बिमस्टेकको तयारी पूरा, बेहुलीझैँ सिँगारियो राजधानी, अन्ठाउन्न स्वागतद्वार, तिनकुनेमा झाँकी



हाम्रो इकोनोमि

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्यद्वारबाट निस्कनासाथ तिनकुनेतर्फ लाग्दा दुईवटा स्वागतद्वार भेटिन्छन् । पहिलोमा नेपालको कलात्मक एवं पुरातात्विक महत्वका मन्दिरको तस्बिरसहितको कलात्मक आकर्षक द्वार बनाइएको छ ।

 

जहाँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) राष्ट्रका राष्ट्रप्रमुख र सरकारप्रमुखको तस्बिर राखिएको छ । दोस्रो द्वारमा बौद्धनाथ स्तूपको कलात्मक गजुरसहितको बिमस्टेक राष्ट्रका झन्डाले सजाइएको छ । ती द्वारमा लेखिएको छ– बुद्धको जन्मभूमि नेपालमा स्वागत छ अर्थात् ‘वेलकम टु दी कन्ट्री अफ गौतमबुद्ध’ । यस्तै, अर्को द्वारमा लेखिएको छ, ‘सगरमाथाको भूमिमा स्वागत छ ।’

 

कतै विश्वको सर्वोच्च शिखर सगरमाथाको तस्बिर राखिएको छ भने कतै डाँफे, मुनाल र हिमाली क्षेत्रको आकर्षक तस्बिर राखिएको छ । नेपालको विभिन्न क्षेत्रको कला तथा संस्कृति झल्कने तस्बिरले सजाएर राजधानीलाई चिटिक्क बनाइएको छ । सांस्कृतिक नगरी काठमाडौंमा सजाइएका यी र यस्ता दृश्यले आदिकवि भानुभक्त आचार्यकै शब्दमा जस्तै काठमाडौं ‘अलकापुरी नगरी’जस्तै बनेको छ ।

 

यस्तो रङरोगन र स्वागतद्वार निर्माण गर्ने संयोग जुटाइदिएको हो बहुक्षेत्रीय आर्थिक तथा प्रविधिक सहयोगका लागि बंगालको खाडीको सहयोग (बिम्स्टेक) चौथो शिखर सम्मेलनले । सम्मेलन आउने दुई दिन बाँकी रहँदा काठमाडौंका मुख्य सडक रंगीचंगी ध्वजा तथा आकर्षक होर्डिङ बोर्डले राजधानीको सौन्दर्य मात्रै बढाइदिएको छैन, थप रौनकता पनि बढाइदिएको छ ।

 

बिमस्टेकको औपचारिक उद्घाटनस्थल सोल्टी होटेलदेखि पहुनाको स्वागतका लागि आयोजना हुने रात्रिभोज हुने हायात होटेलसम्मको सडकलाई तन्दुरुस्त बनाइएको छ । विमानस्थलबाट तिनकुने आइपुग्दा नेपालको कला, संस्कृति, पुरातात्विक सम्पदा, राष्ट्रिय जनवार, पक्षी आदि झल्कने तस्बिरले सजाइएको छ । पोखराको फेवाताल, डोल्पाको से–फोक्सुण्डो तालदेखि नेपालका प्रसिद्ध मठ, मन्दिर, पर्यटकीय क्षेत्रको सचित्र झल्काइएको छ ।

 

नयाँ बानेश्वर हुँदै माइतीघर क्षेत्रमा सडक मर्मत गरिएको छ । जताततै झन्डा फहराइएका छन् । माइतीघर मण्डलाको रङरोगन गरी मण्डलालाई बेहुलीझैँ सिँगारिएको छ । झिलिमिली बत्तीको व्यवस्था गरिएको छ । महाराजगञ्जस्थित नारायणगोपाल चोक, राष्ट्रपति कार्यालयनजिक, कान्तिपथ, थापाथली, कालिमाटी, सोल्टीमोड, कलंकीलगायत स्थानमा आकर्षक द्वार बनाइएको छ ।

 

पाहुनाको स्वागतका लागि सडक सरसफाइ, मर्मत आदिको काम सकिएको छ । सडकको खाल्डाखुल्डी पुरी रङरोगन गरिएको छ । बुद्धको जन्मभूमि, सगरमाथाको देश, बिमस्टेक शान्ति, समृद्धि र विकासका लागि, बिमस्टेका विशिष्ट पाहुनालाई स्वागतजस्ता नारा द्वारमा लेखिएका छन् । त्यसले सदस्य राष्ट्रबीचको मैत्री सम्बन्ध सुमधुर र जनस्तरको रहेको स्पष्ट गर्दछ ।

 

अन्ठाउन्न स्वागतद्वार 
बिमस्टेक पाहुनाको स्वागतार्थ काठमाडौंका विभिन्न स्थानमा ५८ वटा स्वागतद्वार बनाइएको छ । नेपालको कला, संस्कृति झल्कने तस्बिर तथा बिमस्टेक राष्ट्रप्रमुखको तस्बिर राखिएको छ ।

 

पाँच मिटर अग्ला कलात्मक द्वारमा सदस्य राष्ट्रका राष्ट्रप्रमुख, सरकारप्रमुख तथा विशिष्ट पाहुनाको तस्बिर राखिएको छ । शुरुमा बंगलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार लन्प्यो छिरिङ वाङ्चु, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, म्यान्माका राष्ट्रपति विन मिन्त, श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओ चाको तस्बिर सजाइएको छ ।

यस्तै ती देशका झन्डासमेत क्रमैसँग राखिएको छ । शहरी विकास मन्त्रालयले तयार पारेको डिजाइनअनुसार काठमाडौं महानगरपालिकासहित अन्य सरकारी तथा निजी संघसंस्थाको सहयोगमा ती स्वागतद्वार बनाइएको हो ।

 

पाहुनाको स्वागतका लागि रङरोगन र सरसफाइको जिम्मा लिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले स्वागतका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । फोहोर व्यवस्थापन, रङरोगन तथा तस्बिर सजावटलगायतका काम सकिएको र केही बाँकी भए त्योसमेत मंगलबार बिहानसम्म पूरा हुने उनको भनाइ छ ।

 

तिनकुनेमा झाँकी

शिखर सम्मेलनमा आउने विशिष्ट पाहुनाको स्वागतका लागि महानगरपालिकाले तिनकुनेमा नेपालको कलात्मक संस्कृति झल्कने झाँकी प्रस्तुत गर्ने तयारी गरेको छ । त्यसका लागि तिनकुनेको तीनवटै कुनामा मञ्च निर्माण गरिएको छ ।

काठमाडौं उपत्यकाको परम्परागत नेवारी संस्कृति झल्कने झाँकी प्रस्तुत गरिनेछ । त्यसका अलावा नेपालको विभिन्न जातजातिको पहिचान झल्कने झाँकीसमेत देखाइने प्रवक्ता कार्कीले जानकारी दिए ।

सुरक्षाको पूर्ण तयारी : गृह मन्त्रालय

शिखर सम्मेलनमा आउने पाहुनाको सुरक्षालाई ध्यानमा राखेर गृह मन्त्रालयले आवश्यक सुरक्षा व्यवस्था मिलाएको छ ।

मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले ‘अति विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि–२०७०’ अनुसार सुरक्षा योजना तयार पारी लागू गरिएको जानकारी दिए । विमानस्थलदेखि, निवास र भ्रमण गर्ने स्थलको सुरक्षा व्यवस्था गरिएको छ ।

सम्मेलनमा आउने पाहुनालाई आवश्यक सुरक्षासहित आवासस्थल पुऱ्याउन आजै पूर्वअभ्याससमेत गरियो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको समन्वयमा पूर्वअभ्यास गरिएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक मनोज नेउपानेले सरकारले निर्धारण गरेअनुसार विशिष्ट र अति विशिष्ट पाहुनाको सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...