संविधान दिवस व्यक्तिको जन्म दिन जस्तो होइन, यसलाई साझा चाड बनाऊ : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसलाई राष्ट्रको साझा चाडका रुपमा मनाउनु पर्ने बताएका छन् ।

 

गृह मन्त्रालयमा आज संविधान दिवस मूल समारोह समितिले आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामो संघर्ष र बलिदानबाट ल्याइएको राष्ट्रको सबैभन्दा ठूलो पर्व संविधान दिवसलाई महोत्सवका रुपमा मनाइनु पर्नेमा जोड दिए ।

 

‘संविधान दिवसलाई हाम्रा चाड, उत्सव र दिवसमध्ये राष्ट्रको साझा दिवसका रुपमा मनाइनु पर्छ किनकी हाम्रो संघर्ष र बलिदानको सम्मानको खातिर प्राप्त उपलब्धीलाई संस्थागत गर्दै भविष्यको बाटो सुनिश्चित गर्ने काम संविधानले गर्छ, त्यसैले दिवसलाई तदअनुसार नै राष्ट्रिय साझा दिवसका रुपमा मनाइनु पर्छ’, प्रधानमन्त्री ओलीले भने ।

 

संविधान दिवसलाई सरकारी कर्मकाण्डीका रुपमा मात्रै सीमित गर्न नहुने बरु यसलाई जनस्तरमा पु¥याइनु पर्ने उनको भनाइ थियो । उनले भने, ‘सरकारी कार्यक्रम कर्मकाण्डी भए । जनताले अनुभूत गर्न पाएकै छैनन् । संविधान दिवस एउटा व्यक्तिको जन्म दिन मनाए जस्तो होइन, यसलाई पृथक ढङ्गले मनाउनु पर्छ ।’

 

प्रधानमन्त्री ओलीले धेरै ठूलो असहज र अप्ठ्यारोबाट संविधान जारी गरी कार्यान्वयनको दिशामा अघि बढेको र त्यसअनुसारको संरचना बनेको उल्लेख गर्दै यसको सम्बद्र्धनमा दृढतापूर्वक लाग्नुपर्नेमा जोड दिए ।

 

प्रधानमन्त्रीले विद्यालय तहदेखि नै संविधानका बारेमा जानकारी गराउन आग्रह गर्दै कवि, लेखक कलाकार आदिमार्फत स्वतःफूर्त ढङ्गले रचनात्मक क्रियाकलाप गर्न सम्बद्ध निकायलाई निर्देशन दिए ।

 

उनले भने, ‘संविधान र समृद्धिका विषयमा कविगोष्ठी गर्नुस् । संघीय संसद् भवनको अगाडि नेपालको संविधानको स्मारक राखौँ, यस्ता खाले कार्यक्रम जनव्यापी हुने र भविष्यमा पनि स्मरणमा रहने हुन्छन् ।

 

यस्ता राष्ट्रिय कार्यक्रम जनताको भएकाले जनस्तरमा पुर्‍याउनु पर्छ । यो हाम्रो सुन्दर भविष्यको रेखाङ्कन गरिएको कार्यक्रम भएकाले धूमधामसँग जनस्तरमै मनाइनु पर्छ । शहर, नगरपालिका झाँकीमय हुनुपर्छ, धूनमय बन्नुपर्छ, गाउँ, टोल आफ्नो पहिचानका साथ जुट्नुपर्छ, अनि मात्र यसको सार्थकता झल्किन्छ ।’

 

प्रमको अध्यक्षतामा मूल समिति

आगामी असोज २, ३ र ४ गते संविधान दिवस मनाउन प्रधानमन्त्री ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । समितिमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्व राष्ट्रपति, उपप्रधानमन्त्री पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीश, उपसभामुखलगायत ३३ सदस्य छन् ।

 

त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको संयोजकत्वमा २२ सदस्यीय प्रचारप्रसार उपसमिति गठन गरिएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा मञ्च सजावट तथा मञ्च व्यवस्था उपसमिति र काठमाडौँका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कवाज, व्यायाम तथा झाँकी व्यवस्थापन समन्वय उपसमिति गठन गरिएको छ ।

 

सो अवसरमा गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले संविधान दिवस, मूल समारोह समितिको कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रमअनुसार असोज २ गते काठमाडौँ उपत्यकाभित्रका सबै सरकारी कार्यालय, महानगरपालिका र नगरपालिकाले आआफ्नो क्षेत्रका विभिन्न स्थानमा राष्ट्रिय झण्डा एवं ब्यानर सजाई नगरको शृङ्गार र सरसफाइ गर्ने एवं मुलुकभरका सरकारी कार्यालय तथा नागरिकले घरघरमा सरसफाइ र दीपावली गर्नेछन् ।

 

राष्ट्रिय सञ्चारमाध्यममा संविधानको विषयमा केन्द्रित रही विशेष परिसंवादलगायत कार्यक्रम प्रशारण– प्रकाशन गर्ने तथा राष्ट्रिय खेलकूद परिषद्बाट म्याराथुन तथा क्रिकेट खेलको आयोजना र साँझ दीपावली गरिने कार्यक्रम छ । असोज ३ गते सैनिक मञ्चमा विशेष समारोह आयोजना गरिनेछ जहाँ राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट महानुभावको उपस्थिति रहनेछ ।

बिहान नेपाली सेनाद्वारा बिगुल(रिभ्याली) बजाउने, नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइँ (स्याल्भो र भली फायर) गर्ने कार्यक्रम छ । यस्तै असोज ४ गते सबै जिल्लामा वृक्षारोपण, रेडियो नेपालबाट जागरण गीत सम्मेलन तथा स्वास्थ्य मन्त्रालय र नेपाल रेडक्रसको समन्वयमा मुलुकभरी खुला रक्तदान कार्यक्रम गरिनेछ ।

 

विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्यदूतावासमा पनि संविधान दिवस मनाइने तथा असोज २, ३ र ४ गते साँझ दीपावली गरिनेछ छ । काठमाडौँ उपत्यका बाहिरका प्रदेशका राजधानी केन्द्र, जिल्ला र स्थानीय तहमा संविधान दिवस जिल्ला समारोह समिति गठन गरी सरसफाइ, प्रभातफेरी, खेलकूद, प्रवचन र साहित्यिक गोष्ठी, सांस्कृतिक कार्यक्रम र विभिन्न झाँकी प्रदर्शनी जस्ता विविध कार्यक्रमका साथ संविधान दिवस मनाइने र तीन दिन साँझ दीपावली गरिने छ ।

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...