 

पहिलो तलाको झ्यालबाट छिर्न पनि कम्तीमा २५ फिट लामो भर्‍याङ प्रयोग गर्नुपर्छ । तर, भर्‍याङ प्रयोग गरिएको कुनै संकेत भेटिन्न । आपँको रुखबाट घरको छतमा जान सक्ने अवस्था छ । तर, छतबाट घरभित्र छिर्ने ढोकामा डबल लक थियो ।

 

हत्या गर्ने व्यक्तिले झाकै घरको किचनमा रहेको चक्कु प्रयोग गरेका छन् । किचनमा चक्कु राख्ने छुट्टै ड्रयर छ । किचनमा सो ड्रयरमात्र खोलिएकाले पनि घरको बारेमा जानकार नै व्यक्तिले हत्या गरेको हुनसक्ने अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् । अर्काेतर्फ छोरा–बुहारी विदेश गएको दोस्रो दिनमा हत्या हुनुले पनि परिचित व्यक्तिको संलग्नताको आधार बलियो छ ।

 

अर्काेतर्फ झाको कसैसँग दुश्मनी रहेको पनि पत्ता लागेको छैन । बुढानिलकन्ठको जग्गा बेच्ने क्रममा भने उनको केही सामान्य विवाद भएको थियो । त्यसलाई आधार बनाएर पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

हत्या गर्ने व्यक्तिले घरबाट केही लगेका पनि छैनन् । हालसम्म प्रहरीले अनुसन्धानको बाटो नै पत्ता लगाउन सकेको छैन । दुई साता बित्दा पनि ‘हाइप्रोफाइल मर्डर’ पत्ता नलाग्दा प्रहरी अनुसन्धानमाथि दबाब बढ्दै गएको छ । मृतक झाकी छोरीले प्रहरीमा जाहेरी दिइसकेकी छिन् ।

सांसद पालले जाहेरी नै दिइनन्

प्रधानन्यायाधीशमा सिफारिस भएका दीपकराज जोशीको संसदीय सुनुवाइ चलिरहँदा १५ साउनमा एक समूहले नेकपाकी सांसद निरुदेवी पाललाई पेस्तोल देखाएर मोबाइल लुट्यो । साँझ दूध किन्न पसल गएका वेला मोटरसाइकलमा आएका युवकले पेस्तोल देखाई धम्क्याएर मोबाइल लुटेको उनले संसद् सचिवालयमा दिएको उजुरीमा उल्लेख छ ।

 

अचम्म के छ भने घटनाको अनुसन्धानका लागि उनले अहिलेसम्म प्रहरीमा जाहेरी दिएकी छैनन् । जाहेरी नपरे पनि संसद्मा दिएको सूचनालाई नै आधार बनाएर अनुसन्धान अघि बढाइएको छानबिन टोलीका संयोजक महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीले बताए ।

 

सांसद पालले नै अनुसन्धानमा धेरै चासो नदिएकाले प्रहरीले यो अनुसन्धानलाई गम्भीरताका साथ लिएको छैन । पालले प्रहरीलाई भनेका कुरा र अनुसन्धानका कतिपय प्राविधिक नतिजामा भिन्नता देखिएको छ । स्वीच अफ रहेको मोबाइल लुटिएको उनको भनाई थियो । जून मोबाइल अहिलेसम्म स्वीच अन भएको छैन । जसले अर्काे हाइप्रोफाइल घटनाको अनुसन्धान रहस्यमै अल्झेको छ ।

 

‘कहिलेकाही अनुसन्धानमा क्लु नहुँदा धेरै नै अध्ययन र विश्लेषण गर्नुपर्ने हुन्छ,’ छानबिन टोलीका एसपी जोशी भने,‘सांसदमाथि धम्काएको घटनालाई गम्भीर रुपमा लिएर अनुसन्धान भइरहेकै छ ।’

 

साँझको समयमा व्यस्त सडकमा भएको घटनामा प्रत्यक्षदर्शी कोही नहुनु, पेस्तोल देखाएर धम्काउँदा पनि पालले प्रहरीलाई जानकारी नगराउनु, अनुसन्धानमा पीडितले धेरै चासो नदिनुले घटना रहस्यमय बनेको हो ।

महानगरीय प्रहरी आयुक्त डिआइजी मनोज न्यौपाने दुवै घटनालाई प्रहरीले गम्भीरताका साथ लिइ अनुसन्धान गरिरहेको बताउँछन् ।नयँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल