बिमस्टेकका पाहुना आउने बाटोमा २ करोड खर्च, रंगरोगनमै डेढ करोड !



 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनका लागि रङ–रोगन तथा सजावटमा करीब २ करोड खर्च भएको छ । बिमस्टेकका लागि सडक विभाग र विभिन्न स्थानीय तहले सडक रंग–रोगन गरिरहेका छन् भने विभिन्न सरकारी निकाय तथा गैरसरकारी संघसंस्थाहरूले प्रवेशद्वार तथा होडिङ बोर्ड निर्माण गरिरहेका छन् ।

सडक विभागको नियमित कार्यअन्तर्गत भएको ४ करोडको ठेक्कामध्ये करीब ३० प्रतिशत खर्च बिमस्टेकका लागि भएको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए ।

उनले भने, ‘सडक विभागले नियमित कार्य गरिरहेकै थियो । यसैअन्तर्गत गत महिना मात्रै सडक मर्मत सम्भारका लागि ४ करोडको ठेक्का सम्झौता भएको छ । त्यसमध्ये करीब ३० प्रतिशत बिमस्टेकको रंग–रोगनमा खर्च भएको छ ।’

बिमस्टेकका लागि सडक विभागले मात्रै रंग–रोगनमा करीब १ करोड २० लाख खर्च गरेको देखिन्छ । यस्तै उपत्यका सडक विकास आयोजनाले पनि सडकको रंग रोगनमा ३० लाखभन्दा बढी खर्च गरेको सम्बन्धित अधिकारीहरूले बताएका छन् । यसरी सडक रंगरोगनमा मात्रै डेढ करोड खर्च भएको देखिन्छ ।

यसैगरी बिमस्टेक सम्मेलनमा आउने पाहुनाहरूको स्वागतका लागि सरकारी तथा गैरसरकारी संघसंस्थाहरूले प्रवेशद्वार तथा स्वागत होडिङबोर्ड बनाएका छन् । स्वागतका लागि जम्मा ५७ वटा प्रवेशद्वार निर्माण भएका छन् भने २० वटाभन्दा बढी ठूला फ्लेक्स बोर्ड तथा होडिङ बोर्ड निर्माण भएको काठमाडौं महानगरपालिकाले जनाएको छ । यसमध्ये सरकारी निकायको खर्चमा १२ देखि १५ वटा प्रवेश द्वार र करीब १० वटा होडिङ बोर्ड निर्माण भएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्की बताउँछन् ।

कार्कीले भने, ‘जम्मा ५७ वटा प्रवेशद्वार निर्माण भएका छन् । यसमध्ये ६ वटा महानगरले जिम्मा लिएको हो, त्यसमध्ये पनि हामी आफैंले ३ वटा मात्रै निर्माण गरेर बाँकी अन्य संस्थाहरुलाई दियौं । अन्यले पनि यसरी नै दिएका छन् । सरकारी निकायका खर्चमा १२ देखि १५ वटा प्रवेशद्वार बनेका छन् भने करीब १० वटा फ्ल्याक्स–प्रिन्ट बनेका छन् ।’

कार्कीका अनुसार एउटा होडिङ बोर्ड र प्रवेशद्वारमा औसतमा करीब ६५ हजार खर्च भएको छ । यसरी हेर्दा प्रवेशद्वारमा मात्रै झण्डै १० लाख खर्च भएको छ भने होडिङबोर्डमा अनुमानित ७ लाख खर्च भएको छ ।

यसरी बिमस्टेकको सम्मेलनका लागि रंग–रोगन र स्वागतका लागि बनेका प्रवेशद्वार तथा होडिङ बोर्डमा झण्डै २ करोड खर्च भएको देखिन्छ ।

यही भदौ १४ र १५ मा शान्त, सम्बृद्ध र दीगोपनाका लागि बंगालको खाडीतर्फ भन्ने मूल नाराका साथ काठमाडौंमा हुन लागेको सम्मेलनका लागि एजेण्डागत तयारी पनि अन्तिम चरणमा पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्मेलनमा बिमस्टेक क्षेत्रका ७ वटै देशका राष्ट्र प्रमुख तथा कार्यकारी प्रमुखको उपस्थिति रहनेछ ।

सम्मेलनमा भाग लिन म्यानमारका राष्ट्रपति युमिन मिच आगामी मंगलबार १२ गते साँझ काठमाडौं आइपुग्ने कार्यक्रम छ । १३ गते नेपालमा दुईपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ । यसैगरी १३ गते बुधबार श्रीलङ्कन राष्ट्रपति मेट्रिपाला सिरिसेना र भुटानका प्रधानन्याशीश योङ ओ छिरिङ वाङ्चो नेपाल आइपुग्ने कार्यक्रम छ ।

सम्मेलन उद्घाटनको दिन १४ गते बिहान भारतीय प्रधानमन्त्री मोदी, बंंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री चाङओचा आइपुग्ने कार्यक्रम छ । १४ गते दिउँसो राष्ट्रपति भवन शीतल निवासमा भेटघाट तथा दिवाभोज कार्यक्रपश्चात होटल सोल्टीमा सम्मेलनको उद्घाटन हुनेछ । साँझ हायात होटलमा रात्रिभोजको कार्यक्रम छ । १५ गते केही महत्त्वपूर्ण दस्ताबेजहरूमा हस्ताक्षर हुनेछ ।

सम्मेलनपछि १६ गते श्रीलंकका र म्यानमार राष्ट्रपतिले लुम्बिनीको भ्रमण समेत गर्ने कार्यक्रम छ । बिमस्टेक सम्मेलनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपति क्षेत्रमा भारतीय लगानीमा बनेको धर्मशालाको उद्घाटन गरी नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुलुकको आर्थिक वृद्धि र सामाजिक समृद्धि संयुक्तरूपमा हासिल गर्ने उद्देश्यले २२ वर्षअघि बिमस्टेक स्थापना भएको हो । दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलुकको यस उपक्षेत्रीय संगठनमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् ।

सन् १९९७ मा स्थापना भएको यो संगठनको पहिलो सम्मेलन थाइल्यान्डमा सन् २००४ मा भएको थियो । दोस्रो सम्मेलन सन् २००८ मा भारतमा तथा तेस्रो सम्मेलन सन् २०१४ मा म्यानमारमा भएको थियो । त्यसपछिको अध्यक्ष राष्ट्र नेपाल हो । कार्यतालिका अनुसार नेपालमा चौथो सम्मेलन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा