बिमस्टेककाे चौथो सम्मेलन आजदेखि, यस्तो छ सम्मेलनको कार्यतालिका



 

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को चौथो सम्मेलन बिहीबार सुरु हुँदै छ । बिमस्टेकका अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न पौने ४ बजे सम्मेलन उद्घाटन गर्नेछन् । बुधबार सम्पन्न बिमस्टेकका परराष्ट्रमन्त्रीहरूको बैठकले सम्मेलनमा प्रस्तुत हुने एजेन्डा, हस्ताक्षर हुने समझदारीपत्र र जारी हुने काठमाडौं बडापत्रलाई अन्तिम रूप दिएको छ ।

 

सम्मेलनमा सहभागी हुन सदस्य–मुलुक श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक बुधबार आइपुगेका छन् । म्यानमारका राष्ट्रपति यु विन मिन्ट मंगलबारै आएका छन् । बिहीबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्यान्डका राष्ट्रपति जनरल प्रयुत चान ओ आउँदै छन् ।

 

यस्तो छ सम्मेलनको कार्यतालिका
परराष्ट्र मन्त्रालयको कार्यक्रम–तालिकाअनुसार प्रधानमन्त्री ओलीले उद्घाटनसँगै २२ मिनेट मन्तव्य दिनेछन् । त्यसपछि वर्णानुक्रमअनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति यु विन मिन्ट, श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना र थाइल्यान्डका राष्ट्रपति जनरल प्रयुत चान ओ चा १५–१५ मिनेट सम्बोधन गर्नेछन् ।

 

बिहीबार पौने ६ बजे पहिलो औपचारिक कार्यक्रम सम्पन्न हुनेछ । बिहीबार साँझ ७ः२५ देखि ९ः२० सम्म प्रधानमन्त्री ओलीले आयोजना गर्ने रात्रिभोजमा सदस्य–मुलुकका कार्यकारी प्रमुख सहभागी हुनेछन् । शुक्रबार बिहान प्रधानमन्त्री ओलीले सहभागी सरकारप्रमुख एवं राष्ट्रप्रमुखको सम्मानमा होटेल सोल्टीको पुलसाइडमा रिट्रिट दिनेछन् ।

 

शुक्रबार ११ बजे बिमस्टेकको दोस्रो सत्र सुरु हुनेछ । प्रधानमन्त्री ओलीले हस्ताक्षर गर्नुपर्ने समझदारीपत्रबारे जानकारी दिनेछन् । सम्मेलनको अन्तिम दिन बिमस्टेक स्वतन्त्र व्यापार सम्झौताअन्तर्गत ग्रिड कनेक्टिभिटीसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ । यसैगरी ट्रान्सपोर्ट कनेक्टिभिटीको गुरुयोजना निर्माण तथा आतंकवाद र अन्य अन्तरदेशीय अपराध नियन्त्रणका विषयमा सम्मेलनमा छलफल हुनेछ । त्यसपछि बिमस्टेक घोषणापत्र जारी हुनेछ ।

 

पाँचौँ सम्मेलन श्रीलंकामा
बिमस्टेकको पहिलो शिखर सम्मेलन ३१ जुलाई २००४ मा थाइल्यान्डमा, दोस्रो १३ नोभेम्बर २००८ मा भारतमा र तेस्रो ४ मार्च २०१४ मा म्यानमारमा सम्पन्न भएको थियो । चौथो सम्मेलनले पाँचौँ सम्मेलन गर्ने श्रीलंकाको चाहनालाई अनुमोदन गर्ने कार्यक्रम छ ।

शुक्रबार बिमस्टेकको घोषणापत्र जारी भएपछि पाँचौँ सम्मेलन आयोजना गर्ने श्रीलंकाको प्रस्तावबारे राष्ट्रपति सिरिसेनाले मन्तव्य राख्ने र पारित गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री ओलीले समापन मन्तव्य दिनेछन् भने फोटोसेसनसहित १२ः३० बजे सम्मेलन सम्पन्न हुनेछ ।

 

मन्त्रीस्तरीय बैठकमा के भयो ?
सम्मेलनपूर्व बुधबार बसेको परराष्ट्रमन्त्रीस्तरीय बैठकले सम्मेलनमा प्रस्तुत हुने एजेन्डालाई अन्तिम रूप दिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकको अध्यक्षता गरेका थिए । उनले मन्त्रीस्तरीय बैठकको अध्यक्षता श्रीलंकालाई हस्तान्तरण गरे । आगामी शिखर सम्मेलन श्रीलंकाले दुई वर्षपछि आयोजना गर्दै छ । कूटनीतिक च्यानलबाट मिति तय हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले जानकारी दिए ।

 

बैठकमा बंगलादेशका परराष्ट्रमन्त्री अब्लु हासान महमुद अली, भुटानका परराष्ट्रसचिव सोनाम सोङ, भारतका परराष्ट्रराज्यमन्त्री जनरल भिके सिंह, म्यानमारका अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी मन्त्री यु क्या टिन, श्रीलंकाका परराष्ट्र राज्यमन्त्री बसन्था सेनान्याके, थाइल्यान्डका परराष्ट्रमन्त्री प्रमुदभिनाई सहभागी थिए ।

 

परराष्ट्रमन्त्री ज्ञवालीले इतिहास, भूगोल, सभ्यताका हिसाबले बिमस्टेक विशिष्ट क्षेत्रीय मञ्च रहेको बताए । उनले भने, ‘यो क्षेत्रमा गरिबी, भोकमारी, पछौटेपन, असमानता, प्राकृतिक विपत्, वातावरणीय विनाश, आतंकवाद, संगति अपराध, लागुऔषध ओसारपसार, मानव तस्करीजस्ता चुनौतीको मिलेर समाधान गर्नुपर्छ ।’ कनेक्टिभिटी, व्यापार, ऊर्जा र कृषि क्षेत्रमा बृहत् सहकार्यमा जोड दिए ।

 

भारतका परराष्ट्र राज्यमन्त्री सिंहले बिमस्टेकलाई उच्च प्राथमिकतामा राखेको बताए । उनले भारतको विदेशनीति प्राथमिकतामा रहेका छिमेक प्रथम नीति तथा एक्ट इस्ट नीति कार्यान्वयन गर्ने मञ्चका रूपमा बिमस्टेकलाई लिएको पनि उल्लेख गरे । उनले शान्त, सुरक्षित र समुन्नत क्षेत्रका लागि सदस्य–मुलुकसँग मिलेर अघि बढ्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

 

‘बैठकले बिमस्टेकअन्तर्गतका समग्र सहकार्यका क्षेत्रको समीक्षा गर्दै क्षेत्रीय सहयोग प्रक्रियालाई थप सुदृढ बनाउने निर्णय गरेको छ,’ परराष्ट्र प्रवक्ता पौड्यालले बैठकपछि आयोजित पत्रकार सम्मेलनमा भने । सबै परराष्ट्रमन्त्रीहरूले बिमस्टेक प्रक्रिया थप प्रभावकारी र परिणाममुखी हुनुपर्नेमा जोड दिएका थिए ।

 

मंगलबार बसेको परराष्ट्रसचिवस्तरीय बैठकले ८ विषयका १४ प्रतिवेदनमा छलफल गरेको थियो । व्यापार तथा लगानी समेटिएको भन्सार सञ्चालन, कृषि, प्रविधि, सार्वजनिक स्वास्थ्य, यातायात तथा सञ्चार शीर्षकमा एक–एक, सडक, पानीजहाज, मोटर–भेइकल एग्रिमेन्टसँग सम्बन्धित तीन, प्रतिआतंकवाद तथा अन्तरदेशीय अपराधसँग सम्बन्धित दुई, गरिबी निवारणसम्बन्धी तीन, सार्क सचिवालयको प्रशासनिक तथा आर्थिक विषयमा प्रस्तुत दुई प्रतिवेदनबारे मन्त्रीस्तरीय बैठकमा पनि छलफल भएको थियो । यसबाहेक बिमस्टेक विकास कोष गठनका वियषमा पनि मन्त्रीस्तरीय बैठकमा छलफल भएको थियो ।

 

२० वर्षमा सचिवालय र २ केन्द्र
बिमस्टेक सचिवालयका महासचिव सहिदुल इस्लामले बुधबार मन्त्रीस्तरीय बैठकमा बिमस्टेकका २० वर्षको प्रगति विवरण पेस गरेका थिए । उनको प्रतिवेदनमा बिमस्टेकको स्थायी सचिवालय बंगलादेशमा स्थापना हुनु, भुटानमा बिमस्टेक सांस्कृतिक उद्योग निरीक्षणालय, भारतमा मौसम तथा वातावरण केन्द्रका लागि केन्द्र स्थापना भएको उल्लेख छ । महासचिव इस्लामले भारतमा बिमस्टेक ऊर्जा केन्द्रको सञ्चालन तथा श्रीलंकामै बिमस्टेक प्रविधि हस्तान्तरण सुविधासम्बन्धी केन्द्र सञ्चालनका लागि सदस्य–मुलुकबीच छलफल भइरहेको छ ।

परराष्ट्र प्रवक्ता पौड्यालका अनुसार महासचिव इस्लामको प्रतिवेदनमा व्यापारसम्बन्धी वार्ता समितिले फ्री ट्रेड एरिया फ्रेमवर्क एग्रिमेन्ट कार्यान्वयनबारे २०औँपटक छलफल गरेको उल्लेख छ । बिमस्टेक फ्री ट्रेड एग्रिमेन्टमा सन् २००४ मै हस्ताक्षर भएको छ ।

 

महासचिव इस्लामको प्रतिवेदनअनुसार भन्सारसँग सम्बन्धित विषयमा सहयोग तथा आपसी सहायतासम्बन्धी सम्झौताको मस्यौदा तयार हुँदै छ । यसैगरी, बिमस्टेक मोटर–भेइकल एग्रिमेन्टको सम्झौता, बिमस्टेकको सिपिङ एग्रिमेन्ट र व्यापार सहजीकरणसम्बन्धी सम्झौताको मस्यौदा पनि तयार हुँदै छ । ‘यी सम्भावित सम्झौताहरूको मस्यौदाबारे सदस्य–मुलुकबीच सल्लाह भइरहेको छ,’ महासचिवले बैठकमा भने । उनका अनुसार बिमस्टेक यातायात कनेक्टिभिटीसम्बन्धी गुरुयोजना असोजभित्र तयार हुनेछ ।

 

लुम्बिनी भ्रमणदेखि द्विपक्षीय भेटवार्ता
म्यानमारका राष्ट्रपति यु विन मिन्टले बुधबार लुम्बिनीको दर्शन गरे भने साँझ काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै भेटवार्ता गरे । राष्ट्रपति भण्डारीले समकक्षी मिन्टको सम्मानमा शीतलनिवासमा रात्रिभोज आयोजना गरेकी छिन् । प्रधानमन्त्री ओलीसँग भुटानी अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुकले भेटवार्ता गरेका छन् । वाङचुकले बुधबार स्वयम्भू स्तुपा पुगेर पूजाअर्चनासमेत गरे ।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा