बिमस्टेक चौथो शिखर सम्मेलनमा आज के–के हुँदैछ ?



हाम्रो इकोनोमि

 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको औपचारिक उद्घाटन बिहीबार दिउँसो हुँदैछ ।

 

अध्यक्ष राष्ट्रका सरकार प्रमुखको हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्नेछन् । सम्मेलनका लागि सबै देशका राष्ट्रप्रमुख वा सरकार प्रमुख काठमाडौँ आइपुगेका छन् ।

 

बिहीबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट चान ओ चा आइपुगेका हुन् । श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार तथा प्रधानन्यायाधीश छिरिङ वाङचुक बुधबार र म्यान्मारका राष्ट्रपति विन मिन्ट मंगलबार नै काठमाडौँ आएका थिए ।

 

विदेश सचिव स्तरीय पछि विदेशमन्त्री स्तरीय बैठकले शिखर सम्मेलनमा प्रस्तुत गरिने सहमतिका विषयवस्तु तथा एजेण्डाहरु तय गरेका छन् ।
सम्मेलनको अन्तिम तयारी स्वरुप बुधबार भएको विदेश मन्त्री स्तरीय बैठकले अन्तर्राष्ट्रिय अपराध र मानव तस्करी अन्त्यका लागि शून्य सहनशीलताको नीति अपनाउने समझदारीमा हस्ताक्षर गर्ने निर्णय गरेको छ ।

 

बिमस्टेकको १६ औँ मन्त्रीस्तरीय बैठकले सदस्य राष्ट्रहरुबिच अन्तर्राष्ट्रिय अपराध नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अपनाउने विषयमा शिखर सम्मेलनमा सम्झदारी गर्ने निर्णय गरेको हो । मन्त्रीस्तरीय बैठकले शिखर सम्मेलनका लागि १६ वटा विभिन्न एजेन्डा तय गरेको छ ।

 

गरिबी निवारण, जलवायु परिवर्तन, मानव तस्करी र अपराध, भोकमरीलगायतका विषयमा सदस्य राष्ट्रहरुबिच सहकार्य गरेर अघि बढनुपर्नेमा जोड दिइएको छ । बैठकले काठमाडौँ घोषणा पत्रलाई अन्तिम रुप दिएको छ । अब शिखर सम्मेलनमा यी सबै विषयमा छलफल हुनेछ ।

पहिलो दिन के के हुँदैछ ?


प्रधानमन्त्री ओलीले दिउँसो तीन बजेपछि सोल्टी होटलमा चौथो शिखर सम्मेलनको उद्घाटन गर्ने छन् । उद्घाटन लगत्तै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने छन् ।

त्यसपछि बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्याण्डका राष्ट्रप्रमुख तथा सरकार प्रमुखले बोल्ने कार्यक्रम छ ।

बेलुका ६ बजेतिर सम्मेलनको पहिलो दिनको औपचारिक कार्यक्रम टुंगिनेछ । बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीले पाहुनाको सम्मानमा रात्रीभोज गर्नेछन् । रात्रीभोजसँगै पहिलो दिनका सबै कार्यक्रम सकिनेछन् ।

बिमस्टेक बारे जानौँ


बिमस्टेक यो क्षेत्रका राष्ट्रबिच आपसी सहयोग र सम्बन्ध बिस्तारका लागि स्थापित संगठन हो ।

यसमा नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्यान्ड गरी सात सदस्य रहेका छन् । बिमस्टेकको स्थापना सन् १९९७ को जुन ६ मा भएको हो । यसको प्रधान कार्यालय बंगलादेशको राजधानी ढाकामा छ । दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियाका सात देशको उप–क्षेत्रीय समूह हो, जुनदेशहरु बंगालको खाडीको तटीय तथा आसन्न क्षेत्रमा रहेका छन् ।

यो समूहले दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियामा बसोबास गर्ने झण्डै साढे एक अर्ब मानिसको प्रतिनिधिमुलक संस्था हो । यसले दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका देशबिच सम्बन्ध स्थापनाका लागि पुलको रुपमा काम गर्दै आएको छ ।

म्यानमार र थाइल्याण्ड यो समूहमा रहेका दक्षिण पूर्वी एसियाली देश हुन्, नेपालसहित बाँकी देश दक्षिण एसियाली हुन् । सार्कमा रहेका तर बिमस्टेकमा नरहेका देश पाकिस्तान र अफगानिस्तान हुन्।

बिमस्टेकले मुख्य गरी १४ क्षेत्रमा आपसी सहयोग गर्ने उद्देश्य लिएको छ । यसमा प्रविधि, अपराध न्युनिकरण, कृषि, पर्यावरण, आतंकवाद नियन्त्रण तथा गरिबी नियन्त्रणसहितका क्षेत्र प्रमुख रहेका छन् ।

सदस्य राष्ट्रबिचमा प्राविधिक एवम् आर्थिक सहायता आदानप्रदान गर्ने उद्देश्यले स्थापित बिमस्टेकले व्यापार, उर्जा, पर्यटन, परिवहन र माछा उद्योगसँग सम्बन्धित सहयोग आदानप्रदान पनि गर्दै आएको छ ।

गएको चार वर्षदेखि बिमस्टेकको अध्यक्षता नेपालले गर्दै आएको छ । नेपालले बिमस्टेकमा गरिबी निवारण सम्बन्धी विषय हेर्दै आएको छ ।

अध्यक्ष देशले सम्मेलन आयोजना गर्ने नियम अनुसार यसपटकको चौथो बिमस्टेक सम्मेलन नेपालमा हुँदैछ । बिमस्टेकको पहिलो सम्मेलन थाइल्यान्डमा सन् २००४ मा भएको थियो । दोस्रो भारतमा सन् २००८ मा तथा तेस्रो शिखर सम्मेलन सन् २०१४ मा म्यानमारमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...