सैन्य दस्ता खडा गर्दै विप्लव, सात करोड ७५ लाख चन्दा उठाएको खुलासा
नेत्रबिक्रम चन्द (बिप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भूमिगतरुपमा सैन्य दस्ता खडा गरेको खुलासा भएको छ ।
उसले सैन्य दस्ताका लागि पोशाक, बन्दोबस्ती र प्राविधिक (हातहतियार र गोलाबारुद) का लागि दुई वर्षमा एक करोड रुपैयाँ खर्च गरेको खुलेको प्रहरीले दावी गरेको छ । बरामद भएको बिप्लब समूहको खाताको आधारमा सैन्य प्रयोजनका लागि एक करोड खर्च भएको खुलेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको बिशेष ब्युरोले केही दिनअघि बिप्लबका विभिन्न भूमिगत केन्द्रहरुमा छापा मार्ने क्रममा सो बहिखाता फेला पारेको दावी गरिएको छ । सो बहिखाता नेपाल प्रहरीको महाराजगञ्जस्थित विधिबिज्ञान प्रयोगशालामा परीक्षण भईरहेको प्रहरीले जनाएको छ ।
खातामा आर्थिक वर्ष २०७३ देखि साउनसम्मको आम्दानी र खर्चको विवरण उल्लेख गरिएको प्रहरीले जनाएको छ । खातामा यसअवधिमा सात करोड ७५ लाख रुपैयाँ चन्दा बापत उठाएको देखिएको छ । त्यसमध्ये एक करोड रुपैयाँ लडाकुको व्यवस्थापनमा खर्च भएको प्रहरीले पत्ता लगाएको छ ।
प्रहरी स्रोतका अनुसार बरामद खातामा चन्दा बापत आम्दानी भएको उल्लेख छ, जसमा चन्दा दिने ब्यक्ति र संस्थाको नाम समेत उल्लेख गरिएको छ । गृहमन्त्री रामबहादुर थापा (बादल) को निर्देशनपछि हिंसात्मक गतिविधिमा संलग्न बिप्लव माओवादी लक्षित आक्रामक कार्वाहीमा छ नेपाल प्रहरी र उसले बिप्लबको समेत खोजी गरिरहेको छ ।
स्रोतका अनुसार विप्लव माओवादीले पछिल्लो समय भौतिक आक्रमण गरेका ठूला व्यावसायिक संस्था र घरानाले ठूलो रकम चन्दा बापत उपलब्ध गराएका छन् । सो रकमको व्यवस्थापनको जिम्मा प्रहरी हिरासतमा रहेका खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले पाएका थिए । यसरी चन्दा दिनेमा सरकारी कर्मचारीहरु समेत रहेको जनाइएको छ ।
प्रहरीले प्रकाण्डसहित चार जना पोलिटब्युरो सदस्य, चार जना केन्द्रीय सदस्य र मेची तथा कोशी ब्युरो इन्चार्जलाई पक्राउ गरेर स्थानीय प्रहरीको जिम्मा लगाएको छ । पक्राउ पर्नेमा प्रकाण्डसहित पोलिटब्युरो सदस्यहरु कृष्ण धमला, मोहन कार्की, ओमप्रकाश पुन र पदम राई छन् । धमला र कार्कीलाई प्रदेश–३ प्रहरीको जिम्मा लगाइएको छ । राईलाई प्रदेश–१ प्रहरीको जिम्मा दिइएको छ भने पुन उपर अनुसन्धान भईरहेको छ ।
यस्तै केन्द्रीय सदस्यहरु चन्द्रबहादुर खड्का, देवनारायण शाह, टेकबहादुर केसी र दिपेश राई पनि पक्राउ परेका छन् । बिप्लब माओवादीका मेची ब्युरो कमाण्डर सुमन लिम्बू र कोशी ब्युरो कमाण्डर किरण राईलाई पक्राउ गरेर सम्बन्धित क्षेत्रका प्रहरीको जिम्मा लगाइएको छ । विप्लव माओवादीका प्रवक्त प्रकाण्डलाई पक्राउपछि सर्वोच्चले दुई पटक छाड्न आदेश दिइसके पनि नुवाकोट प्रहरीले क्रसर उद्योगमा आगजनीको मुद्दामा थुनामा राखेको छ ।