बिमस्टेकका पाहुना आउने बाटोमा २ करोड खर्च, रंगरोगनमै डेढ करोड !



हाम्रो इकोनोमि

 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनका लागि रङ–रोगन तथा सजावटमा करीब २ करोड खर्च भएको छ । बिमस्टेकका लागि सडक विभाग र विभिन्न स्थानीय तहले सडक रंग–रोगन गरिरहेका छन् भने विभिन्न सरकारी निकाय तथा गैरसरकारी संघसंस्थाहरूले प्रवेशद्वार तथा होडिङ बोर्ड निर्माण गरिरहेका छन् ।

सडक विभागको नियमित कार्यअन्तर्गत भएको ४ करोडको ठेक्कामध्ये करीब ३० प्रतिशत खर्च बिमस्टेकका लागि भएको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए ।

उनले भने, ‘सडक विभागले नियमित कार्य गरिरहेकै थियो । यसैअन्तर्गत गत महिना मात्रै सडक मर्मत सम्भारका लागि ४ करोडको ठेक्का सम्झौता भएको छ । त्यसमध्ये करीब ३० प्रतिशत बिमस्टेकको रंग–रोगनमा खर्च भएको छ ।’

बिमस्टेकका लागि सडक विभागले मात्रै रंग–रोगनमा करीब १ करोड २० लाख खर्च गरेको देखिन्छ । यस्तै उपत्यका सडक विकास आयोजनाले पनि सडकको रंग रोगनमा ३० लाखभन्दा बढी खर्च गरेको सम्बन्धित अधिकारीहरूले बताएका छन् । यसरी सडक रंगरोगनमा मात्रै डेढ करोड खर्च भएको देखिन्छ ।

यसैगरी बिमस्टेक सम्मेलनमा आउने पाहुनाहरूको स्वागतका लागि सरकारी तथा गैरसरकारी संघसंस्थाहरूले प्रवेशद्वार तथा स्वागत होडिङबोर्ड बनाएका छन् । स्वागतका लागि जम्मा ५७ वटा प्रवेशद्वार निर्माण भएका छन् भने २० वटाभन्दा बढी ठूला फ्लेक्स बोर्ड तथा होडिङ बोर्ड निर्माण भएको काठमाडौं महानगरपालिकाले जनाएको छ । यसमध्ये सरकारी निकायको खर्चमा १२ देखि १५ वटा प्रवेश द्वार र करीब १० वटा होडिङ बोर्ड निर्माण भएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्की बताउँछन् ।

कार्कीले भने, ‘जम्मा ५७ वटा प्रवेशद्वार निर्माण भएका छन् । यसमध्ये ६ वटा महानगरले जिम्मा लिएको हो, त्यसमध्ये पनि हामी आफैंले ३ वटा मात्रै निर्माण गरेर बाँकी अन्य संस्थाहरुलाई दियौं । अन्यले पनि यसरी नै दिएका छन् । सरकारी निकायका खर्चमा १२ देखि १५ वटा प्रवेशद्वार बनेका छन् भने करीब १० वटा फ्ल्याक्स–प्रिन्ट बनेका छन् ।’

कार्कीका अनुसार एउटा होडिङ बोर्ड र प्रवेशद्वारमा औसतमा करीब ६५ हजार खर्च भएको छ । यसरी हेर्दा प्रवेशद्वारमा मात्रै झण्डै १० लाख खर्च भएको छ भने होडिङबोर्डमा अनुमानित ७ लाख खर्च भएको छ ।

यसरी बिमस्टेकको सम्मेलनका लागि रंग–रोगन र स्वागतका लागि बनेका प्रवेशद्वार तथा होडिङ बोर्डमा झण्डै २ करोड खर्च भएको देखिन्छ ।

यही भदौ १४ र १५ मा शान्त, सम्बृद्ध र दीगोपनाका लागि बंगालको खाडीतर्फ भन्ने मूल नाराका साथ काठमाडौंमा हुन लागेको सम्मेलनका लागि एजेण्डागत तयारी पनि अन्तिम चरणमा पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्मेलनमा बिमस्टेक क्षेत्रका ७ वटै देशका राष्ट्र प्रमुख तथा कार्यकारी प्रमुखको उपस्थिति रहनेछ ।

सम्मेलनमा भाग लिन म्यानमारका राष्ट्रपति युमिन मिच आगामी मंगलबार १२ गते साँझ काठमाडौं आइपुग्ने कार्यक्रम छ । १३ गते नेपालमा दुईपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ । यसैगरी १३ गते बुधबार श्रीलङ्कन राष्ट्रपति मेट्रिपाला सिरिसेना र भुटानका प्रधानन्याशीश योङ ओ छिरिङ वाङ्चो नेपाल आइपुग्ने कार्यक्रम छ ।

सम्मेलन उद्घाटनको दिन १४ गते बिहान भारतीय प्रधानमन्त्री मोदी, बंंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री चाङओचा आइपुग्ने कार्यक्रम छ । १४ गते दिउँसो राष्ट्रपति भवन शीतल निवासमा भेटघाट तथा दिवाभोज कार्यक्रपश्चात होटल सोल्टीमा सम्मेलनको उद्घाटन हुनेछ । साँझ हायात होटलमा रात्रिभोजको कार्यक्रम छ । १५ गते केही महत्त्वपूर्ण दस्ताबेजहरूमा हस्ताक्षर हुनेछ ।

सम्मेलनपछि १६ गते श्रीलंकका र म्यानमार राष्ट्रपतिले लुम्बिनीको भ्रमण समेत गर्ने कार्यक्रम छ । बिमस्टेक सम्मेलनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपति क्षेत्रमा भारतीय लगानीमा बनेको धर्मशालाको उद्घाटन गरी नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुलुकको आर्थिक वृद्धि र सामाजिक समृद्धि संयुक्तरूपमा हासिल गर्ने उद्देश्यले २२ वर्षअघि बिमस्टेक स्थापना भएको हो । दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलुकको यस उपक्षेत्रीय संगठनमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् ।

सन् १९९७ मा स्थापना भएको यो संगठनको पहिलो सम्मेलन थाइल्यान्डमा सन् २००४ मा भएको थियो । दोस्रो सम्मेलन सन् २००८ मा भारतमा तथा तेस्रो सम्मेलन सन् २०१४ मा म्यानमारमा भएको थियो । त्यसपछिको अध्यक्ष राष्ट्र नेपाल हो । कार्यतालिका अनुसार नेपालमा चौथो सम्मेलन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...