२९ तले ‘काठमाडौं टावर’ नबन्ने पक्का, पुरानो बसपार्कमा के बन्दैछ ?



हाम्रो इकोनोमि

 

पुरानो बसपार्कमा बनाउन लागिएको ‘काठमाडौं टावर’ २९ तलाको नबन्ने पक्का भएको छ । रत्नपार्कनजिकै ठडिने ‘काठमाडौं टावर’ अब करिब १६ तलाको मात्रै बनाइने भएको छ । यद्यपि, उपत्यकामा १२ तलाभन्दा अग्लो भवन बनाउन अनुमति छैन ।

निर्माण कम्पनीले काठमाडौं महानगरपालिकासँगको सुरुको सम्झौता अनुसार २९ तलाकै बनाउन पाउनुपर्ने अडान राख्दै आएको थियो । ठेकेदार कम्पनी ‘जलेश्वर स्वच्छन्द बी कोई’ का सञ्चालक मनोज भेटवाल २९ तलाको बनाउन नपाउने भएपछि १६ तला बनाउने निष्कर्षमा पुगेको बताउँछन् ।

काठमाडौं महानगरपालिकाको सार्वजनिक निजी साझेदारी महाशाखा प्रमुख महेश काफ्लेले पनि उक्त टावरको तला केही थपिने पुष्टि गरे । उनका अनुसार यकिन टुंगो नलागे पनि ‘काठमाडौं टावर’ १५-१६ तलाको बनाउन दिने निर्णयमा महानगर पुगेको छ ।

वि.स. ०७१ माघ ११ गते काठमाडौं महानगरपालिका र जलेश्वर स्वच्छन्द बी कोइ कम्पनीबीच काठमाडौं टावर २९ तलाको बनाउने सम्झौता भएको थियो । ०७२ वैशाख १२ को भूकम्पपछि सरकारले काठमाडौंमा अग्ला भवन निर्माणमा रोक लगायो । त्यसै अनुसार ०७२ साउन १२ गते महानगरबाट काठमाडौ टावर १२ तलाको बनाउन नक्सा पास भएको थियो ।

निर्माण कम्पनी र महानगरले चाहँदैमा भवनको उचाइ बढाउन सक्ने अवस्था भने छैन । त्यसका लागि सरकारले नयाँ मापदण्ड ल्याउनुपर्ने हुन्छ । नयाँ मापदण्ड नआएसम्म काठमाडौंमा उक्त टावरसहित कसैले पनि अग्लो भवन बनाउन पाउने अवस्था छैन ।

नयाँ मापदण्डका लागि काठमाडौं महानगरपालिकाले उपत्यका विकास प्राधिकरणमार्फत शहरी विकास मन्त्रालयमा सिफारिस गरेको छ । तर त्यो मन्त्रालयमै थन्किएको अवस्थामा छ ।

फेरि काम थाल्ने तयारीमा कम्पनी

निर्माण कम्पनीले सेप्टेम्बर १ अर्थात यही भदौ १६ गतेबाट पुनः काम थाल्ने जनाएको छ ।

त्यसका लागि अहिले विदेशबाट ल्याउनुपर्ने निर्माण सामग्री ल्याउने काम भइरहेको ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्दका सञ्चालक मनोज भेटवालले जानकारी दिए । विदेशबाट लगानी ल्याउने भनिए पनि त्यसमा निर्माण कम्पनी नै अन्यौलमा छ । तर, लगानी जुटिसकेको सञ्चालकको भेटवालको दाबी छ ।

वाहृय लगानीका विषयमा भने उनले खुलाउन चाहेनन् । सुरुमा २९ तलाको बनाउने भन्दा ७ अर्बको लागत अनुमान गरिएकोमा अहिले साढे ३ अर्बको लागत लाग्ने कम्पनीको भनाइ छ । सम्झौताअनुसार महानगरलाई ठेकेदार कम्पनीले वाषिर्क दुई करोड ३५ लाख रुपैयाँ तिर्नुपर्ने हुन्छ । उक्त रकम वर्षेनी २.५ प्रतिशतका दरले वृद्धि हुन्छ ।

काममा ढिलासुस्ती

विभिन्न विवादका कारण टावरका कामले गति लिन सकेको देखिन्न । ‘काठमाडौं टावर’ तीन वर्षभित्रै निर्माण गरिसक्ने गरी सम्झौता भए पनि अहिलेसम्म जगको काम पनि सकिएको छैन । कम्पनीका सञ्चालक भेटवालका अनुसार अझै २५ प्रतिशत जमिनमुनिको काम बाँकी छ ।

स्थानीयले साँघुरो ठाउँमा अग्लो भवन बनाउन नहुने भन्दै राजनीतिक दलका नेता गुहारेपछि अन्योल बढेको थियो । महानगरकी उपमेयर हरिप्रभा खड्गीसमेत टावर निर्माणको विपक्षमा थिइन् ।

उक्त ठाउँमा बसपार्कलाई नै व्यवस्थित गर्नुपर्ने स्थानीयको माग छ । टावर बनाउनकै लागि ०७३ बैशाखमा बसपार्कलाई खुलामञ्चमा सारिएको थियो । सवारी र यात्रुको चाप हुने भएकाले खुलामञ्चलमा सारिएको बसपार्क अस्तव्यस्त छ तर यसको व्यवस्थापनमा महानगरपालिकाले चासो देखाएको छैन ।

यस्तो छ परिकल्पना

२३ रोपनी पाँच आनामा बन्ने टावरको ४० प्रतिशत भूभाग भवनले ढाक्नेछ । ६० प्रतिशत खाली जमीनमा बगैंचा र मनोरञ्जनात्मक केन्द्रहरु राख्ने योजना छ । निर्माण कम्पनीले २७ वर्षपछि महानगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौता छ । हरेक विकसित शहरमा एउटा भ्युटावरलाई पहिचान मानिने अन्तर्राष्ट्रिय अभ्यास छ । उक्त टावर पनि त्यस्तै अभ्यासबाट निर्देशित छ ।

टावरमा अत्याधुनिक बस टर्मिनल, होटेल, रेस्टुराँ, फिटनेस सेन्टर, सेमिनार र सिनेमा हल, स्विमिङ पुल र सपिङ सेन्टरहरु रहनेछन् । सोही टावरमा ८ हजारभन्दा बढीलाई रोजगारी दिने लक्ष्य छ ।

तीनवटा तलामा साना सवारी साधनको पार्किङ तथा ग्राउन्ड र बेसमेन्टमा बसपार्क राख्ने योजना छ । त्यसभन्दा माथिल्ला तलाहरुमा व्यावसायिक प्रयोजनका पसलहरु राख्ने योजना छ । बीसौं तलामा स्वीमिङ पुल निर्माण गर्ने डिजाइन छ ।

सबैभन्दामाथिको तला दृश्यावलोकनका लागि छुट्याइनेछ । उक्त टावर निर्माणको निर्णय तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारका पालामा भएको हो ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...

समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...